भोक्सिङका सबै घरमा धारा

समाधान संवाददाता २०७५ चैत ८ गते १२:४४

रामकृष्ण लामिछाने
पर्वत

पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङमा वृहत लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएको छ । खानेपानीको चरम समस्या भोग्दै आएका भोक्सिङका बासिन्दालाई खानेपानी उपलब्ध गराउन काउलेखोला लिफ्ट खानेपानी आयोजना सुरु भएको हो ।

आयोजना सञ्चालन भएपछि स्थानीय बासिन्दाले बर्खाको पानी घैंटामा संकलन गर।ी खानुपर्ने बाध्यता हट्नेछ । ‘अहिलेसम्म आकाशेपानीको भर छ,’ स्थानीय बखानसिंह गुरुङले भने, ‘खानेपानी आयोजना आउने खबरले हामी हर्षित छौं ।’ उनले खानेपानी आयोजनाले स्थानीय ४० घरपरिवार लाभान्वित हुने बताए ।

Advertisement

आगामी असारभित्र काम सक्ने गरी लिफ्ट खानेपानी आयोजना निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । आयोजनाको लागत ६२ लाख छ । सबै घरधुरीमा धारा पु¥याउने योजना छ ‘हिउँदका ६ महिना यहाँ खानेपानी हाहाकार हुन्छ,’ पौडेलले भने, ‘अब चाँडै १ घर १ धारा पुर्‍याउने लक्ष्य छ ।’

यसअघि स्थानीयले वर्खाको पानी सिमेन्टको टंकीमा संकलन गरी उपयोग गर्थे । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आयोजना निर्माणका लागि वजेट विनियोजन गरेको हो । कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार २ सय ३० मिटर तलको मुहानबाट १५ हर्ज पावरको पम्पले पानी तानेर वितरण गरिनेछ । सोलार प्रविधिबाट पानी तान्ने योजना छ ।

Advertisement

मुलबाट गाउँसम्म पानी तान्न २०÷२० घनमिटरका २ टंकी निर्माण गरिनेछ । अर्को ४० घनमिटरको टंकीमा संकलन हुने पानी सबै घरमा समान किसिमले वितरण गरिने बताइएको छ । खानेपानीको समस्याले गृहणी महिला आहात थिए । ‘खानेपानीको सपना पूरा हुने कुराले साह्रै खुसी लागेको छ,’ स्थानीय ललिता गुरुङले भनिन्, ‘अब सबेरै उठेर पानीको धारामा लाइन लाग्नु पर्दैन ।’

तपाईको प्रतिक्रिया