घान्द्रुकमा पर्यटन महोत्सव सुरु

समाधान संवाददाता २०८० चैत २७ गते १८:५६

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा मंगलबारदेखि पर्यटन महाेत्सव सुरु भएकाे छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्र्याउने उद्देश्यले आयाेजित पर्यटन महाेत्सव शुक्रबार ३० गते सम्म चल्नेछ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा भएको महाेत्सवकाे उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पर्यटककाे सहजताका लागि बिरेठाँटीमा पर्यटन सुचना केन्द्र स्थापना गरिएकाे जानकारी दिए । जसले अन्नपूर्ण गाउँपालिकाभित्र भएका पर्यटकीय गन्तव्यहरुकाे बारेमा पर्यटकले सहि जानकारी लिएर यात्रा गर्न सक्ने उनकाे विश्वास छ ।

Advertisement

उनले घान्द्रुकमा अझ पर्यटक भित्र्याउनकाे लागि घान्द्रुककाे माैलिकतामा ध्यान दिनुपर्नेमा जाेड दिए । अध्यक्ष केसीले पर्यटक भित्र्याएर मात्र नहुने बताउँदै पर्यटककाे बसाई लम्ब्याउन मौलिकता र संस्कृति जाेगाउँदै सभ्य समाज निर्माण गर्दै पर्यटकीय गन्तव्यलाई आकर्षक बनाउनुपर्ने बताए ।

‘मेरो कार्यकालसम्म घान्द्रुक आउने बाटाे पूर्ण रुपमा पिच गराउने प्रतिवद्वता व्यक्त गर्छु,’ उनले भने ‘पर्यटन प्रवद्वन, शिक्षा, स्वास्थ्य, बाटाेघाटाे, खानेपानी लगायतका क्षेत्रकाे विकासका लागि गाउँपालिका सधै तयार छ ।’

Advertisement

अन्नपूर्ण १० का अध्यक्ष गाैतम गुुरुङ, अन्नपुर्ण ७ का अध्यक्ष भरत गुरुङ, तमु पेल्हुँ संघका अध्यक्ष प्रेम गुरुङ लगायतले महोत्सवले पर्यटकीय गतिविधिलाई उचाइमा पुर्याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । साथै ऐतिहासिक पर्यटकीय गाउँ घान्द्रुकलाई बाह्रै महिना पर्यटकीय सिजन बनाउँदै राेजगार सिर्जना गर्नुपर्ने उनीहरुकाे भनाई छ ।

कार्यक्रममा गाउँकाे शैक्षिक क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै मेश्रम बराह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी गुरुङ र प्राधानाध्यापक यमप्रसाद भण्डारीलाई सम्मान गरिएकाे थियाे । साथै महाेत्सवमा ५० हजार रुपैयाँ भन्दा बढी रकम सहयाेग गर्ने सहयाेगी दातालाई आयाेजकले सम्मान गरेकाे थियाे ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत सचिव माया थापा र सञ्चालन महाेत्सव संयाेजक अमृत लामा गुरुङले गरेका थिए ।

बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ । दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ । राेकिएकाे खेल र अन्य खेल भाेलि विहान ७ वजेदेखि शुरु हुनेछ । बास्केटबलमा १२ टिमकाे सहभागिता रहेकाे छ ।

महाेत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड प्रतियोगिता, ठेलो प्रतियोगिता र म्युजिकल प्रतियोगिता आयोजना गरिएको महाेत्सव संयाेजक अमृत लामा गुरुङले बताए ।

उनका अनुसार क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ ।

यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने संयाेजक गुरुङले जानकारी दिए ।उनका अनुसार पुरुष भलिबलतर्फ सहभागिताका लागि दर्ता शुल्क ५ हजार र महिलातर्फ ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

संयोजक अमृत लामा गुरुङले खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै ठेलो प्रतियोगिताका विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ । सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए ।

उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् ।महोत्सवको अन्तिम दिन लोक तथा दोहोरी गायक राजु परियारको बेजोट प्रस्तुती रहने उनले बताए । महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुटघान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ ।

घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ ।घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया