सम्पादकीय: वन, धन र जन खाने आगो

समाधान संवाददाता २०८० चैत १२ गते ११:५१

पोखराको उत्तरी पर्वत काहुँडाँडामा चैत ५ गते लागेको डढेलो ३ दिनसम्म निभेन । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको जोडबलमा मात्रै आगो नियन्त्रणमा लिनुपर्‍यो । काहुँडाँडामा बर्सेनि आगलागीका घटना हुँदै आएको छ । संयोग के भने बस्तीमा आगोले क्षति पुर्‍याउन पाएन । वनजंगलको विनाश भयो । वनस्पतिसँगै कीराफट्यांग्रा लगायत असंख्य जीवजन्तुले आगलागीमा ज्यान गुमाए । पर्यावरणमा भएको क्षतिको आँकलन भएको छैन, तर क्षति ठूलो छ । डढेलोले वनमात्रै खाँदैन, धन र त्यो पनि प्राकृतिक धन खान्छ र मान्छेको ज्यान पनि । गएका २० वर्षमा डढेलोमा परी १ सय २० जनाभन्दा नेपालीको ज्यान गएको छ ।


हिउँदको सुख्खा समय वन डढेलो र आगलानीका घटना धेरै हुने बेला हो । हावाहुरी चल्ने यो बेला डढेलोले धेरै कुरा सखाप पार्न सक्छ । यो वर्ष मध्यचैतभित्रै कास्कीमा मात्रै ३८२ हेक्टरमा आगलागी भएको छ । गण्डकी प्रदेशको मुस्ताङबाहेक १० जिल्लामा १२ सय हेक्टरमा आगलागीका घटना भएका छन् । म्याग्दीमा आगो निभाउँदा एकजना घाइते भए, जुन जिल्ला कास्कीपछि सबैभन्दा धेरै डढेलो सल्किएको जिल्ला हो यो वर्ष । नवलपुरमा ८५ क्युफिट काठ डढेलोले नष्ट गरेको छ ।


भूकम्प, बाढी र पहिरोलाई विपदका रुपमा लिइन्छ । डढेलो बाढी पहिरोजस्तै बर्सेनि नेपालीलाई दुख दिने अर्काे विपद हो, तर योचाहिँ बेवास्तामा परेको छ । चट्याङ र डढेलोजस्ता विपद नियन्त्रणबारे नेपाल सरकारको तयारी र जोखिम व्यवस्थापन छैन भन्दा पनि हुन्छ । आगलागी मानवीय कारणबाटै हुन्छ भन्ने अनुसन्धानहरुले देखाएका छन् । कताकतिचाहिँ प्राकृतिक रुपमा पनि आगलागी हुन्छ । अधिकतर आगलागीको कारण मानिस हो भने नियन्त्रण पनि गर्न सजिलो हुनुपर्छ । मानव समुदायलाई सचेत बनाउने हो भने डढेलोका घटना हुँदैनन् ।

Advertisement


वनजंगलमा त्यत्तिकै पनि आगो लगाइदिने, नयाँ घाँस र झार उम्रन्छ भन्ने भ्रमले आगो लगाउने चलन छ । खोरिया फाँड्ने चलन हराए पनि नयाँ घाँसपातका लागि भनेर आगो लगाउने प्रवृत्ति कम नभएको हुँदा त्यसलाई नियन्त्रणका लागि अभियान आवश्यक छ । अर्काे कसै गरी आगो लागिहाले निभाउने यन्त्र र उपकरणको जोहो नेपालमा छैनभन्दा पनि हुन्छ । हेलिकोप्टर नै प्रयोग गरेर भए पनि आगो नियन्त्रण गर्नुपर्ने हुन्छ, तर अग्नि नियन्त्रक हेलि र अन्य उपकरण नेपाल प्रहरी, सशस्त्र प्रहरी वा नेपाली सेनालाई सरकारले उपलब्ध गराउन सकेको छैन ।


अहिलेसम्म निर्वाहमुखी तवरले मात्रै आगो नियन्त्रण गरिँदै आइएको छ । गाउँघरका वन जंगलमा मात्रै नभई सहरबजारमा पनि भीषण आगलागीका घटना भइरहेका छन् । डढेलो वा आगलागी नियन्त्रण वा हुनै नदिने पहिले त सुरक्षित जीवनशैलीको वातावरण पनि सहरमा निर्माण गरिनुपर्छ । मानव समुदायलाई सचेत पारिनुपर्छ । सँगसँगै सरकारले नियन्त्रणका लागि यन्त्र, उपकरणको बन्दोबस्ती पनि गर्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया