डहरे देउराली र अन्धाअन्धीको प्रवद्र्धन गर्दै अधिकृत समाज

समाधान संवाददाता २०८१ वैशाख ३ गते १३:५१

पोखरा ।
कस्केली अधिकृत समाजले वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायत धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ ।


समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुुवेदीले जानकारी दिए ।


पोखरा पर्यटन राजधानी घोषणा भइसकेका अवस्थामा पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुनु जरुरी रहेको अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायत स्थानको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको उनले बताए ।

Advertisement


धार्मिक एवं पर्यापर्यटनका दृष्टिले आकर्षक गन्तव्य डहरे देउराली एवम् अन्धाअन्धी दहको दर्शन गरेमा मनोकांक्षा पूरा हुने प्राचीन जनविश्वास समेतले टाढाटाढाबाट दर्शार्थीहरू आउँछन् । पछिल्ला समयमा यी स्थलको संरक्षण र प्रवद्र्धनमा विभिन्न संघ संस्थाले जोड दिँदै आएका छन् ।


समाजले यसअघिका वर्षमा पनि विभिन्न गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको कस्केली अधिकृत समाजका सचिव महेश पौडेलले जानकारी दिए । उनका अनुसार समाजले स्याङ्जाको धार्मिक एवम् ऐतिहासिक स्थल नुवाकोटस्थित काला भैरव मन्दिर, बागलुुङको पञ्चकोट, बाग्लुुङ कालिका, पर्वत बाग्लुुङका अग्ला पुलहरूको प्रवद्र्धनात्मक भ्रमण गरिसकेको छ ।

Advertisement


प्रवद्र्धनात्मक भ्रमणलाई लक्षित गरी कार्यसमिति सदस्य वासुदेव पौडेलको संयोजकत्वमा वसन्त चालिसे, चन्द्रावती अधिकारी, सन्तोष ढुुंगाना र सुमित्रा उदास(मल्ल) सदस्य रहेको उपसमिति समेत गठन गरिएको छ ।भ्रमणकै अवसरमा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेन्डर लोकार्पण गरिने भएको छ ।

क्यालेन्डर प्रकाशनका लागि समाजका सचिव महेश पौडेलको संयोजकत्वमा विष्णुुप्रसाद पोखरेल र वासुदेव पौडेल सदस्य रहेको उपसमिति पनि गठन गरिसकिएको समाजले जनाएको छ ।

तपाईको प्रतिक्रिया