नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुने

समाधान संवाददाता २०७६ वैशाख ११ गते १४:३७

समाधान सम्वाददाता, नेपालगञ्ज ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुने भएको छ । जारी राष्ट्रिय प्रतियोगिताको समापन समारोहमा नै आगामी राष्ट्रिय प्रतियोगिताका लागि झण्डा दिनु पर्र्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको नियम छ । सोही अनुसार राष्ट्रिय खेलकुद परिषदले नबौं प्रतियोगिता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको हो ।

बुधबार साँझ नेपालगञ्जमा जारी आठौं राष्ट्रिय प्रतियोगिता समापन हुँदैछ । सोही समारोहमा क्ष्ोत्रीय खेलकुद विकास समिति गण्डकी प्रदेशका प्रमुख सम्पन्न श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा बोक्नेछन् । “हो झण्डा हामीले बोक्दैछौं । मतलब नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुनेछ ।’ क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले खुशी हुँदै समाधानसंग भने ।

पोखरामा पछिल्लो पटक २०४२ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । त्यस यता पटक पटक प्रस्ताव गरेपनि आयोजना गर्ने मौका दिइएको थिएन । आठौं प्रतियोगिता पनि पोखरामा गर्ने गरी तत्कालिन क्षेत्रीय अध्यक्ष खगराज अधिकारीले दावेदारी प्रस्तुत गरेका थिए । तर त्यो बेलामा पश्चिम तिर कै खेलकुद मन्त्री भएका कारण नेपालगञ्जलाई झण्डा दिइएको थियो । पूर्वाधार विकासमा ज्यादै कमजोर नेपालगञ्जको आयोजना निकै आलोचित बनिरहेको छ ।

Advertisement

गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने भएपछि यहाँको भौतिक पूर्वाधार विकासमा ठुलो बजेट आउछ । यसले पोखरा र आसपासमा खेलकुद पूर्वाधार विकासमा सहयोग पुर्याउनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया