नर्सिङ क्याम्पसमा स्वास्थ्य समस्याबारे बिमर्श

पोखरा । पोखरा नर्सिङ क्याम्पस एमएन दोस्रो वर्षका विद्यार्थीको आयोजनामा स्वास्थ्यका दुई ज्वलन्त सवालबारे छलफल भएको छ । शनिबार ‘गण्डकी प्रदेशमा नसर्ने रोगहरूको बढ्दो बोझः के हामी तयार छौं’ र ‘गण्डकी प्रदेशमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा नैतिक तथा कानुनी आयामहरू’ विषयमा प्यानल छलफल भएको हो ।
नसर्ने रोगका बारेमा नर्सिङ शिक्षा जनशक्ति तथा पूर्वाधार व्यवस्थापन, स्वास्थ्य सचेतना, स्क्रिनिङ कार्यक्रम, प्रेषण व्यवस्थापन र अनुसन्धानत्मक गतिविधि लगायतका विषयमा छलफल भयो । जहाँ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पूर्वाधार र सेवाको सुधार, विपन्नका लागि लक्षित स्वास्थ्य योजना तथा अस्पतालमा बिरामीक चाप व्यवस्थापनबारे चर्चा गरियो ।
छलफलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले अनलाइन टिकट, टोकन प्रणाली, वैज्ञानिक इएचएस प्रणालीको व्यवस्थाद्वारा चाप व्यवस्थापन गरिरहेको दाबी गरे । अस्पतालको रेट्रोफिटिङ सकिएसँगै विभिन्न वार्ड तथा आइसियुमा बेड संख्या बढाइने उनले सुनाए ।
अस्पतालमा विभागीय दक्ष चिकित्सकको उपलब्धता भए पनि नर्सिङ जनशक्ति भने अपुग रहेको प्राडा खत्रीले स्वीकारे । छिट्टै कान्ति बाल अस्पताल भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगको समन्वयमा क्यान्सर उपचार सेवासमेत सुरु गरिने उनले जानकारी दिए ।
अस्पतालमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले विभिन्न समितिसँगको समन्वयमा खाद्य सुरक्षा पोषण, खानेपानी लगायतमा काम गरिरहेको उनले बताए । नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापनका लागि विभिन्न रणनीतिक योजना (स्क्रिनिङ कार्यक्रम, स्कुल प्रोग्राम, लक्षित समूह लक्षित स्वास्थ्य कार्यक्रम) यहाँ भइरहेको छ ।
प्रदेशमा स्वास्थ्यका कार्यक्रम सञ्चालनका लागि बजेटको आवश्यकता रहेको स्वास्थ्य सचिव डा विश्वबन्धु बगालेले बताए । तर, घातक रोगहरूको उपचारका लागि भने प्रदेश सरकारले रकम विनियोजन गरी कार्यक्रम गरिरहेको उनको भनाइ छ ।

नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले नर्सिङ शिक्षामा विशेषज्ञता अपरिहार्य भएको बताइन् । नर्सिङ शिक्षालाई नसर्ने रोगहरूको रोकथाममा केन्द्रित गर्दै समुदायमा आधारित स्क्रिनिङ तथा प्रारम्भिक पहिचानमा जोडिनुपर्ने उनको भनाइ छ ।
उपचारात्मक महाशाखाका प्रमुख डा रमेशकुमार केसीले धूमपान, मदिरापान, अस्वस्थ आहार, शारीरिक निष्क्रियता र वायु प्रदूषण जस्ता जोखिमहरु नियन्त्रणमा जोड दिए । छलफलबाट गण्डकी प्रदेशमा बढ्दो भारको चुनौती सामना गर्न प्रारम्भिक परीक्षण जोखिम न्यूनीकरण प्रभावकारी स्वास्थ्य नीति र सर्वसुलभ उपचार सेवामा जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ ।
प्रदेशमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा नैतिक तथा कानुनी आयामबारे प्राडा डेला सिंह जोशी, प्रमुख अस्पताल नर्सिङ प्रशासक सहप्राध्यापक कमला रानामगर, मेडिको लिगल सोसाइटी अफ नेपालका अध्यक्ष सहप्राध्यापक डा नुवादत्त सुवेदी, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास महाशाखाका प्रमुख उपसचिव मुना अधिकारीबिच छलफल भयो ।
छलफलमा सम्मानजनक प्रसूति सेवा, नवजात शिशु हेरचाह र स्तनपान र सुरक्षित मातृत्व जस्ता विषय समेटिएका छन् । गर्भपतन र महिलाको प्रजनन अधिकार, फरक क्षमता भएका आमाहरूको मातृत्व अधिकार, सम्मानजनक मातृत्व सेवामा नर्स र चिकित्सकको भूमिकाबारे विज्ञहरुको धारणा राखे । प्रसूति सेवामा हिंसा न्यूनीकरणका उपाय, कृत्रिम दूधको सट्टा प्राकृतिक दूध प्रवद्र्धन गर्नुपर्ने आवश्यकता, जन्मपछिको पहिलो घन्टाभित्र स्तनपान गराउनुपर्ने आवश्यकता, कार्यालयहरूमा स्तनपान र शिशु स्याहार सुविधाको व्यवस्थामा उनीहरुले जोड दिए ।

छलफलले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा रहेका नैतिक र कानुनी चुनौती पहिचान गर्दै तिनको समाधानका लागि आवश्यक नीति निर्माण र व्यावहारिक कार्यान्वयनको आवश्यकता औंल्याएको छ । सहभागीबिच सेवाप्रदायकको उत्तरदायित्व महिला र शिशुको अधिकार तथा सेवा गुणस्तर सुधारका विषयमा पनि छलफल भएको छ ।
यस प्रकारका कार्यक्रमले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुधार्न महत्वपूर्ण योगदान दिनेसहभागीहरुले बताएका छन । विद्यार्थीको नैतिक, व्यावहारिक तथा शैक्षिक विकासका लागि कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया