एमाले कास्कीको विद्युतीय मतदान कछुवा गतिमा

समाधान संवाददाता २०८० चैत १४ गते १४:४१

पोखरा ।

कुनै पनि निर्वाचनमा मतदान गर्न सजिलो होस्, मत बदर नहोस् र गणना पनि सजिलो होस् भनेरै अचेल विद्युतीय भोटिङ मेसिनको प्रयोग हुन थालेको छ । प्रविधि पछ्याउन आफूलाई अगाडि बढाइरहेको पार्टी एमालेको कास्की अधिवेशनमा पनि यसपालि विद्युतीय भोटिङ मेसिनको प्रयोग भएको छ । तर पनि मतदान भने कछुवा गतिमा चलिरहेको छ ।

मंगलबार साँझ साढे ७ बजे सुरु भएको मतदान आज बुधबार अपरान्ह पौने ३ बजेसम्म पनि निरन्तर चलिरहेको छ । जब कि विद्युतीय भोटिङ भएको हुँदा मंगलबार राति नै मतदान सकिने र परिणाम आउने बताइएको थियो । त्यसमाथि १० र ११ गतेसमका लागि भनेर अधिवेशनको मिति तय गरिएको थियो । आज बुधबार १४ गतेसम्म पनि अधिवेशन चलिरहेको छ ।

Advertisement

एमाले अधिवेशनमा १६ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग भएको छ । ९ सय २६ प्रतिनिधि मतदाता छन् । बुधबार पौने ३ बजेसम्म ८ सय ६९ले मतदान गर्न भ्याएका छन् । मतदानमा १३ जना भने अनुपस्थिति रहे ।

एमाले कास्कीको अध्यक्ष बन्न बैनबहादुर अधिकारी र माधव बास्तोला प्यानललै बनाएर प्रतिस्पर्धामा छन् । विवेक त्रिपाठी पनि अध्यक्षका अर्का उम्मेदवार हुन् ।

Advertisement

माधब बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकले उम्मेदवारी दिएका छन् । बैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियार छन् । उपसचिवमै प्यानलबाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दर्ता गराएकी छन् । 

तपाईको प्रतिक्रिया