सम्पादकीय: वातावरण संरक्षणको दायित्व

समाधान संवाददाता २०७९ जेठ २३ गते १२:१३

वातावरण सबै प्राणी जगतको साझा सम्पदा हो । वर्तमान अवस्थामा वातावरणीय समस्या प्रमुख रुपमा देखिएको छ । अहिलेको अवस्थामा वायु प्रदूषण, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय विनाश लगायत मानव सिर्जित वातावरणीय समस्या हुन् । मानव समुदायले वन विनाश तथा प्राकृतिक दोहन गरेका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको छ ।

संयुक्त राष्ट्र संघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको अग्रसरतामा जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइरहँदा सरकार तथा सरोकारवाला निकाय वातावरण जोगाउन प्रतिवद्ध भएर लाग्नु आवश्यक छ । वातावरण जोगाउनका लागि वृक्षरोपण, सरसफाइ र आम समुदायलाई वातावरण संरक्षणको चेतना र ज्ञानको विकास र वातावरण संरक्षणमा क्रियाशील बनाउनु पर्छ । ‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकाय एकाकार बन्नुपर्छ ।

विश्वव्यापी उष्णता तथा जलवायु परिवर्तको कारण सबै क्षेत्रमा असर परेको छ । वातावरणीय दृष्टिले हिमाली निकै जोखिममा छन् । हिमाली क्षेत्रमा भइरहेको विभिन्न क्रियाकलापका कारण वातावरणीय जोखिम छ । विभिन्न ताल तलैया, सिमसार क्षेत्रहरु पनि वातावरणीय प्रदूषणको जोखिममा छन् । हाम्रो क्षेत्रको वातावरण संरक्षण गर्ने जिम्मा आम नेपालीको हो ।

Advertisement

नेपालको संविधान अनुसार मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ । वातावरण एक वृहत् विषय भएकाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप र यिनका अवयव तथा तिनीहरुबीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई जनाउँछ । वायु प्रदूषण, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानव सिर्जित वातावरणीय समस्याहरूको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक छ । नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सकेको छैन । त्यस कारण, नेपालमा वातावरणीय समस्याहरू न्यूनीकरण गर्नका लागि वातवारणीय मापदण्डहरू लागू गर्न दबाब दिने र अनुगमन गर्ने एउटा आधिकारिक निकायको आवश्यकता छ ।

वातावरणीय व्यवस्थापनको अवधारणालाई स्थानीय स्तरसम्म पुर्‍याउने, नेपालको जलवायु परिवर्तनका कारण सिर्जित समस्यालाई समाधान गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वय कायम गर्ने र वातावरणीय व्यवस्थापनको प्रभावकारी अनुगमन गर्ने जस्ता कार्यलाई अगाडि बढाउन वातावरण विभागले ध्यान दिनु पर्छ । जल, वायु, जमिन र ध्वनि प्रदूषण लगायतका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको क्षेत्रमा आवश्यक योजना बनाउँदै देशको गुणस्तरयुक्त वातावरण कायम राख्न र प्रवद्र्धन गर्न सहयोग पुग्ने कामअघि बढाउन ढिलाई गर्नु हुँदैन । आउँदो पुस्तालाई स्वच्छ वातावरण सहितको नेपाल हस्तान्तरण गर्ने जिम्मेवारीतर्फ सबै सचेत बन्न आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया