चीनबाट सित्तैमा पाएको उपकरणमा चर्को ढुवानी शुल्क

समाधान संवाददाता २०७७ भदौ २३ गते २०:०९

एसके थकाली
जोमसोम

चीनको स्वशासित क्षेत्र तिब्बतले १ घर १ घाँस काट्ने रिपर अभियान स्वरुप दिएको राहत कृषि उपकरण सामग्री स्थानीयले किसानले चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सम्बन्धित स्थानीय तहका किसानलाई निशुल्क वितरण गर्न दिइएको उपकरणमा गाउँपालिकाले ढुवानीको बहाना बनाई कृषकबाट चर्को पैसा असुलेको छ ।

लोमान्थाङ गाउँपालिकाले १ घाँसे रिपर उपकरणको ढुवानी शुल्क ७ हजार ५ सय रुपैयाँ तोक्यो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले १ हजार रुपैयाँ ढुवानी शुल्क तोक्यो । तिब्बतबाट राहत स्वरुप एकै समय समान रुपले पाएको उपकरणमा उपल्लो मुस्ताङको २ पालिकाले कृषकबाट ढुवानी दस्तुर भन्दै फरक÷फरक शुल्क उठाएका हुन् ।

Advertisement


घाँस काट्ने एउटा उपकरणको ढुवानी शुल्क ७ हजार ५ सय रुपैयाँ

चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्वा काउन्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका किसानलाई लक्ष्य गरी १ सय थान घाँस काट्ने रिपर गत साता अनुदान स्वरुप सहयोग गरेको थियो ।

Advertisement

तिब्बतले लोमान्थाङलाई ५० थान र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई ५० थान गरी १ सय थान घास काट्ने रिपर कोरला नाकासम्म ल्याएर सम्बन्धित पालिकालाई बुझायो । पालिकाले पनि तिब्बती सहयोगमा उपलब्ध घाँस काट्ने रिपर आ—आफ्ना गाउँपालिका कार्यालयमा ल्याइपु¥याए । उत्तरी कोरलाबाट लोमान्थाङ २५ किमी र लोघेकर दामोदरकुण्डसम्मको दुरी ३५ किमी छ ।

राहत स्वरुप निशुल्क उपलब्ध उपकरणमा २ पालिकाले सामान ढुवानी शुल्क लिनुपर्नेमा लोमान्थाङ गाउँपालिकाले चर्को शुल्क असुल गरेको भन्दै स्थानीयले सामाजिक सञ्जाल फेसबुकमा आपत्तिसमेत जनाएका छन् ।

लोमान्थाङ १ का वडाध्यक्ष पेमा आङ्गेल गुरुङले गाउँपालिकाले तोकेको ढुवानी दस्तुरमा वडाले उपकरण वितरण गरेको जानकारी दिए । उनले गाउँपालिकालाई प्राप्त उपरकण वडा÷वडामा १०÷१० थानका दरले गोलाप्रथाद्वारा वितरण भएको उल्लेख गरे ।

वडाध्यक्ष गुरुङले तिब्बतले पछि पनि उपकरण सहयोग गर्ने जनाएकाले पहिलो लटमा पाएकालाई पछि आउनसक्ने उपकरण समेतको ढुवानी जोडेर शुल्क लिएको बताए ।

‘पछि पाउनसक्ने किसानले उपकरण सुविधा लिनबाट बञ्चित हुनुपर्ने भएकाले उनीहरुलाई पछि कुनै शुल्क नलिई उपकरण वितरण गर्ने गाउँपालिकाको योजना अनुसार ढुवानी शुल्क उठाइएको हो,’ उनले भने । गाउँपालिकाबाट गोलाप्रथाबाट पाएको उपकरण केही किसानले नाफा खाएर अरुलाई बिक्री गरेको वडाध्यक्ष गुरुङले दुखेसो सुनाए ।

चिनको स्वशासित क्षेत्र तिब्बतले निशुल्क अनुदान स्वरुप दिएको राहत उपकरण सामग्री ढुवानी भन्दै चर्को शुल्क लिएर लोमान्थाङ गाउँपालिकाले ३ लाख ७५ हजार आम्दानी गरेको छ । पालिकालाई ५० थान घाँसे रिपर ढुवानी गर्न ५० हजार पनि खर्च नभएको स्थानीयको ठम्याइ छ । लोमान्थाङका स्थानीय छिरिङ फेन्जो गुरुङले प्रति थान घाँसे रिपर ७ हजार ५ सय बुझाउने सर्तमा पालिकाले उपकरण किसानलाई हस्तान्तरण गरेको बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्छु भन्ने स्थानीय सरकारले निशुल्क उपकरण बुझाउनुपर्नेमा चर्को शुल्क लिएको उनले बताए । उनले २० किमी सडकको ढुवानीमा १ थान रिपरको ७ हजार ५ सय लिनु न्यायोचित नभएको जनाए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले लोमान्थाङभन्दा ६ हजार ५ सय रुपैयाँ कम मूल्यमा उपकरण पालिकाभित्रका किसान समूहलाई वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कोरलाबाट पालिकासम्मको ढुवानी स्वरुप किसान समूहबाट प्रति उपकरण १ हजार लिएको स्पष्ट पारे ।

अध्यक्ष बिष्टले ५ वडामा ८ घरधुरीका हिसाबले उपकरण समुदायलाई हस्तान्तरण गरेको बताए । ‘हामीले एक हजार ढुवानी वापतको शुल्क लिएर उपकरण दियौं,’ उनले भने, ‘समुदायले त्यसको कसरी व्यवस्थापन गर्छन् त्यो उनीहरुको कुरा हो ।’

उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बती सरकारले उपल्लो मुस्ताङका २ स्थानीयतहलाई बर्सेनि विभिन्न प्रकारका राहत सामग्री दिएर सहयोग पु¥याउँदै आइरहेको छ । चीनले यसै वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग गर्‍यो । उपल्लो मुस्ताङ अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बसोबास गर्ने स्थानीयको सहयोगका लागि खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्री दियो ।

यसअघिका वर्षहरुमा पनि तिब्बत सरकारले उपल्लो मुस्ताङका २ पालिकालाई बर्सेनि खाद्यान्न तथा अतिआवश्यकीय सामग्री सहयोग पु¥याएको थियो । चीनको स्वशासित क्षेत्र तिब्बतले ५ वर्षअघि लोमान्थाङ बजारका लागि ७२ किलोवाट क्षमताको सौर्यऊर्जा उपकरण सहयोग ग¥यो । जसको कारण लोमान्थाङ बजार उज्यालो गाउँको रुपमा परिणत भयो ।

..
चिनको स्वशासित क्षेत्र तिब्बतको झोङ्वा काउन्टीबाट प्राप्त घाँस काट्ने हाते रिपर उपकरण । तस्बिर : टसीढुन्डुक ठकुरी

तपाईको प्रतिक्रिया