चिसोले उपल्लो मुस्ताङको जनजीवन प्रभावित, पानी बरफ बन्यो

समाधान संवाददाता २०७७ कार्तिक २९ गते ११:५९

एसके थकाली, जोमसोम

हिउँदयामको चिसो मौसम सुरु भएसंगै मुस्ताङको उपल्लो क्षेत्रका स्थानीयको दैनिक जनजीवन अत्यन्तै प्रभावित बन्दै गएको छ ।

गत वर्ष कार्तिकको पहिलो सातामै भारी हिमपात भएको त्यस क्षेत्रमा यसवर्ष भने हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ ।

Advertisement

लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयहरु वर्षेनी हिउँदयाममा खेतीपातीको कामकाज सकेर घुम्ती व्यापार व्यवसायका लागि बेसी झर्ने गर्थे ।

उनीहरु यसवर्ष कोरोना भाईरसको जोखिमका कारण गाउँमा बस्न बाध्य छन् । उनीहरुले एकातिर हिउँदको चिसोको सामना गर्नुपर्नेछ भने अर्कोतर्फ घुम्ती व्यापार गर्न नपाएपछि आर्थिक अभावले दैनिक जिविकोपार्जनमा समस्या पर्नेछ ।

Advertisement

लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदीले त्यसक्षेत्रको जनजीवन चिसोका कारण दिनप्रतिदिन झनै प्रभावित बन्दै गएको बताए ।

उनले चिसो ह्वात्तै बढेसंगै तापक्रम माइनस १५ डिग्रीमा झरेको, नदीनाला, धारा र घरका सेफ्टी ट्यांकी समेत जमेकाले स्थानीयको दैनिक क्रियाकलापमा बाधा पुगेको उल्लेख गरे ।

‘अत्यधिक चिसो बढेकाले स्थानीय घरबाट बाहिर निस्कन समेत समस्या छ,’ उनले भने, ‘चिसोले मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पु-याएको छ ।’

त्यहाँको मुख्य आम्दानीको श्रोत कृषि र पर्यटन व्यवसाय हो । विगत १० महिनादेखि कोरोना कहरले आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति सुन्य छ ।

उनीहरुलाई कृषि व्यवसायमार्फत गरिएको उत्पादनले ६ महिना जीवन निर्वाह गर्न मुस्किल पर्छ ।

वर्षेनी हिउँदयाममा स्थानीय बेसी झरेपछि सुनसान हुने त्यसक्षेत्र चहल पहल छ । बढ्दो चिसोका कारण मानव स्वास्थ्यमा प्रतिकुल पर्ने छ । यसवर्ष गाउँमै बस्न बाध्य बाल बालिकादेखि जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई चिसोले बढी समस्या पार्ने देखिएको छ ।

लोमान्थाङ —५ का स्थानीय टसीआङग्या गुरुङले गतवर्ष भन्दा यसवर्ष अत्यधिक चिसो बढेको बताए ।

उनले चिसो बढेसंगै पानीका सबै श्रोत जमेको उल्लेख गरे । उनले गतवर्ष हिउदँयाम सुरु हुन अगावै घुम्ती व्यापारकालागि बेसी झर्ने गरेतापनि यसवर्ष स्थानीय कोरोना कहरको कारण गाउँमै बस्न बाध्य भएको बताए ।

गाउँमै बस्न बाध्य उनीहरुलाई घुम्ती व्यापार गर्न नपाएपछि आर्थिक संकट आइपर्ने उनले उल्लेख गरे । स्थानीयले चिसो थेग्न बिजुली र इन्धनको अभाव पर्ने भएकाले चिसोबाट जोगिन पशुचौपायाको गुइठा बालेर बस्नु पर्ने अवस्था रहेको उनले जनाए ।

त्यहाँका १८ सामुदायिक विद्यालयको नियमित पठन पाठन चिसो मौसममा पनि सञ्चालनमा रहेको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । कोरोना त्रासका कारण लामो समयदेखि पठन पाठन बन्द रहेका विद्यालयले नेपाल सरकारले निर्देशन गरेको विद्यार्थी सिकाई सहजीकरण कार्यविधि अनुसार पढाईलाई निरन्तरता दिएका छन् ।

वर्षेनी शैक्षिकसत्र सकेर असोज महिनामै घुम्तीका लागि बेसी झर्ने विद्यालयले यसवर्ष कोरोना जोखिमको कारण साविक स्थानमा पढाइ संञ्चालन गरेका छन् ।

शिक्षक, विद्यालय, अभिभावक र स्थानीयतहको सहमतीमा चिसो मौसममा समेत मुस्ताङको उपल्लो भागका विद्यालयहरु सञ्चालनमा आएका छन् ।

तपाईको प्रतिक्रिया