टुक्रे योजनाले विकासमा बाधा

समाधान संवाददाता २०७६ जेठ २१ गते ११:४८

राकेश शर्मा
म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई भएको छ ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी स्थानीयबासीले दरबन्दी अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार, टुक्रे योजना कटौती, व्यवसायिक कृषि र पशुपालनको प्रर्वद्धन, रोजगारी सिर्जना, आयोजना व्यवस्थापन खर्च कन्टेन्जेन्सीको पारदर्शी परिचालन गर्न सुझाव दिएका छन् । उनीहरुले टुक्रे योजनाले गाउँको विकास गर्न नसकेको भन्दै आगामी वर्षदेखि टुक्रे योजना नबनाउन आग्रहसमेत गरेका थिए ।

Advertisement

कार्यक्रममा सहभागीले टुक्रे योजनाले गाउँको विकासमा कुनै परिर्वतन नल्याएको भन्दै अब वडास्तरबाटै वहुवर्षीय योजना बनाउनु पर्नेमा जोड दिए । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले ८ वटै वडामा सार्वजनिक सुनुवाइका क्रममा देखिने किसिमको योजना सञ्चालन गर्न सुझाव पाएको बताए ।

धेरै जनतालाई लाभ पुग्ने, दीर्घकालिन महत्वका योजना छनौट गर्न र कार्यान्वयनमा सघाउन सरोकारवालालाई आग्रह गरे । गाउँपालिकाले यस वर्षदेखि डोजरको प्रयोगलाई पारदर्शी र प्रतिस्पर्धी बनाउँदा राज्यको अनावश्यक खर्च हुनबाट जोगिएको उल्लेख गरे ।

Advertisement

टुक्रे योजना कटौती गरी असारे विकासको अन्त्य गर्न र विकासलाई दीगो, प्रभावकारी र पारदर्शी बनाउन गाउँपालिका प्रतिवद्धता जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले दरबन्दीको तुलनामा २५ प्रतिशत मात्र जनशक्तिले काम गर्नुपर्दा गाउँपालिकाको सेवा प्रवाहमा असर परेको स्विकार गर्दै उपलब्ध जनशक्तिबाट सहज, छिटो, छरितो सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष दिलीपकुमार गर्बुजाले गाउँको विकासमा समुदायको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले वडाका सरोकारवालासँग समन्वय गरेर विकासमा अघि बढाउन खोजेको बताए । कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचन, कृषि प्राविधिक सम्झना खत्री लगायत सहभागिले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया