१० हजार घन्टामा निपुर्ण भइन्छः चित्रकार

समाधान संवाददाता २०७५ फागुन २५ गते १४:५८

समाधान

सामाजिक उद्यमी अनिल चित्रकारले सोचाइको बोर्डर क्रस गर्ने बेला आएको बताएका छन् । संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचन पश्चात जनप्रतिनिधिले काम गरिरहेको र अहिले उद्यमशीलताका लागि वातावरण उपयुक्त रहेको उनको भनाइ छ ।

लेकसाइडस्थित होटल स्नोल्यान्डले सञ्चालन गर्दै आएको कार्यक्रम क्रस दी बोर्डरमा बोल्दै चित्रकारले उद्यमशीलताका लागि आवश्यक गुण र क्षेत्रबारे व्याख्या गरे । स्वदेशमा केही नगर्ने तर विदेशमा जे पनि गर्न तयार हुने नेपालीको बानी हट्नुपर्ने भन्दै उनले स्वदेशमै उद्यमी बन्न सकिने बताए ।

Advertisement

बोर्डर क्रस गर्न र उद्यमी बन्न उनले ३ वटा उपाय सुझाए । पहिलो आफ्नोबारे आफैले निर्णय गर्न सक्नुपर्ने भन्दै स्वनिर्णय गरेर अघि बढ्नुपर्ने बताए । कुर्नै पनि क्षेत्रको सफल व्यक्तिले सुरुमै १० हजार घन्टा खर्च गर्ने गरेको भन्दै उनले उद्यमी बन्न र बोर्डर क्रस गर्न अरुको नियन्त्रणमा रहन छाड्नुपर्ने बताए ।
चित्रकारले सुझाएको दोस्रो उपायमा कुनै पनि क्षेत्रमा उद्यमी बन्न रुचि चाहिने बताए । ‘हरेक व्यक्ति एउटा न एउटा विषयमा दखल राख्ने हुन्छ,’ उनले भने, ‘आफूमा रुचि भएको विषयमा १० हजार घन्टा लागे निपुर्ण भइन्छ ।’

यस्तै, तेस्रो उपायमा उद्देश्य सही हुनुपर्ने बताए । जीवनमा केही न केही गर्छु भन्ने उदेश्य मान्छेहरुमा हुनुपर्ने भन्दै उनले यस्तो उदेश्य समाजका लागि सही हुनुपर्ने बताए । यी ३ वटा उपायमा हिँड्न सके जो कोही पनि उद्यमी बन्न सक्ने र बोर्डर क्रस गर्न सक्ने चित्रकारको भनाइ छ ।

Advertisement

प्रेरणादायी प्रवचन (मोटिभेसनल स्पिच) मा समेत ख्याति कमाएका चित्रकार १९९३ मा डाभोसमा भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा संसारभरका १०० ग्लोबल लिडर्स फर टुमरो घोषित भएका थिए ।

कार्यक्रममा बोल्दै चित्रकारले उद्यमशीलताको प्रकृति नबुझ्दा कतिपयले आफूलाई निराश पारेको बताए । केही पनि परिवर्तन नै भएको छैन भन्ने सोचाइले मानिसमा फ्रस्टेसन आउने हो, उनले भने पछिल्लो १०० वर्षमा धेरै परिवर्तन आइसक्यो ।

उनले अबको ५ वर्षपछिको मानिसका आवश्यकता र रुचि नै फरक हुने र अहिले नै निर्धारण गर्न नसक्ने गरी दु्रत गतिमा परिवर्तन भइरहेको उनको भनाइ छ । नेपाल विकाशील देशका रुपमा रहेको भन्दै उनले यहाँ व्यापार, व्यवसाय र उद्यमशीलताका क्षेत्र पनि व्यापक रहेको बताए ।

अझै करिब १५ वर्षसम्म नेपालमा भौतिक पूर्वाधार निर्माण सबै भन्दा ठुलो लगानी हुने भन्दै यसबाट फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ । अहिले नेपालमा सबै भन्दा धेरै पैसा निर्माण आउँदैछ,’ उनले भने, ‘निर्माण व्यवसाय मार्फत फाइदा लिन सकिन्छ ।’

यस्तै, शिक्षा र स्वास्थ्यमा ठूलो लगानी र बजार रहेको उनले बताए । नेपाल औषधी उत्पादनमा आत्मनिर्भरको बाटोमा रहेको बताउँदै चित्रकारले भने, ‘यहाँबाट पनि उद्यमशीलताको विकास गर्न सकिन्छ ।’

यस्तै, पर्यटन, उर्जा, कृषि लगायत क्षेत्रमा पनि उत्तिकै धेरै सम्भावना रहेको भन्दै यसैमा केन्द्रित भएर उद्यमशीलताको विकास गर्न सकिने धारणा राखे । समाज र देशलाई पनि फाइदा पुग्ने गरी काम गर्नुपर्ने भन्दै उनले सामाजिक उत्तरदायित्वले व्यवसाय र ब्रान्डको प्रवर्तन गर्ने बताए ।

अशोका फेलो रहेका चित्रकार इन्भारोन्मेन्टल क्याम्प्स फर कन्जरभेसन अवेरनेसका संस्थापक र हिमालयन क्लाइमेट इनिसियटिभका सहसंस्थापक हुन् । चित्रकारले हाल हिमालमिडियाले प्रकाशन गर्ने नेपाली टाइम्स अंग्रेजी साप्ताहिक पत्रिकामा नियमित स्तम्भ समेत लेख्छन् । उद्यमशीलता जगाउन क्रस दि बोर्डर कार्यक्रम गर्दै आएको होटलका गणेशबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया