‘सि’का भाइबहिनीलाई शुभकामना

शिवलाल धिताल २०८० चैत ११ गते १२:२२

प्यारा भाइबहिनीहरू,
२०८० को सि परीक्षा चैत १५ गतेदेखि सुरु भई चैत २७ गते सकिने तालिका प्रकाशित भएको छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजारभन्दा बढी विद्यार्थीले एसइइ परीक्षा दिनेछन् । पाश्चात्य देशमा केही दशक पहिलेदेखि नै सफलतापूर्वक लागू हुँदै आएको अक्षरांक (ग्रेडिङ) प्रणाली हाम्रो देशमा पनि २०७२ को एसएलसीदेखि लागू हुँदै आएको हो । सुरुमा परिकल्पना गरिएको समग्र ग्रेडिङ प्रणालीलाई परिमार्जन गरी प्रत्येक विषयको छुट्टाछुटै ग्रेडिङ प्रणाली अवलम्बन गरिएपछि नतिजा प्रणाली बढी सहज र व्यावहारिक सावित हुँदै गएको छ ।


‘सी’ परीक्षा प्रदेश सरकारको मातहतमै सञ्चालन गरी स्वायत्तता प्रदान गरिनुपर्ने र कक्षा १२ पछि हुने एसएलसी परीक्षा संघ सरकारको मातहतमा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परिपाटी बसाल्नु जरूरी र अपरिहार्य छ । प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्ने छ ।


नेपालबाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसइई दिनेछन् । तर केन्द्राध्यक्षको काम भने त्यही विद्यालयका प्राचार्यले गर्ने छन् ।

Advertisement


पास हुन ३५ प्रतिशत अनिवार्य
बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसइई गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसइई गर्न लागिएको बताएका छन् । न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने छ । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनका लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको छ ।

विद्यार्थीको जीवनमा सबभन्दा महत्वपूर्ण कुरा नै परीक्षाको समय सर्वोत्तम किसिमले सदुपयोग गर्न सक्नु हो

Advertisement


विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो । यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भएको र कक्षा १० मा पनि नयाँ ग्रेडिङ निर्देशका लागू गर्ने निर्णय भए अनुसार परीक्षा पनि सोही अनुसार हुन लागेको जनाइएको छ ।


नयाँ लेटर ग्रेडिङअनुसार ९० वा सोभन्दा माथि अंक ल्याउने परीक्षार्थीको अंकमा ४, अक्षरमा ए प्लस, उपलब्धिमा आउटस्टेन्डिङ जनाइनेछ । ३५–४० भन्दा कम ल्याउनेलाई १.६, ग्रेड डि, उपलब्धिमा बेसिक उल्लेख हुनेछ । ३५ भन्दा कमलाई अक्षरमा एनजी र उपलब्धिमा नन ग्रेडेड हुनेछ । त्यस्ता विद्यार्थीले प्रमाणपत्र नपाउने र पुनः परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।


परीक्षा भगवानको आशीर्वाद र भाग्यमा भर पर्ने कुरा बिल्कुलै होइन । परीक्षामा सफलता प्राप्त गर्न आत्मविश्वास, जाँगर र लगनशीलताको साथै प्राविधिक सीपको भूमिका महत्वपूर्ण हुन्छ । मिनिङफूल माइन्ड र स्किलफूल ह्यान्ड परीक्षा सफलताका २ मूल सूत्र हुन् । प्रभावकारी र दीर्घकालीन सिकाइका लागि डेढ÷दुई घण्टा पढेपछि करिब ५०÷६० मिनेट विश्राम गर्नुपर्छ ।


धेरैजसो विद्यार्थी लामो समय त्यत्तिकै खेर फाल्छन् । रातमा पनि दुई÷तीन घन्टामात्र सुतेर परीक्षा आउनासाथ रातभर, दिनभर लगातार घोटिएर पढ्छन् । यस्तो पढाइ वास्तवमा अति हानिकारक हुन्छ । वास्तवमा मानव मस्तिष्कको सिकाइको पनि सीमा हुन्छ । एकै पटक मस्तिष्कले धेरै विषयवस्तु दीर्घकालीन रूपमा ग्रहण गर्न असमर्थ हुन्छ ।


परीक्षाको समयमा बोर्ड परीक्षा सुरु हुने सप्ताह आएपछि परीक्षार्थी बेलुकी १० बजे नै सुत्नु अति बुद्धिमानी हुन्छ । ६ घण्टाको सुताइपछि ४ बजे नै उठेर जाँच दिन जानुअघि आफूले तयार गरेको सबै फुटनोट आदि बुँदालाई स्मरण हुने गरी दोहो¥याएर पढी गए त्यो सिकाइले परीक्षामा ठूलो सहयोग पु¥याउँछ ।


खास गरी परीक्षा दिन जाँदा धेरै खाना नखाई हल्का खाना खाने, गह्रौ, बढी कसिएका र बाक्ला भद्दा कपडा नलगाई खुला, पातला र हल्का खालका कपडा लगाउनु राम्रो हुन्छ । परीक्षाको समयमा एकोहोरो घोटिएर लगातार पढिरहनु भन्दा पढेको कुरालाई सम्झँदै मौखिक, लिखित, प्रयोगात्मक जुन किसिमको भए पनि सरल र सहज किसिमले प्रस्तुत गर्न सक्नु नै परीक्षामा सफलता प्राप्त गर्न सक्नु हो ।


विद्यार्थीको जीवनमा सबभन्दा महत्वपूर्ण कुरा नै परीक्षाको समय सर्वोत्तम किसिमले सदुपयोग गर्न सक्नु हो । परीक्षाका लागि केही व्यावहारिक सुझाव यसप्रकार छन्ः


१. बाह्य परीक्षामा परीक्षकले थोरै समयमै उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुँदा परीक्षामा सुन्दर, गोलाकार अक्षर बनाई केरमेट नगरी सफासँग उत्तर लेख्नुपर्छ ।
२. परीक्षामा प्रश्नको निर्देशन राम्रोसँग पढेरमात्र लेख्न सुरु गर । पहिला केही नसोची लेख्न थाल्ने र पछि एक पेज, आधा पेज लेखेपछि काटेर अर्को प्रश्न गर्नु बुद्धिमानी ठहरिँदैन । त्यसले समयको बर्बाद र मानसिक तनावमात्र बढाउँछ ।
३. जानेको प्रश्न पहिले गर्नुपर्छ र गरेका प्रश्नमा रेखाचिन्ह दिँदै जानुपर्छ । नेपाली, अंग्रेजी जस्तो भाषा विषयको परीक्षामा पहिला व्याकरणको प्रश्न भ्याएरमात्र अरु प्रश्नको उत्तर लेख्नु बढी बुद्धिमानी हुनेछ ।
४. परीक्षाको समयमा तिमीले उत्तम कलमको छनोट गर्नुपर्छ साथै आफूलाई चाहिने ज्यामिति बक्स, क्याल्कुलेटर आदि आफैंले साथमा लिएर जानुपर्छ । प्रवेशपत्र पनि जतनसाथ राख्नुपर्छ ।
५. परीक्षाको समयमा प्रवेशपत्र तथा उत्तरपुस्तिकाको प्रथम पेजमा दिएका निर्देशन राम्रोसँग पढ्नुपर्छ । उत्तरपुस्तिकाको प्रथम पेजमा भर्नुपर्ने सबै निर्देशन केरमेट नगरी सफासँग भर्ने गर्नुपर्छ र तेस्रो पेजबाट मात्र उत्तर लेख्न सुरु गर्नुपर्दछ ।
६. उत्तर पुस्तिकामा घटीमा डेढ इन्चको मार्जिन राख्नु अनिवार्य हुन्छ तर मार्जिन स्केलले तानिरहनु आवश्यक छैन, कापी भाँचिदिए पनि हुन्छ ।
७. गर्नु भनेको सबै प्रश्न भ्याउने गरी परीक्षा लेख्नुपर्छ । कुनै प्रश्नको उत्तर राम्रो नआए पनि केही लेख्ने प्रयास गर । ज्यादै छिटो परीक्षा सक्नु राम्रो कुरा होइन । दिएको समयभन्दा ५–१० मिनेट पहिला उत्तर भ्याएर एकपटक सरसर्ती हेरेरमात्र उत्तर पुस्तिका बुझाउनु बढी राम्रो हुन्छ ।
८. गणित, भूगोल, विज्ञानजस्तो चित्र आदि बनाउनुपर्ने विषयमा सिसाकलम प्रयोग गर्नुपर्दछ । थप कपीमा सिम्बल नम्बर राम्रोसँग लेखेर स्टिचिङ गरी बुझाउनुपर्छ ।
९. कुनै कारणवश कुनै दिनको परीक्षा बिग्रियो भने त्यसलाई भुलेर अर्को परीक्षाको लागि राम्रो तयारी गर्नु बढी बुद्धिमानी हुनेछ ।
१०. अन्ततः आत्तिएको मानसिकताले जीवनमा कुनै काममा पनि सफलता प्राप्त गर्न सकिँदैन । तसर्थ परीक्षाहलमा जाँदा ढुक्क र स्थीर मन गरेर प्रवेश गर्नुपर्छ । जसले नडराई आनन्दसाथ परीक्षा लेख्छ, त्यस्ता व्यक्तिले राम्रो सफलता प्राप्त गर्छ ।

लेखक गण्डकी आवासीय मावि पोखराका पूर्व प्राचार्य हुन् ।

तपाईको प्रतिक्रिया