रमेशहरू एकजुगमा एकपल्ट आउँछन्

जीवित खड्का मगर २०८० चैत ११ गते १२:४१

पुस्तकै पुस्तकको दराज । पुस्तकै पुस्तकको टेबुल । पुस्तकै पुस्तकको कार्पेट/सोफा–भुइँ, कोठा–घर … पहिलोपल्ट मैले यति धेरै पुस्तकहरू देखेको थिएँ, कि मानौँ ठूलो चौरमा जम्मा भएका हजारौं मान्छेहरूको जुलुस निस्किनु भन्दा पहिलेको त्यो अस्तब्यस्त भीड हो जस्तै । यो कुरा पहिलोपटक प्रकाशन गृह पुग्दा बखतको । केही स्थापित लेखकहरूसँग थिएँ म । जहाँ शब्द–समुद्र किनारमा उभिएर त्यो मानिस पानीको छाललाई स्पर्श गर्न खोजिरहेको एउटा अपरिचित र एकान्त एक्लै थियो ।

अब शुरु हुन्छ परिचयको आदान प्रदान । तर एउटा मानिसको अपरिचित परिचय परिचित मानिससंग परिचय बिनै परिचय नभई परिचयको त्यहीँ अन्त्य हुन्छ । बिल्कुल कृत्रिम मुस्कान जस्तो एकदम से महत्वहीन । त्यसकारण बारम्बारको औपचारिकताबाट बारम्बार त्यो मानिस कतै भाग्न खोजिरहेको थियो । त्यसरी भाग्न खोज्ने अरु कोही नभई म एउटा अपरिचित मान्छे नै थिएँ । त्यसकारण अब म कतै एकछिनलाई हराउन चाहन्थेँ, हराइदिएँ त्यतै सुलुत्त किताबहरूको जुलुसभित्र ।

खासमा मेरो त्यो हीनताबोधको बहाना थियो, र त्यसरी हराइ दिँदा मलाई एक किसिमको आनन्दै लाग्यो । अब चोर आँखाहरू चोरले झैँ घरभित्र कहाँ–कहाँ खजाना छन् त ? हतार हतार आँखाकै टर्च बालेर खोज्न थाल्छ । यत्तिकैमा, झट्ट एउटा अनौठो चित्रमाथि टक्क आँखा रोकिन्छ । त्यो चित्रको बुनोट अहिले पनि सम्झना छ मलाई –– सादा मोनोटोनमा कोरिएको कस्तो अनौठो–अनौठो हाँगाविनाको रूख जस्तो । रूखको जरा जस्तो । अथवा एकखालको जीवजस्तो । अमिबा जस्तो जस्तो एउटा अजिब कला देखेर एकछिन म साँच्चै घोरिएँ, सम्मोहनले नभएर आश्चर्यले । कौतुहलताले । प्रश्नै प्रश्नहरूले । अहो ! चित्रले के भन्न खोजिरहेको होला ?

Advertisement


यस्तो पनि चित्र हुँदोरहेछ …?

खासमा त्यो कभर चित्र थिएछ, चंकी श्रेष्ठको गजल संग्रह ‘फूलविनाको शाखा’ कृतिको । एकदम पकेटबुक । त्यसपछि
मस्तिष्कको आकाशमा केही दिन म कौतुहलता र कल्पनाको बादल भएर उडिरहन्छु ।

Advertisement

यसरी पहिलो पटक २०६० सालमा, विवेक सिर्जनशील प्रकाशन गृहमा, रमेश श्रेष्ठ दाइको नामलाई मैले अर्थपूर्ण
रूपमा चिनेँ ।

बहुवर्षीय आयोजना सम्बन्धमा वस्तुगत मापदण्ड बनाई प्रयोगमा ल्याउने र आवश्यकता र औचित्यका आधारमा मात्र बहुवर्षीय आयोजनामा स्रोत सहमति दिने व्यवस्था गर्नुपर्छ

दाइको कुरा गरिरहँदा यतिबेला म कसैको एउटा सर्वप्रचलित भनाइ ‘पहिलो प्रभाव नै अन्तिम प्रभाव’ भन्ने वाक्यांश सम्झिरहेको छु । यसरी त्यो अनौठो चित्रको आकर्षकले मभित्र दाइको प्रभाव उस बेलादेखि शुरु भएको रहेछ । जति बेला म पचासको दसकदेखि साठी सालको आसपास काठमाडौमा बस्थेँ । काम गर्थेँ । कलेज पढ्थेँ । हल्का साहित्य र पत्रपत्रिका पढ्ने बानी पनि थियो मेरो । आक्कल झुक्कल राष्ट्रिय दैनिक, साहित्यिक पत्रीकाहरूमा ’रमेश श्रेष्ठ’ कै नाउका कविताहरू देख्थेँ । कतै किताबका बूक कभरहरूमा, कतै किताबहरूमा वहाँको नाउ देख्दा मलाई खुल्दुली लाग्थ्यो –

कलासाहित्यमा कतिवटा रमेश श्रेष्ठ नामहरू छन् हँ ?

झण्डै दुई दशक पहिले रमेश दाइको नाम सुनेको मैले । सिर्फ सुनेको नाम । मात्रै सुनेको । नदेखेको । त्यसो त अहिलेसम्म पनि दाइसित नभेटेको । दाइमात्रै नभएर धेरै स्रष्टा–सर्जकहरूसँग भेट भएको छैन, जो नभेटेरै ’खास’ छन् । मेरा निम्ति रमेश दाइ खासमध्येको खास अझै यसकारण बहुआयामिक हुनुहुन्छ ।

यहाँ एउटा मानिस निखारिएको सिद्दहस्त कवि बन्नसक्छ । एउटा मानिस निखारिएको सिद्धहस्त चित्रकार बन्नसक्छ । एउटा मानिस निखारिएको सिद्धहस्त मूर्तिकार बन्नसक्छ । संगीतकार बन्नसक्छ । कलाकार बन्नसक्छ । गायककार बन्नसक्छ । सिद्धहस्त हुँदैजाँदा एकदिन एउटा मानिस प्रख्यात बन्नसक्छ । सुविख्यात बन्नसक्छ । तर एउटा मानिस यो भन्दा महत्त्वपूर्ण यदी बहुआयामिक बन्नसक्छ भने त्यो उसको असाधारण क्षमता मलाई अद्भुत लाग्छ ।

रमेश दाइलाई त्यसैले म मेरो ‘आइडल’ भनेको छु । कविता सिर्जनामा श्रध्देय आयामेली कवि ईश्वर वल्लभले ’बिम्बकवि’को ताज दिनुभएको छ, यसरी नै राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी आदि अग्रवर्ति कवि लेखकहरूले विम्बकविको पहिराइदिएको नामलाई स्थापित गर्दै आज त्यही बिम्बकवि उपनामले प्रसिद्धि पाउनुभएका दाइका कविताहरूको बारेमा चिरफार गर्ने, बोल्नसक्ने ल्याकत म’मा छैन, त्यो दुस्साहस गर्दिनँ पनि म ।

यद्यपि, मलाई यति कुरा भन्नलाई पक्कै सकस हुनेछैन, जस्तो बिम्ब सिर्जनाको कुरामा, ती स्रष्टाहरूले बिम्बको उत्खनन गर्न सक्छन्, ती स्रष्टाहरूले बिम्बको ताकत बुझ्न सक्छन्, ती स्रष्टाहरूले अर्गानिक बिम्ब खोज्न सक्छन् जो छन् आफैमा निपूर्ण कलाकार । शब्दका कलाकार । सिर्जनाका कलाकार । रमेश श्रेष्ठ त्यसै पनि कलाकार । यसै पनि कलाकार । जसका शब्दशब्दमा चित्रहरू देखिन्छ । चित्रचित्रमा कविताहरू भेटिन्छ । एकदम अर्गानिक ।

नेपालमा केही बहुआयामिक ब्यक्तित्वहरू जसले आफ्नो जीवनकालमा एकदम उच्चकोटीको विशिष्टता हासिल गर्नुभएको छ र यो देशलाई अमूल्य देन दिनुभएको छ । जस्तो बालकृष्ण सम । जस्तो लैनसिंह बाङ्देल । जस्तो मनुजबाबु मिश्र । वहाँहरू चित्रमा पनि, साहित्यमा पनि विख्यात हुनुभयो । बहुआयामकै कुरा गर्दा, दार्जीलिङका एकजना अजय थापा छन् –– हरेक विधामा उत्तिकै पोख्त । उस्तै निपूर्ण । उनका चेला छन् उतै दार्जिलिङका अमीर सुन्दास । उनले पनि आफ्नै गुरुको बाटो पछ्याइरहे झैँ बेलाबेला झल्को दिन्छन् ।

तर कलासाहित्यको कसिमा चर्चामा नआएका, आउन नसकेका कोही अस्ताए होलान् ! कोही कसैलाई हामीले थाहा पाउन सकेनौँ ! समग्रमा कमबेसी धेरै होलान् , तर क्रिकेटका कपिलदेव जस्ता, गैरी सोबर्सजस्ता महान आलराउण्डारहरू कमै भेटिन्छन् । जस्तो दुर्लभ हुन्छ मणि । कुरा गर्दैजाँदा, प्रसंगले क्रिकेटको कुरा ल्यायो, मलाई हालका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सम्झना आयो । जो विश्वकप बिजेता कप्तान, कालान्तरमा पाकिस्तानको प्रधानमन्त्री समेत बन्न सफल भएका छन् । अमेरिकाका भूतपूर्व राष्ट्रपति सर जोशु रेनोल्ड अवकाशपछि नामूद पेन्टर बनेका छन् ।

हाम्रै देशको एउटा उदाहरण विश्वेश्वरप्रसाद कोइराला । यसरी बहुआयाम कला साहित्यमा मात्रै नभएर राजनीतिज्ञसँग पनि फैलिएको देखिन्छ । र, हर क्षेत्रमा लागु हुन्छ नै ! फरक त्यो सिर्फ ! दुर्लभ मानिसहरूले मात्रै सिद्ध गर्न सक्छन् । त्यसोर आजको नेपालमा केही नामी कला समिक्षकहरू पनि छन् जो चित्रमा प्रसिद्धि पाएका छन् । समिक्षा गर्नु उनीहरूको पेसागत धर्म हो । जस्तो वकिलले गर्छ काम । म त्यसलाई सिर्जनाको पाटो नभएर सिद्धान्तको अध्ययन र कलाको नाप तौलको जोड घटाउ भन्छु ।

भारतका नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोर जति साहित्यमा विख्यात थिए, चित्रकलामा समेत उत्तिकै विख्यात थिए । जसरी उनले कवितामा कल्पनाशीलताको प्रयोग गर्दै जादुमयी शब्द लहरीले पाठकहरूलाई मन्त्रमुग्ध बनाउँथे । आफ्ना चित्र सिर्जनामा पनि अर्धमूर्त शैलीमा अत्याधिक कल्पनाशीलताको प्रयोग गर्थे । उनको यही प्रयुक्त शैलीले दर्शकहरूलाई एकखालको मन्त्रमुग्ध बनाउँथ्यो । सोच मग्न बनाइ रहन्थ्यो । टैगोर झैँ साहित्यका अर्का नोबेल पुरस्कार बिजेता स्विट्जरल्याण्डका हर्मन हेसे चित्रमा पनि उस्तै विख्यात थिए ।

भनिन्छ, उनले प्रथम विश्वयुद्धको आघात र आफ्नो विवाह असफल भएपछि चित्र बनाउन थाले । उनले विशेषगरी पानी रङ मार्फत् दृश्यचित्रहरू बनाउँथे । प्रकारान्तरमा उनी कला–साहित्य दुबै विधामा उत्तिकै निपूर्ण भए । त्यस्तै अझै अर्का नोबेल पुरस्कार बिजेता गन्टर घोस जो अत्यन्त बहुमुखी सम्पन्न व्यक्तित्व थिए जो साहित्य इतर चित्रकला, मूर्तिकला र ग्राफिक्समा निकै ठूलो प्रसिद्धी पाएका थिए । यसरी विश्वमा त्यस्ता नगन्य मानिसहरू पनि थिए/छन् । जो आफूलाई हर दृष्टिकोणबाट, हर कोणबाट बहुआयाम सिद्ध गरेका छन् । प्रमाणित गरेका छन् ।

त्यस्तै मलाई यो लाग्छ, रमेश दाइले जुन विधा समात्नु भएको छ, हर एंगलबाट, हर दृष्टिकोणबाट उच्चकोटीको बहुआयामिक स्रष्टा मान्न सकिने आधारहरू बनाउनु भएको छ । आफ्नू समकालीन कविहरूले बनाएको कविताको पहरै पहरा भत्काएर, त्यही पहराको बाटोमा छुट्टै बिम्ब सिर्जनाको मौलिक बाटो निर्माण गरेर उक्लिरहनु भएको कुरा गरूँ ! या, चित्र सिर्जनामा गामबेंसीको सुगन्ध, पाखा पखेरा, हरिया–फरिया डाँडाकाँडाहरूलाई रङ र ब्रसको शक्तिशाली अस्त्रद्वारा एउटा युगलाई नै क्यानभासमा पोतिरहेको एक अथक चित्रकर्मीको कुरा गरूँ ! या, म कुरा गरूँ अर्धमूर्त शैली मार्फत् देशको चित्र बोकिरहेको ।

हर विधा अन्तर्गत हर सिर्जना उत्तिकै अर्थपूर्ण, उत्तिकै गहनबोधी यो नेपाली कला साहित्यले पाएको ठूलो उपलब्धि हो भन्ने लाग्छ मलाई । त्यसो त यो पनि यथार्थ हो, हाम्रो साहित्य बजारमा रहरे कविहरू वर्षमा हजार आउँछन् । रहर लाग्दा कविहरू वर्षमा एक दुई आउँछन् । रहर लाग्दा कविहरूलाई रहरे कविहरूको टडक भडक, सस्तो प्रचारबाजी र चर्चाको मिथ्या भ्रमले ‘ओभरटेक’ गरिरहेको विसंगति देखेर सायद केही वर्ष पहिले एकजना समिक्षकले एउटा घत लाग्दो यस्तै कसो शब्दमा व्यंग्य गरे –– ‘असन बजारको छतमा बसेर छर्रा हान्ने हो भने, तल बाटोको भीडमा हिँडिरहेका कोही न कोही कवि/गजलकारहरूलाई अवश्य छर्रा लाग्नेछ ।’

झट्ट सुन्दा यो भनाइ ठट्यौली लाग्न सक्छ, तर उनको यो शब्द अहिलेको नेपाली साहित्य कता जाँदैछ त ? कता मोडिइरहेको छ ? भन्ने एउटा गम्भीर चिन्तन र चिन्ताबाट उत्पन्न भएको बिस्फोटक भने पक्कै हो । त्यसो हुनाले सस्तो साहित्यलाई जति सुकै प्रचारबाजीको लेपन लगाए पनि सिर्जनाको मूलतत्व कत्तिको जीवनमुखी छ, कत्तिको दर्शनमुखी छ, कत्तिको कलामुखी छ त्यही नै अन्त्यमा छानिदै छानिदै जाने न हो । त्यस मानेमा, रमेश श्रेष्ठका सिर्जनाहरू कत्तिको युगान्तकारी, जीवनवोधी, नवीन चिन्तनयुक्त प्रभावकारी, समाजपयोगी एवम् ग्रहणीय छन् त ? एकदिन समिक्षकहरूलाई पक्कै चर्चायोग्य विषय रहने नै छ भन्ने मेरो ठहर छ । यति कुरा गरिसकेपछि, अन्त्यमा दाईको एउटा महत्वपूर्ण कुरा छुटाउनु हुन्न भन्ने लाग्छ ।

त्यो हो “टिकटमा एकल कविता वाचन” को शुरूवातकर्ता । आजका अक्सर कविहरू रङ्गमञ्चका कलाकारहरू झैँ स्टेज पर्फर्मर छन् । यो असाध्यै सुन्दर पक्ष पनि हो कि पाठक श्रोताहरूले शब्दबाट बुझ्न नसकेको शब्दको रहस्यमय अर्थ कविको हाउभाउ, वाचनशैली र अभिनय युक्त प्रस्तुतिबाट सहजै ग्रहण गर्न सक्छन् भने अर्का सुन्दर पक्ष कविहरू पनि लाभान्वित हुन्छन् । यसरी टिकटमा कविता सुनाएर कैयौं कवि सेलिब्रेटी मात्रै नभएर आर्थिक रूपमा समेत मजबुत भइरहेको हामीले देख्छौँ, जसको शुरूवात नेपाली कविताको मूल्य र मान्यताका लागि रमेश श्रेष्ठले गर्नुभयो ।

यो आफैमा साहित्यको इतिहासले नबिर्सने एउटा अत्यन्तै महत्वपूर्ण कामको सृष्टि हो भन्न सकिन्छ । कविताको इतिहासमा एउटा नौलो प्रयोग गर्नु पनि स्रष्टाको निजत्व हो । सम्पत्ति हो । यसरी शब्दको रङ संयोजन र रङ मार्फत् शब्द संयोजन गर्दै विचार गहिरो समुद्रमा हराइ रहने रमेशहरू यो देशमा गोपालप्रसाद रिमालको कवितामा भने झैँ बस् ! एकजुगमा एकपल्ट आउँछन् ।

लेखक: सगरमाथा साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया