पथप्रदर्शक गोरखापत्र बाजे

रवीन्द्र माकाजु २०८० चैत २० गते १२:२५

मलाई पोखरामा पत्रिका चलाउन सिकाउने गुरु हुन्– गोर्खापत्र बाजे । उनकै प्रेरणा स्वरूप मैले पत्रकारितामा हात हालेको हुँ । जुनबेला हामीले आदर्श समाज दैनिक शुभारम्भ गरेका थियौं, त्यसबेला पोखरामा प्रशस्त कम्प्युटर सेवा थिएन न त कम्प्युटर पसल नै । कम्प्युटर किन्नका लागि काठमाडौ जानुपर्दथ्यो । अफसेट प्रेसहरू एकाध थिए । अति महँगो छपाई हुँदा जसले पायो त्यसैले पत्रिका चलाउने हिम्मत गर्न सक्दैनथे ।


२०५४ सालमा हामीले दैनिक “आदर्श समाज” निकाल्ने जमर्को गर्‍यौं । वरिष्ठ पत्रकार रामकुमार कोइरालाले त्यसबेला भनेका थिए– दैनिक पत्रिका निकाल्ने भए आफ्नै प्रेस चाहिन्छ, नत्र अप्ठेरो पर्छ । यस भनाईलाई सिरोधार्थ गर्दै मैले प्रेस संचालकलाई पनि पत्रिकाको पार्टनर बनाउनु पर्छ भनेर मुनाल अफसेट प्रेसका संचालक कल्याण पालिखेलाई पार्टनर बनाइयो । मेरै घरमा आदर्श समाजको अफिस राखियो । दिनभर गरेको टाइप सेफ हुँदैनथ्यो । रातमा उड्थ्यो । सम्पादक कृष्णप्रसाद जी र म रातभर सेटिङ्मा समय बिताउथ्यौं । पछि कता कताबाट कम्प्युटर अपरेटरका रूपमा मगन श्रेष्ठ र शेरबहादुर कुमाल आइपुगे ।

उनीहरूलाई अरु कसैले नलगुन भनेर उनीहरुको नाम पत्रिकामा राखिन्थ्यो । सम्वाददाता अन्य जिल्लामा थिएनन् शुरुमा । समाचारको निकै दुःख हुन्थ्यो । पाना भर्न निकै गाह्रो हुन्थ्यो । सम्वाददातालाई बजारमा समाचार खोज्न पठाउथ्यौं । विशेष गरेर विभिन्न मन्त्रालय अन्तर्गत के के समाचार हुन सक्छन् भनेर खोजि गर्न शुरु गर्‍यौं । यसबाट खोजी पत्रकारिता शुरु भयो । घरघरमा गएर पत्रिकाको ग्राहक बनाउथ्यौ । तर दिउँसो मात्र पत्रिका निस्कन्थ्यो । राष्ट्रिय पत्रिका आएपछि मात्र स्थानीय पत्रिका निस्कदा खासै महत्व हुँदैनथ्यो तर हामीलाई विश्वास थियो भने राष्ट्रिय पत्रिकाले स्थानीय समाचारहरू प्रकाशित गर्न सक्दैन तसर्थ स्थानीय पत्रिका राम्रोसँग चल्दछ ।

Advertisement


“आदर्शसमाज” नियमित रूपमा अफसेटबाट निस्कन थाले पछि लेटर प्रेसबाट निस्केका अन्य पत्रिकाहरू पनि अफसेट प्रेसबाट छ निस्कन बाध्य भए । अधिकांश मान्छेमा के धारणा जमेर बसेको थियो पोखरामा पत्रिका चल्दैन । यो केही समयको पाहुना हो । त्यस विचारमा पत्रिका पढ्ने बानी ह्वात्तै बढिसकेको थियो । पत्रिका ढिलो आयो वा आएन भने उनीहरूबाट फोन आउथ्यो ….. ए ! आज पत्रिका किन आएन ? के तपाईको पत्रिका बन्द भएको हो ?

उनी पत्रिकाका बाजे र हकरहरूका एक असल गुरु या मार्ग निर्देशक हुन्

Advertisement


केही समय पछि पोखरामा एफ.एम.हरु आउन थाले । पत्रिकाका न्यूजहरु नै उनीहरुका खुराकी हुन्थे । पछि पछि जस्तो सम्म विकृति बढ्यो स्थानिय पत्रिका समाचारहरु हुबहु पढ्ने तर कुन पत्रिकाबाट साभार गरेको समेत नभन्ने । पत्रिकाका साथ साथै एफएमहरुको बाढी आएपछि सबैलाई अप्ठेरो र असहज स्थिति सिर्जना भयो । पोखरा ठूलो सहर भनिएपनि विज्ञापनको स्रोत सानै भएकाले विज्ञापनमा असहज प्रतिस्पर्धा हुन्थ्यो ।

नयाँ नयाँ विज्ञापनको स्रोत खोज्नुभन्दा एक ठाउँमा छापिएका विज्ञापनलाई नै देख्ने, उसलाई किन विज्ञापन दिएको ? हाम्रो पत्रिकालाई किन विज्ञापन नदिएको भनेर डर, त्रास देखाउने जस्ता क्रियाकलाप देखापर्‍यो । पत्रिकालाई पनि मर्ज गर्नुपर्छ भनेर हामीले ३ वटा पत्रिकालाई एउटामा मर्ज गर्‍यौँ । २०५८ सालका दैनिक जनमतलाई ८ पेजमा लग्यौं । यो एउटा मिठो प्रयोग थियो । अहिले पोखरामा बोर्ड सिफ्टमा फोर कलरको पत्रिका समेत देख्न पाइन्छ । यो अर्को उपलब्धि हो ।


गोर्खापत्र बाजे अर्थात् चन्द्रकान्त पौडेल जो पोखरा बजारमा कराई कराई पत्रिका बेच्थे । अहिले उनी यस धर्तीमा छैनन् परन्तु उनको स्मरण गर्नेहरू र याद गर्नेहरू अझै पनि प्रशस्त छन् । उनीसँग मेरो पुरानो पत्रकारिताको नाता छ । ०५४ सालको माघको श्रीपञ्चमीका दिन आदर्शसमाज दैनिक शुभारम्भ गरेपछि उनीसँग मेरो घनिष्ठ सम्बन्ध भएको थियो । उनको पसलमा हामीले पत्रिका बेच्न दिन्थ्यौँ । आदर्श समाज ८/९ महिना चलाएपछि साथीहरु बिच सल्लाह हुँदा बन्द गर्नुपर्ने हो कि भन्ने प्रसंग चल्यो । मैले यो कुरा गोर्खापत्र बाजेलाई सुनाएँ । उनले भने– यत्तिका समयसम्म चलाउनुभयो बन्द नगर्नुस् बरु ग्राहक अभियान थाल्नुस् त्यसो भयो भने पत्रिका चल्छ ।


पोखरामा त्यसबेला नियमित विज्ञापन दिने चलन थिएन । पत्रिकामा विज्ञापन दिने भनेको नयाँ वर्ष, दशैँका बेला र राजारानीको शुभ जन्मोत्सवमा मात्रै विज्ञापन पाईन्थ्यो । तर यत्तिको भरले मात्र दैनिक पत्रिका चलाउन धौधौ पर्दथ्यो । मैले सोच्थँे अब यसरी हुँदैन दैनिक पत्रिका चलाउने नै हो भने बधाई, श्रद्धाञ्जली जस्ता विज्ञापन सिर्जना गर्नुपर्छ । पोखरामा कोही अध्यक्ष, सभापति भए भने पत्रिकाको तर्फबाट शुभकामना र कोही कसैको देहावसान भयो भने उनको योगदानको कदर स्वरूप श्रद्धाञ्जली दिने परम्पराको थालनी गरियो । यो परम्परालाई निरन्तरता दिनाले दैनिक पत्रिकालाई खर्च धान्न गाह्रो भएन ।


वि.सं. १९९९ सालमा जन्मिएका गोर्खापत्र बाजेले पोखराको पत्रकारिताका विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनको योगदानको कोही कसैले अवमूल्यन गर्नुहँदैन । उनको सम्मानमा पिस जोन एकेडेमीले मरणेपरान्त सम्मान स्वरूप नगद १५ हजार सहित उनको परिवारलाई सम्मान गरिएको थियो । उनको २०६९ साल माघ २२ गते असामयिक निधन भएको थियो । उनको स्मृतिमा स्वतन्त्र पत्रकार सङ्घ कास्कीले स्मृति सभा गरेको थियो भने उनको नाममा पुरस्कार पनि राखिएको छ ।
पौडेलले २०१७ सालमा हिमदूत साप्ताहिक वितरण गरेका थिए भने २०२७ सालबाट गोर्खापत्र लगायतका पत्रिका बिक्री वितरण गर्ने गर्दथे । उनले यो कार्य आफ्नो नश्वर देह भइन्जेल गरे । वास्तवमा उनी पत्रिकाका बाजे र हकरहरूका एक असल गुरु या मार्ग निर्देशक, (पथप्रदर्शक) पनि थिए ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया