२४ औं आहा–रारा पोखरा गोल्डकप आजबाट, सहारा र पुलिस भिड्दै

पोखरा । २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक सहारा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेताले १२ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सहारा क्लब उपाधि जित्नका लागि दृढ सङ्कल्पित रहेको छ भने पुलिस क्लब इतिहासकै सफल टिममध्ये एक हो। प्रतियोगिताको पहिलो संस्करण २०५८ मा क्याराभान कपको रूपमा आयोजना गरिएको थियो, जसमा पुलिसले नै उपाधि जितेको थियो। २०५९ बाट हिमश्री फुड्सको प्रायोजनमा आहा गोल्डकपको रूपमा परिचित प्रतियोगिता २०६९ बाट आहा–रारा गोल्डकप तथा २०७९ बाट आहा–रारा पोखरा गोल्डकप नामबाट परिचित छ। पुलिसले क्याराभान कपसहित ६ पटक उपाधि जितिसकेको छ भने पाँच पटक उपविजेता रहिसकेको छ।
२०५८, २०५९, २०६४, २०६५, २०६६, र २०७४ मा पुलिसले उपाधि जितेको हो। क्याराभान कपमा पुलिस र सहारा नीलोबीचको सेमिफाइनल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ९–९ गोल भएपछि टसको माध्यमबाट पुलिस फाइनल पुगेको थियो। फाइनलमा पुलिसले मनाङ मर्स्याङ्दीलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
आहा–रारा गोल्डकपमा सहारा र पुलिस पाँच पटक भिडिसकेका छन्, जसमा प्रत्येक पटक पुलिसले जित हात पारेको छ। दोस्रो संस्करणमा पुलिसले सहारा नीलोलाई ५–१ ले हराएको थियो। छैटौं संस्करणमा सेमिफाइनलमा पराजित गर्दै पुलिसले उपाधि जित्यो। आठौं संस्करणमा २–१, १५ औं संस्करणमा २–१, र १८ औं संस्करणमा टाइब्रेकरमा ४–२ ले पुलिस विजयी भएको थियो।
सहारा क्लब मंगलबारको खेलमा सुशील लामाको कप्तानीमा मैदानमा उत्रनेछ। टोलीमा गोलरक्षक सन्तोष महत र अशोक रेग्मी, खेलाडीहरू सुशील बराल, भीषण गुरुङ, आशिष गुरुङ, अंकित गुरुङ, सन्तबहादुर गुरुङ, विशाल नेपाली, सगम ठकुरी, सन्तोष शाही, सरोज टितुङ, भागवत चौधरी, मुकुन्द निउरे, हेमन्त तामाङ, राजकुमार कुँवर, अभिषेक राना, रोशन छन्त्याल, आकाश थपलिया, तथा अफ्रिकी खेलाडी विलियम सेसेग्नन्, म्याथियो र आर्नल्ड छन्। प्रशिक्षक सुनिल राना रहेका छन्।
नेपाल पुलिस क्लबका कप्तान राम वाजीको नेतृत्वमा टोली मैदानमा उत्रनेछ। टोलीमा गोलरक्षक शत्रुधन चौधरी र सन्जित श्रेष्ठ, खेलाडीहरू नीरज खड्का, भक्तजंग खड्का, शिशिर चौधरी, सुनील तामाङ, सुजन मगर, पृथ्वी चौधरी, सन्जिव लामा, मनीष सेढाईं, विवेक पाण्डे, उज्वल राई, ओसेन्द्र कटुवाल, अर्जुन गाहा, हेमन्त श्रेष्ठ, प्रवीण थापा, हेम तामाङ, तथा सन्तोष हेमरन छन्। प्रशिक्षक चेतन घिमिरे रहेका छन्।
आयोजक टिम तयारी संयोजक हरिराम गुरुङका अनुसार यसपल्ट सहारा क्लबले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको छ। प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन्। फाइनल खेल फागुन ३ गते हुनेछ। गत संस्करणमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै उपाधि जितेको थियो।
यसैबीच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गर्ने भएको छ। प्रतिभा छनोट समितिले श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ। सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार सनिषलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित उद्घाटन समारोहमा सम्मान गरिनेछ। उक्त पुरस्कार क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रदान गर्दै आएका छन्। तनहुँको पुर्कोटका निवासी सनिष ७ वर्षदेखि फुटबल खेलिरहेका छन्। नेपाली फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान दिने राष्ट्रिय खेलाडीलाई सहारा क्लबले हरेक वर्ष सम्मान गर्ने परम्परा रहँदै आएको छ। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ, तथा आयुष घलान सम्मानित भइसकेका छन्।
तपाईको प्रतिक्रिया