कास्कीमा ३ सय ५० टन माछा उत्पादन

समाधान संवाददाता
पोखरा
कास्कीमा ७ सय टन माछाको माग छ तर कास्कीमा वार्षिक ३ सय ५० टन माछाको उत्पादन हुन्छ । बजार मागको ५० प्रतिशतमात्र कास्कीमा उत्पादन हुन्छ । पाँचौं बेगनास माछा महोत्सव तथा कृषि व्यापार मेला २०७६ को जानकारी दिन आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख अग्नि नेपालले वार्षिक ३ सय ५० टन माछा चितवन लगायत स्थानबाट आयात हुने बताए । होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समिति कास्कीले जेठ १३ देखि २० गतेसम्म महोत्सव आयोजना गरेको छ । केन्द्रका प्रमुख नेपालले कास्कीमा फेवा, बेगनास र रुपामध्ये रुपातालमा सबैभन्दा बढी प्रतिहेक्टर ५ सय ५७ केजी माछा उत्पादन हुने जानकारी दिए ।
उनका अनुसार फेवामा प्रतिहेक्टर १ सय १९ केजी र बेगनासमा प्रतिहेक्टर ५० केजी माछा उत्पादन हुन्छ । यसवर्ष रुपामा माछाको उत्पादन बढेको छ । गतवर्ष रुपामा ४० टन माछा उत्पादन भएकोमा यस वर्ष ५६ टन उत्पादन भएको छ । फेवामा गत वर्ष ६० टन माछा उत्पादन भएकोमा यस वर्षमात्र साढे ५२ टन उत्पादन भएको केन्द्र प्रमुख नेपालले जानकारी दिए । बेगनासमा गत वर्ष १४ टन माछा उत्पादन भएको थियो । यस वर्ष बेगनासमा १६ टन माछा उत्पादन भएको छ ।
कुल क्षेत्रफलमध्ये ४ सय १३ हेक्टर पानीले ओगटेको फेवामा २३ स्थानीयसहित ३० प्रजातिका माछा पाइन्छ । कुल क्षेत्रफलमध्ये ३ सय २८ हेक्टर पानीले ओगटेको बेगनासमा २३ देखि २५ प्रजाती माछा पाइने केन्द्र प्रमुख नेपालले जानकारी दिए । उनले १ सय ३५ हेक्टर क्षेत्रफल पानीले ओगटेको रुपामा २३ देखि २५ प्रकारका माछा पाइने उल्लेख गरे ।
‘सामूहिक रुपमा सहकारीमार्फत गरिएको माछापालन व्यवसाय प्रभावकारी भएको छ,’ उनले भने, ‘सहकारीको मोडल अत्यन्तै उपयुक्त छ ।’ स्थानीय जातका माछाको संरक्षण र उत्पादनमा बढावा दिनुपर्ने उल्लेख गर्दै उनले वातावरणीय प्रभावको कारण वाम माछा हराउँदै गएको जानकारी दिए । पछिल्लो समय काँडे माछा रुपामा नभेटिएको उनको भनाइ थियो ।
जिल्ला मत्स्य व्यवसायी समिति कास्कीका अध्यक्ष दयाराम तिवारीले कास्कीमा ताल खोला बाहेक ५ सय व्यवसायीले माछा पालन गरेको जानकारी दिए । उनले कास्कीमा १ सय १ निजी माछा पोखरी रहेको बताए । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका पूर्व अध्यक्ष तथा प्रचार प्रसार संयोजक दामोदरभक्त थापाले पर्यटन प्रबद्र्धनका लागि गरिने महोत्सवमा माछाका अलावा मह, कफी र जडिबुटीको प्रदर्शनी र बिक्री गरिने जानकारी दिए ।
गण्डकी प्रदेश स्तरीय दोहोरी गीत, डुंगा तथा पौडी प्रतियोगिता लगायतका गतिविधि हुने महोत्सवको ४० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा ४० व्यापारिक स्टल रहनेछन् । महोत्सव सञ्चालनका लागि २५ लाख खर्च र २८ लाख आम्दानी गरी ३ लाख बचत गर्ने लक्ष्य लिइएको होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारी, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बराल, इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँड, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका महासचिव वीरभद्र कँडेल, महोत्सवका आर्थिक संयोजक दुर्गाप्रसाद अधिकारी लगायतले महोत्सवबारे जानकारी गराए । बेगनास युवा क्लब र बेगनास महिला समूहको सहआयोजना महोत्सव हुन लागेको हो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया