एमाले कास्कीको ११ औं अधिवेशन: आज चुनिने छ नयाँ नेतृत्व

समाधान संवाददाता २०८० चैत १३ गते १०:५१

पोखरा ।
नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेश लम्बिएको छ । चैत १० र ११ गते तोकिएको अधिवेशन १२ र १३ गतेसम्म लम्बिएको हो । अधिवेशनको चौथौ दिन मंगलबार बिहान उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ । सोमबार प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशनसँगै मंगलबार उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको हो ।


आइतबार पेश भएका ३ वटा प्रतिवेदन सोमबार छलफलपछि पारित भएका छन् । अध्यक्ष मनबहादुर गुरुङले पेश गरेको राजनीतिक प्रतिवेदन, सचिव बैनबहादुर क्षेत्रीले पेश गरेको सांगठनिक प्रतिवेदन र वित्तीय तथा कोष व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले पेश गरेको आर्थिक प्रतिवेदन र केन्द्रीय लेखा आयोगका सदस्य केशबहादुर केसीले पेश गरेका प्रतिवेदन सुझावसहित पास भएका हुन् ।


प्रतिवेदनहरू पास भएसँगै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सोमबारबाट अघि बढेको अध्यक्ष गुरुङले जानकारी दिए । ‘बन्द सत्रले नयाँ नेतृत्वको निर्वाचन गर्न प्रक्रिया अघि बढाएको छ । सबै साथीहरुलाई मनोनयन दर्ताका लागि फारम वितरण गरिएको छ । मंगलबार इच्छुकले उम्मेदवारी दर्ता गर्छन्,’ उनले भने । सोमबारबाटै निर्वाचन कार्यक्रम सार्वजनिक भएको उनले जानकारी दिए ।

Advertisement


निर्वाचन कमिटीले मंगलबार नै अधिवेशन सक्ने गरी कामअघि बढाएको छ । निर्वाचन कमिटीको कार्यालयले सोमबार बेलुका साढे ५ बजे मतदाता नामावली प्रकाशन गरेको थियो । लगत्तै मतदाता नामावलीउपर दाबी विरोधको कार्यतालिका थियो र उम्मेदवारको दरखास्त फारम वितरण पनि गरिएको थियो ।


मंगलबार बिहानै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय साथै पुनः नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

Advertisement


उम्मेदवारको अन्तिम नामावली प्रकाशन पौने ११ बजे हुनेछ । लगत्तै दिउँसो साढे १ बजे मतदान गर्ने कार्यतालिका छ । एमाले कास्कीले आगामी २ वर्षका लागि मंगलबार नै नयाँ नेतृत्व पाउने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार मतदान सकी परिणामसमेत घोषणा हुने छ ।


२ प्यानलको प्रतिस्पर्धा
एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई थरी समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । सोमबार रातिसम्म सहमति नजुटेपछि अध्यक्ष मनबहादुर गुरुङ समूह र सचिव बैनबहादुर क्षेत्रीको समूहबिच प्रतिस्पर्धा हुने पक्कापक्की छ । सचिव क्षेत्री स्वयं अध्यक्षका आकांक्षी हुन् भने अर्को समूहबाट अध्यक्षमा माधव बास्तोला इच्छुक छन् । अध्यक्ष सर्वसम्मत बनाउन प्रयास गर्ने र सोमबार रातभर र मंगलबार बिहानसम्म सफल नभए दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने पक्का हुनेछ ।


सचिवमा हालका उपसचिव दर्शन लामा र सुरेन्द्र गुरुङ आकांक्षी छन् । उपाध्यक्षमा भेषराज बराल र शिवप्रसाद आचार्यले उम्मेदवार दिने भएका छन् । उपसचिवमा राधिका शाही योगी, लालबहादुर परियार, सन्तु सुवेदी र शारदाकुमारी पराजुली, कर्ण गुरुङ, श्रीराम पोखरेल लगायत आकांक्षी छन् ।


एमाले कास्की अधिवेशनमा झन्डै १ हजारजना प्रतिनिधि छन् । विभिन्न कमिटीहरुबाट गत सातामात्रै अधिवेशन प्रतिनिधि छनोट गरिएको थियो ।

तपाईको प्रतिक्रिया