कफी नीति परिमार्जन हुनुपर्छः बोर्ड निर्देशक

समाधान संवाददाता २०७७ असार १४ गते १९:०६

समाधान संवाददाता
पोखरा

कफी बाली उत्थानको लागि पोखरामा छलफल भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईसहितका सरोकारवालाले कफी बालीको समस्या र प्रवद्र्धनमा गर्नुपर्ने भावी कामबारे चर्चा गरे ।

छलफलमा कफीका विभिन्न मूल्य श्रृंखलामा काम गर्ने किसान, समूह, सरकारी र गैरसरकारी, उद्यमी, व्यवसायी सबै इमान्दार र लगनशील भएर लाग्नुपर्ने निर्देशक डा भट्टराइले बताए ।
कफी क्षेत्रमा पुस्ता हस्तान्तरण हुन नसकेको उनले सुनाए । युवा जनशक्तिलाई कफीमा आकर्षित गर्न र कृषकलाई संरक्षण गरी खेतीबाट कम्तीमा २० प्रतिशत नाफाको ग्यारेन्टी गर्न आवश्यक रहेको निर्देशक डा भट्टराइले बताए ।

Advertisement


कफी बालीलाई व्यावसायिक खेतीको रुपमा विकास गर्न जग्गा चक्लाबन्दी गरी इस्टेट फार्मिङमा जानुपर्ने योजना उनले सुनाए । उक्त क्षेत्रमा काम गर्ने सबै निकायसँग समन्वय गरी व्यवस्थित संरचना बनाउने र सबैको उत्तिकै भूमिका रहने गरी कफी नीति परिमार्जन हुनुपर्ने उनको भनाई छ ।

सहभागीहरुले समेत कफीको उत्पादन बढाउन नसक्नुमा किसान र सरोकारवाला निकायकै कमजोरी भएको औल्याए । बोर्डको आन्तरिक व्यवस्थापन, संथागत विकास, नीतिमा परिमार्जन, किसानको वर्गीकरण, बिमा लागु गर्ने लगायतका बिषयहरु तत्काल थाल्न उनीहरुको सुझाव छ । पोखरा ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीले कफीको विकासमा स्थानीय सरकार सधैँ सकारात्मक रहेको बताए ।

Advertisement


कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले कफी बालीमा लाग्ने किराहरु र तिनको प्रांगारिक व्यवस्थापन सम्बन्धी पुस्तक विमोचन भयो । बोर्डका उपनिर्देशक लक्ष्मण पोखरेल, कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेल लगायत कास्की, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट कफीसँग सम्बन्धित कृषक, व्यवसायी लगायत छलफलमा सहभागी भएका थिए । क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले बोर्डले यस क्षेत्रमा गरिरहेको काम र गर्नुपर्ने कामका बारेमा बताएका थिए ।


नेपालमा कफी आयातित बाली हो । नेपालको उच्च भौगोलिक क्षेत्र भएको स्थानमा खेती गर्दा कफीको गुणस्तर राम्रो हुने बताइन्छ । त्यस्तो कफीमा स्वाद, बास्ना तथा सन्तुलित गुण हुने हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढिरहेको देखिन्छ । देश भित्र र बाहिरका बजारमा गरी नेपालमा वार्षिक करिब १४ हजार मेट्रिक टन कफी माग हुँदै आइरहेको छ ।
नेपालमा २ हजार ७ सय ६१ हेक्टरमा कफी खेति हुँदै आएको छ । जसबाट ५ सय ३० मेट्रिक टन कफी उत्पादन हुन्छ । नेपालमा झन्डै ११ लाख हेक्टरमा कफी खेती गर्न सकिने साथै करिब ९० हजार हेक्टरमा उच्च गुणस्तरको कफी खेती उत्पादन हुने अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया