एनआइसीको न्यु सुपर चमत्कारिक योजना

समाधान संवाददाता २०७६ पुष २४ गते १२:१९

समाधान संवाददाता
पोखरा

एनआइसी एसिया बैंकले ग्राहकका लागि ३० विशेषतासहितको नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले यसअघि २ पटकसम्म क्रमश १८ र २२ योजनासहितको चमत्कारिक तथा सुपर चमत्कारिक निक्षेप योजना ल्याएको थियो ।

सन् २०२० को अवसरमा बुधबार सार्वजनिक ३० योजना उच्च प्रतिफलसहितको भएको बैंकले दावी गरेको छ । उत्कृष्ट बिमा सुरक्षा योजना, कर्जा ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निशुल्क होम बैंकिङ सुविधा, निशुल्क लकर सुविधा र देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने बंैकका गण्डकी प्रादेशिक प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

Advertisement

बैंकले गरेको सुविधा थपघटबारे जानकारी दिन बुधबार भएको पत्रकार भेटघाटमा प्रमुख शर्माले ती निक्षेप योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको अधिकतम बिमा सुविधा पाउने बताए । बैंकले यसअघि १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा पाउने योजना सार्वजनिक गरेको थियो । ‘प्रतिग्राहक १० लाखभन्दा बढी बिमा गर्न नपाइने बिमा समितिको व्यवस्था अनुसार हाम्रो अधिकतम बिमा सुविधामा समेत फेरबदल भएको छ,’ उनले भने, ‘नयाँ योजना अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण अशक्त भएमा १० लाखसम्मको बिमा सुविधा दिइनछ ।’

बंैकले १८ घातक रोगका लागि १० लाखसम्मको बिमा सुविधा दिनेछ । उनले ग्राहकका लागि १ लाखसम्मको औषधी उपचार बिमा सुविधासमेत रहेको जनाए । औषधी उपचार बिमा अन्तर्गत बैंकले ग्राहकलाई अझ विशेष सुविधा दिन बहिरंग (ओपिडी) उपचारमा समेत बिमा सुविधा दिन लागेको छ । अस्पताल भर्ना भएर २४ घण्टा बसेको बिरामीलाई समेत त्यस्तो योजनामा समावेश गरिएको छ । उपचारमा २० हजारसम्म र अस्पताल भर्ना हुँदा ८० हजारसम्म सुविधा दिइने बैंकले जनाएको छ । ती बिमा सुविधावापत लाग्ने प्रिमियम बंैक आफैंले एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडलाई तिर्ने छ ।

Advertisement

बैंकका उपप्रादेशिक प्रमुख वीनितराज पाण्डेले योजना अन्तर्गत ग्राहकले रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डाइमन्ड सिरिज गरी ३ भाइरेन्टसका बचत योजना पाउने जानकारी दिए । तीनै प्रकारका खातामा वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज दिइनेछ । उनले निशुल्क डिम्याट खाता खोल्न, निशुल्क इ–कमर्स एक्टिभेसन, निशुल्क लकर सुविधा, अनलाइन मुद्दति खाताको सुविधा र निशुल्क क्रेडिट कार्ड योजनाले समेटेको उल्लेख गरे ।

उनले मुद्दतिमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न र स्विप आउट गर्न सकिने बताए । बैंकले बचत खातामा २ लाखभन्दा बढी रहेको रकम (१० हजारको गुणामा) ९० दिनसम्मको मुद्दती निक्षेपमा रुपान्तरण गर्ने व्यवस्था गरेको छ । सो रकममा ९ दशमलव ७५ प्रतिशत ब्याज दिइनेछ ।

बैंकले सबै ग्राहकलाई अतिरिक्त फाइदा दिन ‘न्यु सुपर चमत्कारिक बचत खाता’, ‘न्यु सुपर चमत्कारिक नारी बचत खाता’, ‘न्यु सुपर चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता’, ‘न्यु सुपर चमत्कारिक बाबु नानी बचत खाता’, ‘न्यु सुपर चमत्कारिक विद्यार्थी बचत खाता’, ‘न्यु सुपर चमत्कारिक स्वरोजगार बचत खाता’, ‘न्यु सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता’, ‘न्यु सुपर चमत्कारिक सहज बचत खाता’, ‘न्यु सुपर चमत्कारिक मुद्दति निक्षेप खाता’ ‘न्यु सुपर चमत्कारिक मासिक निक्षेप खाता’,‘न्यु सुपर चमत्कारिक तलब बचत खाता’को योजना ल्याएको छ ।

मुलुकभरका ३ सय १३ शाखाबाट बैंकले २० लाखलाई दिइरहेको छ । एनआइसी निजीमध्ये ठूलो र बढी शाखा सञ्जाल भएको बैंकको दाबी छ ।

तपाईको प्रतिक्रिया