सम्पादकीयः मिर्गौला उपचारमा पहुँच

समाधान संवाददाता २०८० चैत १५ गते १२:०३

हाम्रो शरीरको सञ्चालनका आफ्नै नियम छन् । महत्वपूर्ण अंगमध्ये कुनै एकले काम गर्न छोडिदियो भने अन्य सबै अंग तन्दुरुस्त हुँदाहुँदै पनि दीर्घरोगी बन्नेमात्र नभएर मृत्युको मुखमा मानिस पुग्न छ । हामीले ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’ छ भन्ने जान्दाजान्दै पनि आहारबिहारमा ध्यान नपु¥याउँदा अनेक रोगको सामना गर्नु परिरहेको हुन्छ । पछिल्लो समयमा विश्वमै गम्भीर समस्या बन्दै गएको मिर्गौलासम्बन्धी रोगले नेपालमा पनि विकराल रूप लिन थालेको छ ।

नेपालमा करिब ३० लाख मानिसमा कुनै न कुनै रूपको मिर्गौलासम्बन्धी रोग भएको विभिन्न अध्ययनले देखाएका छन् । डब्लुएचओको प्रतिवेदनले विश्वमा ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको देखाउँछ । मिर्गौलासम्बन्धी रोगको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले प्रत्येक वर्षको मार्च १४ तारिखलाई अन्तर्राष्ट्रिय मिर्गौला दिवसका रूपमा मनाउने गरेको छ । विश्वभर सचेतना अभियानका रूपमा मनाइने कार्यक्रम यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नारासहित मनाइयो ।


मिर्गाैला रोगको प्रकोप बढिरहँदा नेपालमा भने यसको उपचार र स्वास्थ्य सचेतनामा कमैमात्र ध्यान गएको देखिन्छ । कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्ने, उच्च सोडियमयुक्त खानेकुरा नखाने, शारीरिक सक्रियता कायम राख्ने, दुखाइ कम गर्ने औषधीहरू सेवन नगर्ने, धूमपान तथा मद्यपान नगर्ने, मोटोपना हुनबाट सतर्क रहने तथा मधुमेह र उच्च रक्तचाप भएको खण्डमा उपचारमा लापरबाही नगर्ने हो भने मिर्गौला रोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

Advertisement

शरीरमा दुई वटा मिर्गौला हुने भए पनि रोग लागिसकेपछि दुवैले काम गर्न छोड्छन् । मिर्गौलाले शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम राख्नुका साथै शरीरलाई आवश्यक अनेकथरी तत्वको मात्रा मिलाउने गर्छ । पानीको मात्रा मिलाउने, रगत शुद्धीकरण गर्ने र पिसाबको माध्यमबाट विकारलाई बाहिर पठाउने जिम्मेवारी यसको हो । सानोतिनो समस्याको बेलैमा पहिचान हुनासाथ उपचार गर्न सकियो भने यसका रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।


जटिल अवस्थामा पुगिसकेपछि मात्र उपचार खोजियो भने रोकथामका लागि अपनाइने विधि डायलायसिसमात्रै हो । यो रोगको स्थायी निदान भनेको त प्रत्यारोपण नै हो, जुन महंगो र कठिन काम हो । नेपालमा हरेक वर्ष तीन हजार नयाँ मिर्गौलाका बिरामी थपिने गरेकोमा तीन सय बिरामीको मात्र मिर्गौला प्रत्यारोपण हुने देखिन्छ । बिरामीको चाप, जनशक्ति र डायलायसिस मेसिनको कमीका कारण सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यताका कारण निजी अस्पतालमा चर्को मूल्य तिर्न बिरामी बाध्य छन् ।

Advertisement

सन् २००८ को अन्त्यतिर वीर अस्पताल र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणको सुरुवात भएसँगै विस्तार भएको प्रत्यारोपणले सन् २०१३ मा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापनापछि थुप्रै पीडितले जीवनदान पाउन सकेका छन् । हालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालले पनि आफ्नै जनशक्तिबाट मिर्गाैला प्रत्यारोपण गरेको छ । मिर्गाैलाबारे बेलैमा सचेत बनौँ, यथाशक्य रोग लाग्नै नदिऔं, बेला बेलामा परीक्षण गरौँ ।

तपाईको प्रतिक्रिया