बागलुङको काठेखोला गाउँपालिकामा हाेमस्टे सुरु, गाउँले उत्साहित

ताराप्रसाद शर्मा
बागलुङ
घरवास (होमस्टे) कार्यक्रम सुरु भएपछि बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाको ओखलेवासी उत्साहित भएका छन् । गाउँको पर्यटन प्रवद्र्धनमा घरवासले नयाँ आशा जगाएको छ । स्थानीय उत्पादन, संस्कृति र खानपानसहितको सेवा घरवासमा उपलब्ध गराउने योजना गाउँलेको छ । घरवासमा जोडिएका १४ घरमा ४ जनाका दरले पर्यटक राख्न सकिन्छ ।
घरवासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको तयारी भइरहेको बेलढुंगा सामुदायिक घरवासका सञ्चालक समितिका अध्यक्ष टेकबहादुर पुनले बताए । पर्यटनमैत्री हिसाबले कोठा, फर्निचर, शौचालय बन्दै गरेको र छिट्टै विधिवत रुपमा सेवा सुरु हुने तयारीमा रहेको उनको भनाइ छ । होमस्टेमा पारिवारिक वातावरणमा खाना, आवाससँगै पर्यटकले नजिकका पर्यटकीय गन्तव्यस्थल घुम्ने अवसर पाउने छन् ।
स्थानीय उत्पादनलाई पनि घरवाससँग जोडिने घरवास सञ्चालक गोपाल श्रीसले बताए । उनले ओखलेलाई जैविक गाउँ घोषणा गर्ने तयारी रहेको र धम्जाको ओखले आउने पर्यटकलाई स्थानीय खाना खुवाइने सुनाए । यहाँको मुख्य उत्पादन आलु, भाँगो, फापर, मकै र कोदो हुन् । स्थानीय उत्पादन प्रवद्र्धन र बजारीकरणमा पनि घरवासले टेवा पुग्ने विश्वास गरिएको छ ।
समुद्री सतहदेखि २ हजार ३ सय मिटरमा पर्ने ओखले प्राकृतिक हिसाबले पनि मनोरम छ । ओखलेदेखि १ घण्टाको पैदलयात्रामा बेलढुंगा, स्वर्गाश्रमजस्ता पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ भने प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्युटावर) रुपमा चिनिने बेलढुंगाबाट दर्जनौं हिमशृखला देख्न सकिने वडाध्यक्ष यामबहादुर श्रीसले बताए ।
घरवास सञ्चालकले अनुभव र सिकाइका लागि तालिम, भ्रमणमा जाने योजना पनि बनाएका छन् । पर्यटकलाई आकर्षित गर्न खाना, आवास, सरसफाइ, आतिथ्यता लगायतका सेवालाई स्तरीय बनाउने योजना छ । गाउँमा पर्यटन विकास गर्न सके बसाइँसराइ रोक्न सकिने उल्लेख गर्दै वडा अध्यक्ष श्रीसले पर्यटनलाई उद्यमशीलतासँग जोड्न सके गाउँलेको आर्थिक अवस्था उकास्न सकिने विश्वास गरे ।
ओखलेसँगै काठेखोला गाउँपालिकाका ८ स्थानमा घरवास सुरु भएको छ । वडा नं ७ रेशमा चौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक गरी ४ घरवास सञ्चालनको तयारीमा छन् । वडा नं. ५ बिहुँ, थाम्डाँडामा शिवधुरी, वडा नं. ८ लेखानी र वडा नं ४ तग्रामको फापरखेत, झुलेनीमा सामुदायिक घरवास सुरु भइरहेको छ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया