अब लिफ्टबाट विन्ध्यवासिनी, उद्घाटन गर्न राष्ट्रपति आउँदै

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:०४

समाधान संवाददाता

विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट चढेर जान पाइने भएको छ । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं शारीरिक अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

जेठमा शिलान्यास भएको उक्त लिफ्ट ६० फिट अग्लो छ । श्रेष्ठका अनुसार लिफ्टमा एकैचाटीमा १० जनासम्म चढ्न तर ६ जनासम्ममात्रै चढ्न मिल्ने गरी व्यवस्थापन गरिने छ । लिफ्ट ६ सय ८० भार क्षमताको छ । उक्त लिफ्ट व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्सले संयुक्त लगानीमा बनेको हो । लिफ्ट १ करोड रुपैयाँमा बनेको सचिव श्रेष्ठले जानकारी दिए ।

Advertisement

विन्ध्यवासिनी मन्दिरमा दैनिक करिब ३ हजार जनाले भ्रमण-दर्शन गर्ने व्यवस्थापन समितिको भनाइ छ । ‘लिफ्ट निर्माण नहुँदा जेष्ठ नागरिक र अशक्त, अपांगलाई गाह्रो थियो । तर, अब उनीहरुको पहुँचमा मन्दिर पुगिसकेपछि अझै दर्शनाभिलाषी बढ्ने अपेक्षा गरेका छौं,’ श्रेष्ठले भने ।

श्रेष्ठले हाललाई जेष्ठ नागरिक र शारीरिक अपांगलाईमात्रै लिफ्टको निशुल्क व्यवस्था गरेपनि पछि सबैलाई व्यवस्था गर्दै जाने बताए । उनले लिफ्टको तलमाथि दुवैतर्फ २०-२० जना बस्न मिल्नेगरी प्रतिक्षालय पनि बनाइएको जानकारी दिए ।

Advertisement

लिफ्ट उद्घाटन गर्न राष्ट्रपति आउँदै
विन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्ट उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने भएकी छिन् । उनले बिहान लिफ्टमा रहेको शिलापत्र अनावरण गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

‘उहाँ लिफ्टको उद्घाटनपछि शिव मन्दिर, विन्ध्यवासिनी मन्दिर, गणेश मन्दिरमा पूजा तथा दर्शन गर्नुहुनेछ,’ श्रेष्ठले भने, ‘त्यसपछि ३ जेष्ठ नागरिकलाई सम्मान गरेर सम्बोधन गनुहुनेछ ।’ उद्घाटन समारोहमा जेष्ठ नागरिक जयलाल आचार्य, चन्द्रकला पौडेल र कवि विजय वजमयीलाई सम्मान गर्ने समितिले योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया