लिटिल स्टेप माविमा माघ १६ देखि ह्यान्डबल प्रतियोगिता

पोखरा ।
पोखरा महानगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूबीच १२ औं लिटिल स्टेप यु १२ ह्यान्डबल प्रतियोगिता आयोजना हुने भएको छ । लिटिल स्टेप माध्यमिक विद्यालय सिमलचौरले प्रतियोगिता माघ १६ र १७ गते विद्यालयको खेल मैदानमा गर्न लागेको हो ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि शारीरिक, मानसिक र बौद्धिक गतिविधिहरूको आवश्यकतामाथि विद्यालयले जोड दिएको छ । विद्यालयले वरिष्ठ खेलकुद विज्ञहरूको रायमा आधारित रही प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा १२ वर्ष उमेर मुनिका साथै हाल कक्षा ५ सम्मका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।
आयोजकका अनुसार छात्रतर्फ २१ टिम र छात्रातर्फ १३ टिम गरी ३४ टिमको सहभागिता रहनेछ । विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले ह्यान्डबल खेलको प्रवद्र्धनका लागि विद्यालयले गरेको यस प्रयासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले खेलका लागि उपकरण, प्राविधिक, प्रशिक्षक र रेफ्रीको अभावजस्तो चुनौतीका बावजुद प्रतियोगिता आयोजनाले खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
विद्यालयका संस्थापक प्राचार्य पम्फा गुरुङले अध्ययनसँगै विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि यो टुर्नामेन्टलाई निरन्तरता दिइएको बताइन् । निजी क्षेत्रको सहयोगले ह्यान्डबल खेललाई बालबालिकाको पहुँचमा पु¥याउन र यसको प्रभाव क्षेत्र विस्तार गर्दै राष्ट्रव्यापी बनाउने लक्ष्य रहेको पनि उनले प्रस्ट पारिन् ।
विद्यालयका टुर्नामेन्ट संयोजक विनोद गिरीले अघिल्लो संस्करणहरू सफलतापूर्वक सम्पन्न गरेझैं यस पटकको प्रतियोगितासमेत सबै पक्षको सहयोगले सफल हुने विश्वास व्यक्त गरे । प्रतियोगिताले पोखरा र आसपासका बालबालिकाबीच ह्यान्डबल खेलको लोकप्रियता बढाउँदै राष्ट्रिय खेलकुदमा योगदान दिने अपेक्षा छ ।
तपाईको प्रतिक्रिया