पोखराको सूर्यदर्शन सहकारीका रविसहित १८ जनाविरुद्ध संसदीय समितिमा दिए उजुरी

समाधान संवाददाता २०८० चैत ८ गते १४:४५

काठमाडौं ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड ठगी प्रकरणमा पीडितहरुले १८ जनाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, पूर्व उप-राष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत १८ जना विरुद्धको मुद्दामा बिहीबार उजुरी परेको हो।

Advertisement

उनीहरूले सहकारीले १८ हजार सात सय जना बचतकर्ताको करिब एक अर्ब ३५ करोड रुपैयाँ फिर्ता नगरेको गुनासो गरेका थिए।

रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्‍चालक गितेन्द्रबाबु राई (जिबी राई) पक्राउ पर्न नसकेको भन्दै उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

Advertisement

सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० औं करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरु मौन बनेको भन्दै उनीहरुले आफूहरुले न्याय पाउनुपर्ने बताएका छन्।

रविसहित केही व्यक्ति र संस्थाले पोखरास्थित सूर्यदर्शन सहकारीबाट करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको भन्दै उनीहरूमाथि उजुरी परेको हो।

सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया