कास्की निर्वाचन क्षेत्र नम्बर १ मा ३० योजना

समाधान संवाददाता २०७७ मंसिर २२ गते ७:४४

समाधान संवाददाता, पोखरा

निर्वाचन क्षेत्र नम्बर १ कास्कीका प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभाका सदस्यहरु निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/७८को लागि छनोट भएका योजना र विनियोजित बजेट आइतबार सार्वजनिक गरेका छन् ।

प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ३० योजनाका लागि ४ करोडको बजेट सार्वजनिक गरेका छन् ।

Advertisement

उनले पोखरा महानगरका ११ वडाहरुमा ५ देखि १० लाखसम्मका १५ योजनाका लागि १ करोड ५५ लाख बजेट विनियोजन गरेका छन । मादी गाउँपालिकाको लागि १० देखि २० लाखसम्मका ९ योजनाका निम्ति १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

रुपा गाउँपालिकाको ६ योजनाका लागि ८ देखि ५२ लाखसम्मको वजेट विनियोजन गरिएको छ । उनले रुपाको वडा नम्बर ५,६ र ७मा पर्ने रामकोट रामदी सडकका लागि ५२ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

Advertisement

कार्यक्रम अन्तर्गत सडक तथा भौतिक पूर्वाधार निर्माणका योजनाहरु प्राथमिकतामा परेका छन् । उनले सडक निर्माण, स्तरोन्नति तथा ढलान, समाजघर भवन, खेलमैदानलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

‘साझेदारी कार्यक्रम प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा सयुक्त रुपमा गर्ने हो,’ उनले भने, ‘स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा छनौट भएका योजनाका रकम एक रुपैयाँ दुरुपयोग हुन दिँदैनौं ।’

उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमाननस्थल, पोखरा रंगशाला निर्माण लगायतका अभुतपूर्व काम भएको दाबी गरे ।

नेता अधिकारीले गत आर्थिक वर्षमा छनोट भएका मध्ये मादी ६ तप्राङको वन्यजन्तु पार्कका लागि विनियोजन भएको बजेट मुद्दा मामिलाका कारण पूरै खर्च हुन नसेकेर कोभिड कोषमा राखेको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले कास्की निर्वाचन क्षेत्र नम्बर १ (क)मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बजेट सार्वजनिक गरे ।

उनले खोपानी, पँधेरो संरक्षण, पार्क संरक्षण, सामुदायिक वन, सडक पूर्वाधार कृषि उपज संकलन केन्द्र लगायतका २५ योजनाका लागि २ करोड बजेट सार्वजनिक गरेका हुन् ।

उनले पोखरा २७ तालचोकको कृषि उपज संकलन तथा विक्री केन्द्रको लागि २५ लाख, रुपाको शिवचण्डी मोटरबाटोको लागि २५ लाख र रुपाको डेरी तथा कृषि उपज संकलन केन्द्रको लागि २० लाख बजेट विनियोजन गरेका छन् ।

गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले कास्की निर्वाचन क्षेत्र नम्बर १(ख ) २ लाखदेखि २५ लाखसम्मका २२ योजना छनौट गरेको जानकारी दिए ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको कार्यविधिको परिधिमा रहेर कृषि, पर्यटन क्षेत्रमा २५ प्रतिशत बजेट विनियोजन गरेको उनले उल्लेख गरे । उनले २ करोडको बजेटबाट पोखरा १४ कदम खानेपानी योजनाको लागि २५ लाख, पोखरा ३१को स्याङखुदी कँडेल गाउँ डुङखोला पुलको लागि २५ लाख बजेट विनियोजन गरेका छन् ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सबै योजनाहरुको पुस मसान्तसम्मा सम्झौता गर्नु पर्ने बताए ।

उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जानकारी गराएर सिधै सम्बन्धित पालिकाको खातामा जाने जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले कार्यक्रम अन्तर्गतका योजनाहरुले उत्पादनमूलक र आयआर्जनमा टेवा पुग्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया