आफै संक्रमित आफै डाक्टर म

समाधान संवाददाता २०७७ कार्तिक २३ गते १२:०९

कृष्णमणि बराल

काेभिड–१९ कोरोना संक्रमण भएको ३४ औं दिनमा चाैथाे पटक दिएको पिसिआर रिपोर्ट आइबार नेगेटिभ आएको छ । कोरोनासँगको लडाइँमा आइसोलेसनमा रहँदा स्वास्थ्य लाभको कामना गर्नु हुने, विभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने, घरमै आएर ऊर्जा थप्नु हुने सम्पूर्णमा हार्दिक आभार तथा मुरीमुरी धन्यवाद ।

कोरोनाको उपचार गर्ने डाक्टर संक्रमति स्वय‌ं आफै हो । कोरोना भाइरसको औषधी, खोप अहिले सम्म बनिसकेको छैन् । दीर्घरोगी भए पहिले जुनजुन औषधी सेवन गर्नुहुन्छ त्यो औषधी नियमित सेवन गर्नु नै पर्‍यो । बाँकी औषधी भनेको संक्रमणको बेला जे जे समस्या आइलाग्छन त्यही त्यहीको औषधी प्रयोग गर्ने हो । जस्तै ज्वरो आए ज्वरोको, खोकी लागे खोकीको । कोभिडको औषधी त बनेकै छैन ।

Advertisement

अर्को प्रमुख औषधी भनेको कोरोनालाई परास्त गर्न सक्छु भन्ने आत्मविश्वास, मनोबल उच्च बनाउनु नै हो । नियमित तातोपानीको बाफ लिने, तातो पानी, बेसार पानी, तातो सुप प्रशस्त खानुहाेस् । पौष्टिक खाना, कागती पानी, अदुवा नियमित रुपमा रुटिङ मिलाएर खाने र व्यायाम गरेमा यसलाई सजिलै जित्न सकिन्छ ।

वृद्ध बुवाआमा, बालबालिका र दीर्घराेगीलाई भने स्याहार सुसार र नियमित खानपान मिलाउनु पर्ने हुन्छ । आकस्मिक स्वास्थ्य समस्या जटिल बन्न सक्छ । त्यसलाई ध्यानमा राख्दै सक्ने अवस्था भए घरमै अक्सिजन दिन मिल्ने गरी तयारी गर्दा स्वास्थ्य जटिल बनिहालेकाे अवस्थामा अस्पताल सम्म लग्न सहज हुने छ ।

Advertisement

कोरोनालाई सजिलै जितिन्छ भनेर स्वास्थ्यको ख्याल नगर्ने, अनुशासनमा नबस्ने हो भने कोरोना काल पनि बन्न सक्छ । कतिजनाले रक्सी खाए कोरोना लाग्दैन भन्ने गरेकाे पाइएकाे छ । कोरोना संक्रमितले पनि एक दुई प्याक रक्सी पिए ठीक हुन्छ भन्ने समेत सुनिँदै आएको छ । यसो गर्नु आप्नो स्वास्थ्यमाथि खेलवाड गर्नुहुनेछ ।

होम आइसोलेशनमा रहेका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । अस्पतालमा रहेका बिरामीलाई आकस्मिक रुपमा केही भइहाले स्वास्थ्यकर्मी वा डाक्टर निगरानीमा हुन्छन् तर होम आइसोलेसनमा रहेकाका लागि त्यो सुविधा हुँदैन । त्यसैले श्वासप्रश्वासमा समस्या भएमा वा अरु कुनै जटिल समस्या आएमा तुरुन्तै डाक्टरसँग सम्पर्क गर्नुपर्दछ । कोरोना संगको लडाइँमा रहनु भएका सबैलाई छिटो निको हुनुहोस हार्दिक शुभकामना छ ।

कोरोनालाई यस अघि नै परास्त गर्नु हुने सबैलाई बधाई । तर कोरोना जिते भनेर ढुक्क हुने अवस्था भने छैन् ।

वैज्ञानिकलाई मात्र होइन भगवानलाई समेत तीन छक पार्दै मानव कालकाे रुपमा फैलिएकाे काेरोना एकपटक लागेपछि फेरि सर्दैन भन्ने कुनै वैज्ञानिक आधार अहिलेसम्म छैन । त्यसैले कोरोनालाई जिते पनि पहिलेको जस्तै सर्तकता अपनाएर सुरक्षित रहनुपर्ने छ । सबैले स्वास्थ्यको ख्याल गर्नुहोला । सुरक्षित रहनु होला ।

सबैमा हार्दिक धन्यवाद तथा आभार ।

(बराल अन्नपूर्ण पोस्ट दैनिकका पोखरा संवाददाता हुन्)

तपाईको प्रतिक्रिया