‘भ्रामक र मिथ्या सूचना परमाणु शक्तिभन्दा ठूलो चुनौती’

पोखरा ।
आजको विश्वमा सबैभन्दा ठूलो चिन्ता र चासोको विषय के हो ? उत्तर र विचार आआफ्नै हुनसक्छन् । कतिपयलाई सम्भावित तेस्रो विश्वयुद्ध वा परमाणु शक्तिको भय पनि छ । तर पत्रकार रजनीश भण्डारी भने मिथ्या र भ्रामक सूचना आजको विश्वको सबैभन्दा चुनौतीको विषय भएको ठान्छन् । यही कुरा वर्ल्ड इकोनोमी फोरमलाई उद्धृत गर्दै उनले बिहीबार लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिताका विद्यार्थीलाई बुझाउँदै थिए ।
नेपाल इन्भेस्टिगेटिभ एन्ड मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) का संस्थापक तथा प्रधान सम्पादक भण्डारीले मिथ्या र भ्रामक सूचनाबाट नागरिकलाई जोगाउने दायित्व पत्रकारहरुको भएको बताए । उनले भने, ‘आज पत्रकारले पत्रकारितामात्रै गरेर हुँदैन, मल्टिमिडिया पनि जान्नुपर्छ ।’ उनले कृत्रिम बौद्धिकता अर्थात एआईले पत्रकारहरुलाई चुनौती थपेको पनि सुनाए ।
‘थाहा छैन, एआईले कति पत्रकार विस्थापित गर्छ, चुनौती छ, तर चुनौती भएकैले अवसर पनि छ,’ उनले भने, ‘विशेष शैलीको खोजी पत्रकारिताबाट पत्रकारितालाई विश्वसनीय बनाउनुपर्छ । संसारभर नै अहिले मिडियाले विश्वसनीयता कसरी बढाउने भन्ने चिन्ता छ ।’
पश्चिमाञ्चल माविमा पत्रकारिता पढिरहेकी जस्मिन गुरुङले पत्रकारिता कसरी विश्वसनीय बन्न सक्ला भनेर गरेको प्रश्नमा भण्डारीले भने, ‘पारदर्शिता, उत्तरदायी र आधिकारिताले पत्रकारितालाई विश्वसनीय बनाउँछ, मिथ्या र भ्रामक सूचनाबाट बचाउँछ ।’ खोजी पत्रकारिताले समस्या उजागरसँगै समाधानका उपाय पनि ल्याउन सक्नुपर्ने विचारसमेत उनले राखे ।
निमजिमकी फेलो एलिना राईले फिचर समाचारमा व्यक्तिहरुका भनाइहरुमात्रै समेट्दा हुने भए पनि खोजी पत्रकारितामा प्रमाणहरु जुटाउनुपर्ने बताइन् । लेकसिटी कलेजकी विद्यार्थीसमेत रहेकी पत्रकार रीना थापाले निमजिमका लागि आफूले गरेको खोजी पत्रकारिताको अनुभव सहपाठीहरुसहितका विद्यार्थीसँग साटिन् । उनले पोखराको लेकसाइडका स्पाहरुमा नाबालिगहरुको बेचबिखन कसरी भइरहेको भन्ने समाचार हालै लेखेकी थिइन् । त्यस क्रममा सबै प्रमाण र तथ्य जुटाइसकेपछि मात्रै प्रहरी, प्रशासनको पनि भनाइ लिन गएको बताइन् । ‘पहिला प्रहरी प्रशासनकहाँ गएको भए सूचना लुकाइसक्ने रहेछन्,’ उनले भनिन् ।
निमजिमकै कार्यक्रम सहायक आयसा बज्राचार्यले संस्थाले कसरी नयाँनयाँ पत्रकारहरुलाई अवसर दिन्छ र कसरी खोजी पत्रकारिता गर्न सकिन्छ भन्नेबारे बताइन् । कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यार्थीलाई आफूले पढेको विषय पत्रकारितामा करियर बनाउन हौसला मिलोस् भनेर सफल र व्यावसायिक पत्रकार भण्डारीसहितलाई डाकेर विद्यार्थी प्रेरित गरिएको जानकारी दिए । सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले पाठ्यक्रमसँगै विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिन अतिरिक्त क्रियाकलाप कलेजमा हुँदै आएको बताए । अनुभवी पत्रकार दिनेश रेग्मीले समाचार सजिलै नपाइने खोज्नु नै पर्ने विचार राखे । विद्यार्थीहरु अस्मिता रानाभाट, सन्देश शर्मा लगायतले पत्रकारिताका विविध आयामबारे जिज्ञासा राखेका थिए ।विद्यार्थी वसन्त कार्कीले कार्यक्रममा सहजीकरण गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया