उपभोक्ता मूल्य चर्काे तर व्यापारी विस्थापित !

सञ्जय रानाभाट २०७८ भदौ १४ गते ११:५०

सञ्जय रानाभाट
पाखरा- बागलुङका रामप्रसाद कँडेल २३ वर्षअघि पोखरा आए । तरकारी बेच्न थाले । पृथ्वीचोकमा रहेको मन्डीमा उनले सटर पाए । मन्डीमै व्यापार गर्न लागेको २ दशक पुग्यो । परिवार चितवनमा भए पनि उनी पोखरामा एक्लै बसेर व्यापार गरिरहेका छन् ।


व्यापार भने उँभो लाग्न सकेको छैन । कोरोनाका कारण दिनहुँ व्यापार खस्कँदो छ । भन्छन्, ‘कोरोना आएपछि व्यापार छैन । दिन बिताउनै गाह्रो भयो । राखेको तरकारी पनि बिक्री हुँदैन । सबै कुहिएर फाल्नपर्ने अवस्था छ ।’


२ वर्षपहिले व्यापार राम्रो हुन्थ्यो । अहिले उनको व्यापार डामाडोल छ । तरकारी बिहानै ३ बजेदेखि नै तानातान हुन्थ्योे । अहिलेचाहिँ बेलुकासम्म बस्दा पनि तरकारी बिक्री हुँर्दैन । पहिलो लकडाउनमा उनले २० दिन पसल बन्द गर्नुपरेको थियो । अहिले कोरोना संक्रमण दर बढिरहे पनि व्यापार भने खोलेका छन् । कोरोनाको डर त छ, तर त्यो भन्दा ठूलो भोकको डर उनीसँग छ ।

Advertisement


कँडेल भन्छन, ‘कोरोनाले धेरै साथी इस्टमित्र गुमाएँ । अहिले पनि जोखिमसँगै जुध्दै व्यावसाय सञ्चालन गरेका छौं तर व्यापार नै छैन ।’ महामारीभन्दा पहिले मासिक ३० हजारसम्म नाफा हुन्थ्यो । अहिले भने लगानी नै नउठ्ने अवस्था छ । सबै कहिएर फाल्नुपर्दा उल्टो घाटा व्यहोर्नुपरेको छ ।


यस मन्डीका केही सटरका व्यवसायी विस्थापित भएका छन् । घरीघरी कँडेललाई पनि व्यवसाय बन्द गरिदिऊँ जस्तो लाग्छ । तर आँट््न सकेका छैनन् । ‘व्यापार नै चल्दैन । कति दिन भाडा तिरेर बस्ने । किनेको तरकारी बिग्रिएर फाल्ने अवस्था छ,’ उनले भने ।

Advertisement


कँडेलले भारत, चीन, धादिङ, नुवाकोट, वीरगन्ज, बुटवलसहित कास्कीको लामाचौर, हेमजा, बाटुलेचैर, माछापुच्छे« गाउँपालिका, अन्नपुर्ण गाउँपालिकाबाट तरकारी ल्याएर बेच्ने गरेको सुनाए ।


महामारीको समयमा पनि पोखरामा तरकारीको मूल्य चर्को भएको भन्दै चर्को विरोध भइरहेको छ । तर यसमा व्यवसायीको हात नरहेको उनको दाबी छ । ‘अहिले बाहिरी जिल्लाबाट आउने तरकारी महँगो भएका छन् । सम्पूर्ण रुपमा गाडी चलेका छैन्,’ उनले भने, ‘हामीले सिधै किसानबाट किन्न सकिँदैन । तरकारी सप्लायर्सबाट किन्दा महँगो पर्छ ।’


पर्साका विष्णु चौधरी पनि ग्राहक आउने बाटो हेर्दै बसेका छन् । दिनभरी सटर कुरेर बस्न उनलाई दिक्दार लाग्छ । २०६१ देखि नै कृषि बजारमा पसल चलाएका उनको अहिले व्यापार शून्यप्रायः छ । अहिले स्थानीय उत्पादक पनि सिधै कृषि बजार नआउने उनी सुनाउँछन् ।


‘सिधै मन्डीमा आउँथ्यो । सबैले मन्डीबाटै आएर बेच्ने र किन्ने अवस्था थियो । अहिले भने कृषकले मन्डीमा भन्दा सिधै पसल पसलमा बेच्ने गरेका छन्,’ उनी सुनाउँछन् ।
पोखराको मन्डी बजारमा अहिले ६३ तरकारीका सटर छन् । सबै ग्राहक आउने आशमा बाटो कुरेर बसेका छन् । बिहानै ३ बजेदेखि नै भिड हुने यो बजार अहिले सुनसान जस्तै छ ।


पोखरामा स्थानीय उत्पादनले ४० प्रतिशत तरकारीको माग धानेको कृषि बजार व्यवस्थापन समितिका निमित्त व्यवस्थापक महेन्द्र सिंहले बताए । बाँकी तरकारी भने भारत, चीन तथा देशका अन्य जिल्लाबाट आउने उनले बताए । अहिले पोखराले गोलभेंडा, करेला, लौका, घिरौंला, हरिया फर्सी लगायत तरकारीले माग धानेको उनी बताउँछन् ।


स्थानीय उत्पादन वृद्धि हुँदा पनि पोखराको बजार मूल्य भने चर्को छ । तरकारीमा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । तरकारीमा संलग्न बिचौलिया र वितरकले किसानसँग सस्तोमा किन्ने र चर्कोमा बेच्ने गरेको पाइएको छ । मूल्य चर्को भए पनि सरकारतर्फबाट कुनै अनुगमन भएको देखिँदैन ।


स्थानीय सरकार आएपछि अुनदानमार्फत १ घर, १ टनेल गाउँ गाउँमा पु¥याएको थियो । पोखरामा २०७७÷७८ मा मात्र २९ हजार टन तरकारी र आलु, प्याजमात्र ९ हजार टन माग भएको छ । पोखरामा तरकारीको मागमा कुनै घटीबढी नभएको सिंह बताउँछन् । भन्छन्, ‘महामारीको समयमा पनि तरकारीको माग उत्तिकै छ ।’


शान्ति वन वाटिकाभित्र रहेको मन्डीका १ सय ५५ स्टलमध्ये ६३ वटा तरकारीका छन् । तर तरकारीका सटर छोड्नेहरु बढेको उनी बताउँछन् । कोरोनाको हटस्पट बन्ने आकलनका साथ मन्डीका व्यवसायीले अहिले खोप लगाइसकेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया