फिर्केपुल निर्माण अघि बढेकै हो ?

ठेकेदारले काम त सुरु गरे, तर कामको गति कछुवाचाल छ

सञ्जय रानाभाट २०७८ कार्तिक १० गते १२:३१


पोखरा ।
सिद्धार्थचोकबाट फिर्केखोला हुँदै गाडी लिएर पस्र्याङ जान मिल्दैन । डेढ वर्षदेखि यो बाटो बन्द छ । स्थानीय र निर्माण कम्पनीबीच विवाद हुँदा सुरु भएको पुल निर्माण लामो समय रोकियो र बाटो छेकियो । अहिले भने फेरि पुल निर्माण अहिले भने अघि बढेको देखिएको छ ।

१५ महिनामा सक्ने गरी निर्माण कम्पनीसँग २०७६ साउनमा पोखरा महानगरपालिकाले पुल निर्माण ठेक्का लगाएको थियो । पुल निर्माणको जिम्मा शान्ति आरोग्य जेभीले ४ करोड ५५ हजारमा पाएको हो । ठेकेदार कम्पनीले पुलका लागि फाउन्डेसन तयार ग¥यो तर निर्धारित समयमा काम पूरा गर्न सकेन । सम्झौता अवधिमा काम नसकिएपछि ६ महिना म्याद पनि थपियो । थपिएको ६ महिने अवधि पनि गएको जेठमै सकिएको छ ।

अहिलेसम्म पुल निर्माणको काम ६० प्रतिशतमात्र सकिएको पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाले बताउँछन् ।
शुक्रबारदेखि काम थालेको ठेकेदारले जेसिबी चलाएर हेन्डपाइप हालिसकेको छ । महानगरपालिकाको साथ पाएर नै अहिले कामअघि बढेको कम्पनीका प्रतिनिधि रामनारायण यादवले जानकारी दिए । ‘अब काम सुरु भएको छ । माघभित्र पुल महानगरपालिकालाई हस्तान्तरण गर्छाैं,’ उनले भने, ‘अहिले कम्पनीले स्ल्याब, एप्रोज ओक र मेसिनको काम हुँर्दै छ । दैनिक १० जना पुलमा काम गरिरहेको छौं ।’ १ दिन काम गरेपछि ५ दिन काम नगरी बस्नुपर्ने भएपछि काम पूरा गर्न नसकेको उनको सुनाए ।

Advertisement


पछिल्लो समय अख्तियार कार्यालय पोखरा र नागरिक समाजको ध्यानाकर्षणपछि शुक्रबारबाट निर्माण कम्पनीले काम थालेको छ । नागरिक समाजका अगुवा रामबहादुर पौडेल हरेक समस्याको समाधान वार्ता र छलफल मार्फत समाधान गर्न सकिने भएकाले अब यो वा त्यो बहानामा निर्माणमा बाधा अड्चन नपु¥याउन सबैमा आग्रह गरेका छन् ।


काम गर्दा स्थानीयहरुको अवरोध नभएर काम छिट्टै सक्ने यादवले बताए । भन्छन्, ‘अहिल हामीहरुको म्याद थप गर्ने प्रोसेसमा छौं । महानगरपालिकाले म्याद थप गरेको समय सीमाभन्दाअघि नै काम सक्ने उनले बताए ।

Advertisement


महानगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिनाले भने ठेकेदार कम्पनीले काम रफ्तारमा काम गरेमात्र म्याद थप्ने नत्र कारबाही गर्ने बताए । ‘ठेकेदार कम्पनीलाई समयमै कम सक्न निर्देशन दिइरहेको छ । अब पनि काम रोक्न बाहाना झिके कारबाही अगाडि बढ्छ,’ उनले भने ।


महानगरपालिकाले कारबाही ग¥यो भने ठेकेदार कम्पनीले दैनिक कुल रकमको ० प्रतिशत ०५ प्रतिशत दस्तुर जरिवाना तिर्नुपर्ने हुन्छ । यसरी हिसाब गर्दा दैनिक जरिवाना २२ हजार रुपैयाँ पर्न आउँछ । कारबाहीमा पर्ने डरले पनि ठेकेदार कम्पनीले काम थालेको स्थानीय बताउँछन् । महानगरपालिकाले भने काम राम्रो गर्दै गए ६ महिना म्याद थपको लागि महानगरपालिकाबाट प्रोसेस गरिदिने तिमिल्सिनाले सुनाउँछन् । भन्छन्, ‘कामको रफ्तार हुनुप¥यो । महानगरपालिकाबाट सक्दो सहयोग हुन्छ ।’


महानगरपालिका ४ का अध्यक्ष शंकर बास्तोलाले भने ठेकेदार कम्पनी र महानगरपालिकाले हेलचक्र्याइँका कारण पुल निर्माण ढिला भएको बताए । ‘म्याद सकिनु भन्दा अगाडि नै महानगरपालिकाले ठेकेदार कम्पनीलाई कारबाही गर्नुपथ्र्यो । यस्मा महानगरपालिकाको चुक्यो । पुल नबनेपछि स्थानीयहरुले विरोध गरेको हुन्,’ उनले भने ।

काम गर्दा प्राविधिक कठिनाइ भएपनि महानगरपालिकाले यसको नेतृत्व गर्न नसकेको उनले बताए । ‘वडाको यस्मा केही भूमिका छैन । वडाले सहजीकरण मात्र गर्ने हो । बाँकी काम भने ठेकेदार कम्पनी र महानगरको हो,’ उनले भने । स्थानीयको विरोध सामान्य भएको उनी सुनाउँछन् । ‘काम गर्दै जाँदा स्थानीयहरुको पिरमर्का पनि बुझेर काम गर्नुपर्छ । पुल समयमा नसकिनुमा महानगरपालिका र ठेकेदार कम्पनी जिम्मेवार छन्,’ उनले भने ।
पुल निर्माण अहिले पनि हात्तीको देखाउने दाँत जस्तो भएको बास्तोला बताउँछन् । ‘४ करोडको ठेक्कामा कामदार नै छैनन् । कछुवा गतिमा काम भइरहेको छ । यसरी काम हुँदा महानगरपालिकाले कारबाही गर्नुपर्ने उनले बताए । पछिल्लो समय ठेकेदार कम्पनी र महानगरपालिका वडासँग आफ्नो सम्पर्क नभएको स्थानीय प्रदीप मुल्मीले बताए । स्थानीयहरुलाई क्षति नपु¥याउने गरी काम अगाडि बढाए पुल निर्माणमा साथ सपोर्ट रहने उनी सुनाउँछन् ।


यसअघि स्थानीय र निर्माण कम्पनीबीच विवाद चर्केपछि पुल निर्माण रोकिएको थियो । पुल निर्माणका लागि पिलर बनेपछि वरपर रिटेनिङ वाल लगाउने विषयमा निर्माण कम्पनी र स्थानीयबीच बारम्बार विवाद भएको थियो । कोरोना महामारी र स्थानीयको अवरोध देखाउँदै निर्माण कम्पनीले समयमै काम हुन नसकेको बताउँदै आएको छ ।


निर्माण अवधि सकिएर र म्याद थपिँदासमेत पुल नबनेपछि स्थानीयले दबाब दिएका थिए । असोज १७ गते पुल निर्माणमा ढिला भएको भन्दै सिद्धार्थचोक वरपरका व्यवसायीले सडक नै रोकेका थिए । पोखरा महानगर वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोला र महानगर प्रवक्तासमेत रहेका पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीविरुद्ध स्थानीयले आक्रोश पोखे ।


स्थानीय सरकार विरुद्ध जनता आक्रोशित भएर सडकमा उत्रिएपछि बास्तोला र नेपालीले फिल्डमै पुगेर पुलको काम सुचारु गराउने प्रतिवद्धता गरेका थिए । वडाध्यक्षद्वयले त्यसैदिन ठेकेदार कम्पनीका प्रतिनिधि, महानगरका इन्जिनियर नेत्र तिमिल्सिना, प्रशासन महाशाखाका भरतराज पौडेलसँग पुलको अवस्थाबारे सोधपुछ गरेका थिए ।


वडाध्यक्षद्वयले अग्रसरता लिएपछि त्यसै दिन ठेकदार कम्पनीका प्राविधिक रामनारायण यादवले जेसिबी चलाएका थिए । जेसिबी चलेको ५ मिनेट नपुग्दै स्थानीयले आफूहरुको जमिन धरापमा पर्ने भन्दै विरोधमा उत्रिए । यसपछि फेरि पुलको काम ठम्प बनेको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया