पर्यटन प्रवर्द्धन गर्न दौड

समाधान संवाददाता २०७६ फागुन १९ गते १४:१६

कृष्ण न्यौपाने
दमौली

जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थल प्रवर्द्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं संघ, संस्थाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्नका लागि दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेको अवस्थामा यी ठाउँमा पर्यटक आकर्षित गर्न खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखिएको हो ।

तनहुँको देवघाट गाउँपालिका २ को पर्यटकीय स्थल घण्टाचुलीको प्रवर्द्धनका लागि दौड प्रतियोगिताको तयारी गरिएको छ । प्रचारप्रसार अभावमा ओझेलमा परेको स्थल प्रबद्र्धनका लागि दौड प्रतियोगिता गर्न लागिएको हो । देवघाट युवा तथा खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २३ गते कोटबैदी पालुराजा मन्दिरदेखि छिपछिपे दर्शन भन्ज्याङसम्म साढे ६ किमी दूरी दौड प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक एवं घण्टाचुली पर्यटन क्षेत्र विकास समिति अध्यक्ष खड्क आलेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावककलाई क्रमश २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।

Advertisement

देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटर उचाइमा छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको यस ठाउँमा राजदरबार, राजगद्दी र चौकीका भग्नावशेष छन् । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घना जंगलमा अवस्थित यस ठाउँमा लालीगुँरास ढकमक्क फूलेको देख्न सकिन्छ । यहाँबाट नेपालका १७ जिल्ला देख्न सकिने आले बताउँछन् । बताए । मनोरम हिमशृंखला पनि यहाँबाट देखिन्छन् ।

समितिले घण्टाचुलीको प्रचारप्रसारका लागि फागुन २३ गतेदेखि २७ गतेसम्म दोस्रो घण्टाचुली पर्यटन महोत्सव आयोजना गरेको छ । ‘धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस ठाउँको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति हुन सकेको छैन,’ आलेमगरले भने, ‘पर्यटकीय गन्तव्यको रुपमा विकास हुनुपर्ने ठाउँ ओझेलमा परेको महसुस गरेका छौं । देवघाट गाउँपालिकाले पनि यस ठाउँको विकासलाई प्राथमिकतामा राखेको छ । घण्टाचुली प्रबद्र्धनका लागि गाउँपालिकाले केही दिनअघि पदयात्रा आयोजना गरेको थियो । भ्रमण वर्ष २०२० को अवसरमा घण्टाचुलीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा सुनाउँछन् ।

Advertisement

व्यास नगरपालिकाले पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २५ गते व्यास गुफादेखि तनहुँसुरसम्म महिला दौड प्रतियोगिता गर्न लागेको छ । माघ १६ गते सहिद दिवसको अवसरमा व्यास नगरपालिका ५ मानहुँदेखि व्यास नगरपालिका ८ पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरपालिकाले यस वर्षदेखि नारी दिवसको अवसरमा खुला हाफ म्याराथन गर्न लागेको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । पुरुष म्याराथनका कारण अहिले मानहुँकोट र पुलिमराङ पुग्ने पर्यटक बढेको नगरपालिकाले जनाएको छ ।

व्यास जन्मभूमि दमौली र ऐतिहासिक महत्व बोकेको तनहुँसुरलाई खेलको माध्यमबाट प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता गर्न लागिएको जोशीले बताइन् । ‘दौडमार्फत् व्यासभूमि र ऐतिहासिक तनहुँसुर राज्यलाई जोड्ने प्रयास गरिएको हो,’ उनले भनिन्, ‘यसले दुवै क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि टेवा पुर्‍याउनेछ ।’

२१ किमी दूरीको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ४१ हजार ७६, ३१ हजार ७६ र २१ हजार ७६ नगद प्रदान गरिनेछ । प्रतियोगितामा सान्त्वना हुने ५ जनालाई जनही ११ हजार ७६ प्रदान गरिनेछ । व्यासगुफाबाट सुरु हुने दौड सफा सडक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, धरमपानी, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका ११ स्थित तनहुँसुर दरबारमा पुगेर सकिनेछ । प्रतियोगितामा देशभरबाट महिला धावकको सहभागिता रहने नगरपालिकाको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया