गण्डकीमा सीमाबाट साढे १३ सयको उद्धार

समाधान संवाददाता २०७७ जेठ १३ गते ५:००

अनुप पौडेल
पोखरा, १३ जेठ

कामको सिलसिलामा भारतको विभिन्न ठाउँमा पुगेका साढे १३ सयभन्दा बढीको उद्धार गरिएको छ । कोरोना भाइरसका कारण भारतमा लकडाउन भएपछि घर फर्किन पाउने आशमा सीमामा अलपत्र परेका गण्डकी प्रदेशका विभिन्न जिल्लाका १३ सय ७१ जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रदेश भित्रिने विभिन्न ३ नाकाबाट उनीहरुको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी एसएसपी किरण रानाले जानकारी दिइन् । ‘उद्धार भएकामध्ये कति अझै पनि क्वारेन्टाइनमा हुुनुहुन्छ । पछिल्लो २५ घन्टामा ३७ जना घर फर्किएको तथ्यांक छ,’ उनले भनिन् ।

Advertisement

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै नवलपुरका ३ सय ३५ जना घर फर्किएका छन् । त्यसपछि क्रमशः बागलुङका ३ सय ३१, तनहुँका २ सय ४०, स्याङ्जाका १ सय ९०, म्याग्दीका १ सय २२ जनाको उद्धार गरिएको छ । त्यसबाहेक सीमामा अलपत्र परेका लमजुङका ४५, पर्वतका ३९, कास्कीका ३८, गोरखाका ३० र मनाङका १ जना घर फर्किएका छन् ।

१० हजारको कोरोना परीक्षण

Advertisement

गण्डकी प्रदेशमा हालसम्म साढे ९ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । प्रदेशमा पिसिआर र आरडिटी दुवै विधिबाट गरेर ९ हजार ७ सय १६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

२ हजार १५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । २ हजार ४४ जनाको स्वाब संकलन गरिएको भए पनि २९ जनाको रिपोर्ट आउन बाँकी छ । हालसम्म गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटीमार्फत कोरोना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया