ड्रागन बोट रेस सकियो

समाधान संवाददाता २०८० चैत १३ गते ११:१२

लेखनाथ ।
लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपालले हात पारेको छ । सोमबार भएको ५ सय मिटरतर्फको प्रतिष्पर्धामा १ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै वाटर स्पोट्स प्रथम स्थान हासिल गर्न सफल भएको हो ।


प्रतियोगितामा नेपाल र्‍याफ्टिङ एसोसिएसन (नारा) द्वितीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिको समूह सान्त्वना बने । २ सय मिटरतर्फको प्रतिष्पर्धामा नेपाल ¥याफ्टिङ एसोसिएसन (नारा) को समूह प्रथम, वाटर स्पोर्ट्स नेपाल द्वितीय, हर्पन फेवा मत्स्य सहकारीको जलारी समूह तृतीय, खास्टे न्युरेनी मत्स्य सहकारीको समूहले सान्त्वना स्थान हासिल गरे ।


प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले २ लाख, द्वितीय हुनेले १ लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजारका साथमा प्रमाणपत्र दिइएको छ । दुई सय मिटरमा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तृतीयलार्ई २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो ।

Advertisement


महिलातर्फ ५ सय मिटरको प्रतिष्पर्धामा बेगनासताल डुंगा व्यवसायी समितिको समूह प्रथम र बेगनासताल मत्स्य व्यवसायी समितिको समूह द्वितीय बन्दा जलारी दिदीबहिनी समूह फेवा तृतीय भएको छ । महिलाकै २ सय मिटरको प्रतिष्पर्धामा बेगनासताल मत्स्य व्यवसायी समितिको समूह प्रथम, बेगनासताल डुंगा व्यवसायी समितिको समूह द्वितीय र जलारी दिदीबहिनी समूह फेवा तृतीय बने । महिलातर्फका दुवै इभेन्टमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश १ लाख, ५० हजार र २५ हजारका साथमा प्रमाणपत्र पाए ।


प्रतियोगितामा सहयोगका लागि २ चिनिया आएका छन् । गएको असारमा पोखराको फेवातालमा नेपालमै पहिलो पटक ड्रागन बोट रेस भएको थियो । सो प्रतियोगिताका लागि ८ वटा डुंगा चीनबाट ल्याइएको थियो । तीनै डुंगा अहिलेको प्रतियोगितामा पनि प्रयोग भएका हुन् ।

Advertisement


पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथ र ड्रागन बोट एसोसियसन गण्डकी प्रदेशको सहआयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगिता युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।


पोखरा महानगरले यो प्रतियोगितालाई बर्सेनी आयोजना गर्ने जनाएको छ । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड गण्डकीले २० लाख दिएको छ । अपुग रकम महानगरले व्यहोर्ने गरी स्थानीय संघ, संस्थासँग मिलेर प्रतियोगिता भएको हो । पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेल पर्यटनको राजधानी बनेको पोखराको मुख्य बजारसँगै आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन नगरी देशको समृद्धि सम्भव नहुने बताउँछन् । उनी भन्छन्, ‘लेखनाथ क्षेत्रमा पर्यटन प्रवद्र्धनसँगै वाटर स्पोट्सको सम्भावना खोज्न यसपालि सघाएका हौँ । यसले भावी योजना निर्माणमा समेत सघाउनेछ ।’

तपाईको प्रतिक्रिया