कीर्तिमानी सुनको भाउ ओरालो लाग्यो

समाधान संवाददाता २०७६ भदौ ३० गते १२:३१

समाधान संवाददाता
पोखरा

कीर्तिमानी मूल्य तोड्दै नयाँ कीर्तिमान बनाएको सुनको बजारमा फेरि मूल्य घट्न थालेको छ । सुनको भाउले गत भदौ ९ मा अहिलेसम्मकै सबैभन्दा बढी मूल्यको कीर्तिमानी बनाएको थियो । त्यो दिन नेपाली बजारमा प्रतितोला ७३ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य घटेर प्रतितोला ७० हजार २ सय भएको छ । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले प्रतितोला ४ सय रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको हो ।

Advertisement

शुक्रबार नेपाली बजारमा प्रतितोला सुन ७० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि घटेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीमा प्रतितोला ३० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ८ सय ४० रुपैयाँ पुगेको हो । नेपाली बजारमा सुन चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भएको परिवर्तनले सबैभन्दा ठूलो प्रभाव पार्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार ओरालो लागेका कारण नेपाली बजारमा पनि कमी आएको हो ।

Advertisement

बजार मूल्यमा कमी आए पनि पूर्ववत रुपमा कारोबार भने हुन नसकेको महासंघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्माले जानकारी दिए । ‘सुनको मूल्य झनै ओरालो लाग्छ कि भनेर उपभोक्ता पर्खाइमै बस्ने पनि हुन्छन्,’ उनले भने, ‘सिजन सुरुवातमै मूल्य घट्ने संकेत त देखाएको छ । बजारमा कस्तो प्रभाव पार्छ भन्न सक्ने अवस्था छैन ।’

नेपालभर बिहेबारीको सिजनमा मात्रै झन्डै ४० किलो सुन विगतका वर्षमा खपत हुँदै आएको कावा अध्यक्ष विश्वकर्माको भनाइ छ । पोखरामा आजभोलीको समयमा भने विगतको तुलनामा १० प्रतिशत मात्रै व्यापार भइरहेको उनले बताए । बिहेबारी सिजनमा सुनको मूल्य औसतमै स्थिर रहे बजारमा चहलपहल बढ्ने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया