सेवा सुधार भो तर सन्तोषजनक भएन

समाधान संवाददाता २०७५ फागुन १८ गते ८:५३

समाधान संवाददाता

जनप्रतिनिधि आएपछि पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा केही सुधार आएको १ अध्ययन प्रतिवेदनले देखाएको छ । तर सदाचार प्रतिवद्धतापत्रको सूचकका आधारबाट हेर्दा भने सेवा प्रवाह अझै सन्तोषजनक हुन सकेको छैन ।

ट्रान्परेन्सी इन्टरनेसनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) ले गरेको सदाचार प्रतिवद्धता कार्यान्वयन अध्ययन प्रतिवेदनले सेवा प्रवाहमा केही सुधार भएको देखाएको हो । अध्ययनकर्ता प्राडा विकास केसीले महानगरले दिने सेवा प्रति सेवाग्राही सकारात्मक बन्दै गएको बताए । महानगरले गरेको ६ वटा सदाचार प्रतिवद्धताका सूचकमध्ये धेरैजसो सूचकमा सेवाग्राही सन्तुष्ट नभएको पाइएको छ ।

Advertisement

सुनास कास्की र साविक पोखरा उपमहानगरपालिकाले ४ वर्ष अगाडि सदाचार प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी सेवा प्रवाहमा सुधार ल्याउने प्रतिवद्धता गरेका थिए । २०७० भदौ ३० गते गरिएको प्रतिवद्धतापत्रमा जवाफदेहिता, पारदर्शिता, सदाचार प्रर्वद्धन तथा सेवा प्रवाहको सरलीकरण, गुनासो व्यवस्थापन, कानुनी शासनप्रतिको कटिवद्धता र सार्वजनिक खरिद प्रक्रिया पूर्ण कार्यान्वयन गर्ने उल्लेख छ । अध्ययनकर्ता केसीले महानगरले दिएको सार्वजनिक सेवा प्रवाह, गुनासो व्यवस्थापन, खरिद प्रक्रियाको बारेमा सेवाग्राहीको धारणा अध्ययन गरेको बताए ।

‘सदाचार, परिणाममुखी सेवा, भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास, प्राकृतिक न्यायको सिद्धान्त अनुरुपको निर्णय, आचारसंहिताको पालनाको बारेमा अध्ययन गरिएको थियो,’ प्राडा केसीले भने, ‘महानगर कार्यालयबाट विगतमा गरिएको प्रतिवद्धता अनुसार काम हुन सकेको छैन ।’ प्राडा केसीले महानगरको कार्यलयबाट प्रदान गरिंदै आएको सेवामा ढिलासुस्ती हुने गरेकाले चुस्त दुरुस्त बनाउन सुझाव दिए । महानगरको ढिलासुस्तीको मुख्य कारण सफ्टवेयरको समस्या भएकाले मर्मत संहारमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सेवा प्रवाहमा गुणस्तर बढाउन कम्प्युटरमा कार्यरत कर्मचारीलाई तालिम दिन सुझाएका छन् । उनले गुनासो सुन्ने र व्यवस्थापन गर्ने पद्धतिको विकास गर्न आग्रह गरे ।

Advertisement

प्राडा केसीले मंसिर महिनामा गरेको महानगरमा सेवा लिन आउने ६० जना सेवाग्राहीको सुझाव गुनासो र धारणाका आधारमा सदाचार प्रतिवद्धता कार्यन्वयनको बारेमा अध्ययन प्रतिवेदन तयार पारेका हुन् । महानगरको निर्णय प्रक्रियालाई व्यवस्थित ढंगले सार्वजनिक गर्न आग्रह गर्दै प्राडा केसीले निर्णय प्रक्रियालाई वृहत रुपमा लैजान सुझाव दिए । प्राडा केसीले महानगरका वडा तहबाट गुणात्मक अध्ययन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए ।

मेयर मानबहादुर जिसीले महानगरले सबै विषयबस्तु वेबसाइड राखेर सार्वजनिक गरेको बताए । सकारात्मक सोच नभए स्थानीय तहलाई ठीक ठाउँमा ल्याउन नसकिने उल्लेख गर्दै मेयर जिसीले महानगरले हरेक वडातहमा प्राविधिक राखेर सेवालाई विस्तार गरेको जानकारी दिए । महानगरमा केही कर्मचारीबाट लेनदेनको रेकर्ड भएका घटना भएको जानकारी दिदै मेयर जिसीले अनियमिततालाई रोक्ने खालको संरचनाको विकास गर्ने प्रतिवद्धता गरे । उपमेयर मञ्जुदेवी गुरुङले नागरिक समाजसँगको सहकार्यमा सुशासन प्रर्वद्धनमा कार्यक्रम गर्ने बताइन् । उनले न्यायिक समितिसँग सम्बन्धित विषयवस्तुको समेत गुनासो संकलन गर्न सुझाव दिइन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले महानगरको सेवा प्रवाहको अवस्था सुधारोन्मुख भए पनि नागरिक समाजले चित्त बुझाएर बस्ने अवस्था नभएको संकेत गरे । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले १७ जिल्लमा स्थानीय तहमा सुशासन प्रर्वद्धनका लागि अध्ययन अनुसन्धान बढाएको जानकारी दिंदै स्थानीय तहमा कर्मचारीले भन्दा जनप्रतिनिधिले जिम्मेवारी बोध गर्नुपर्ने बताए । कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नागरिक सर्वेक्षणले सेवा प्रवाहमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा सुनास कास्की अध्यक्ष प्राडा वेदनाथ शर्मा, पूर्व अध्यक्ष पुण्य पौडेल, सचिव रवीन्द्र बास्तोला, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखरा संयोजक विष्णुप्रसाद बराल, नागरिक समाज पोखरा पूर्व संयोजक रामबहादुर पौडेल, गैसस महासंघका गण्डकी प्रदेशका अध्यक्ष विना सिलवाल, पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया