म्याग्दीमा क्षयरोगी बढ्दै

राकेश शर्मा २०८० चैत १२ गते ११:२९

म्याग्दी ।
म्याग्दीमा पछिल्लो समय क्षयरोगका बिरामीको संख्या बढ्दै गएको छ । साउनदेखि यता मात्र २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणका क्रममा यी नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।


विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्षका ६३ र नयाँ २४ बिरामी गरी ८७ जनाले नियमित औषधि सेवन गरिरहेको जानकारी गराइएको हो ।


जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १२ जना नयाँ क्षयरोग भेटिएका छन् । त्यस्तै मालिकामा ४ जना, मंगला २, धवलागिरी २ जना र रघुगंगा गाउँपालिकामा २ जनामा क्षयरोगी भेटिएका छन् ।

Advertisement


म्याग्दी जिल्लामा गत आवमा टिबी प्रिभ्यालेन्स सर्वे मा म्याग्दी जिल्लाभित्र क्षयरोगीको संख्या २ सय ४९ पत्ता लगाउनुपर्नेमा ६३ जना पत्ता लगाइएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन गणेश सुवेदीले बताए । एक जना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्न सक्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।


जिल्लाका सबै स्थानीय तहमा प्रयोगशाला र जनशक्तिको व्यवस्थापन गर्न सकिएमा वडा स्तरमै पुगेर खकार परीक्षण शिविर सञ्चालन गर्न सकेमा सङ्क्रमितको पहिचान गर्न सजिलो हुने उनको भनाइ छ । ‘म्याग्दीमा क्षयरोगका बिरामी पहिचान गर्न निकै समस्या भएको छ, बिरामीले आफ्नो लक्षण थाहा पाएर स्वास्थ्य संस्थासम्म आउन पनि निकै अप्ठ्यारो मान्ने गरेका छन्,’ ठकुराठीले भने ।

Advertisement


जिल्लामा अहिले तिन ठाउँबाट मात्र क्षयरोगका बिरामीको निदान गरिन्छ । बेनी अस्पताल अन्नपूर्ण गाउँपालिकाको भू–तातोपानी स्वास्थ्य चौकी र मालिका गाउँपालिका ६ मा रहेको दरबाङ स्वास्थ्य केन्द्रबाट यो रोगको निदान हुने कार्यालय जनाएको छ ।
हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिएमा क्षयरोग भएको हुन सक्छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया