छिट्टै स्कुल खोल्छौंः आचार्य
समाधान संवाददाता
पोखरा- नेसनल प्याब्सान कास्कीको आयोजनामा छैटौं जिल्ला स्तरीय चित्रकला प्रतियोगिता भएको छ ।
नेसनल प्याब्सान कास्की आवद्ध विद्यालयका २५ विद्यार्थी सहभागी रहेको उक्त प्रतियोगितामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ शीर्षकमा चित्र बनाउन दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए ।
भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमन्ड मोडल स्कुलका आयान इकुवल प्रथम, कास्की मोडनाइज्डका मानस तामाड्ड द्वितीय, सिद्धार्थ लबडेलका आशीष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भए ।
विजयी विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरिएको थियो । प्रतियोगिताका निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजिजु थिए । कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले छिट्टै नै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
‘भौतिक रुपमा विद्यालय सञ्चालन गर्न हामीले धेरै प्रयास थालेका छौं, तर रिजल्ट आउन सकेको छैन’ उनले भने, ‘कोरना संक्रमण दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटीमा हामी छिट्टै नै स्कुल सञ्चालन गर्ने तयारीमा छौं ।’गण्डकी प्रदेशकै राजधानी कास्की भएकाले यस प्रदेशका बिरामी उपचार गर्न कास्कीमा नै आउँदा कास्की रेडजोनमा परेका कारण नै विद्यालय सञ्चालन गर्न नसकेको उहाको भनाइ छ ।
नेसनल प्याब्सानले विभिन्न विधामा प्रतियोगिता राखेर विद्यार्थीका फरक फरक क्षमतालाई प्रस्फुटन गर्ने काम गरेको बताउँदै उनले यसलाई निरन्तरता दिन आग्रह गरे । नेसनल प्याब्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराइले भौतिक उपस्थितिमा नै प्रतियोगिता गरेर उदाहरणीय कार्य गरेको बताए ।
चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा ईंट्टा थप्ने काम गरेको बताए ।
संस्थाका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामबहादुर मोची, अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसी र सदस्य शिवराज पौडेलले बोलेका थिए ।
तपाईको प्रतिक्रिया