तमु भाषाकाे अलमल

समाधान संवाददाता २०७५ पुष १८ गते ११:३१


विष्णु गुरुङ ‘एकता’
मनमा लामो समयदेखि एउटा कुराले ठाउँ लिइनै रह्यो । हटाउने मौका खोजे तर झन् ठूलो भएको महसुस भयो । तमु भएको हैसियतले नर्देंन क्यालिफोर्निया तमु समाज मेरो नेतृत्वमा गठन भयो । मेरो विचारमा तमु सामाजिक संस्थाहरुको उद्देश्य ठाउँ अनुसार केही फरक भएता पनि एउटा उद्देश्य लोप हुँदै गइरहेको तमु भाषा संस्कृतिको संरक्षण र विकास गर्नु हो ।
विदेशी भूमिमा ल्होसारको आयोजना गर्दा पहिलो साल तमु भेषभूषा लगाउने म मात्रै थिए । यदि आफ्नो संस्कार संकृतिको स्वाद पस्काउन लाज लाग्छ भने ल्होसार मनाउनुको कुनै अर्थ रहँदैन । उल्टो संस्कृतिको अपमान हुन्छ भनेर मैले ल्होसारमा भेषभुषा लगाउन अनिवार्य गरे । फलत उपस्थित पाहुनाहरुले ल्होसारको महत्व बुझ्न र तमु संस्कृतिसँग रमाउने मौका केही मात्रमा भए पनि पाए ।
नेपालमा फर्केर पनि तमु संघसंस्थाबाट आयोजित कार्यक्रमहरुमा सहभागी हुने सौभाग्य मिल्यो । गौरी तमुको निमन्त्रणालाई शिरोपर राखी गुरुङ साहित्य मञ्चद्वारा आयोजित कार्यक्रममा सहभागी भए । ‘तमु भाषाको संरक्षण र विकास’ विषयमा रहेको कार्यक्रममा मञ्चकी सचिव रोशनी तमुबाट नेपाली भाषामा नै मन्तव्य दिनु भयो । म कनफ्युज भए । सायद, तमु भाषा नजानेर होला कि ठाने फेरि पनि आशावादी रहे । सबै वक्ताले आफ्नो भाषा, संस्कृति हराए हामी हराउँछौ, यसको संरक्षण हामीले नै गर्नुपर्छ भनेर बडो मिठास शब्दहरू सजिलो नेपाली भाषामा बोले । कुनै वक्ताले तमु भाषामा बोल्ने आँट राखेनन् । मलाई बोल्ने मौका मिल्यो । मैले आफ्नो छोटो परिचय दिँदै, हामी तमु भाषाको संरक्षण गर्ने विषयमा भेला भएको जस्तो लाग्छ तर आफैले आफ्नो भाषा बोल्ने प्रयास गरेनौ भने कसलाई संरक्षण गर्ने जिम्मा दिने हो त ?
तमु भाषामा भन्न पाउँदा गर्व महसुस गरे । भाषाको एउटा सानो प्रसंगमा मात्र जोड्न खोजेकी हुँ । बहुप्रतिभाकी धनी गौरी र रोशनीप्रति मैलेमात्र होइन सम्पूर्ण तमु समुदायले गर्व गर्छन् ।
धेरै तमु ल्होसार महोत्सवमा जाने क्रममा बौद्ध अर्घौ सदन एवं तमु धिंमा पनि जाने सौभाग्य मिल्यो । तमु भेषभूषामा सजिएकी महिला–पुरुषले साँच्चै नेपालमा तमु भन्ने आदिवासी जाति बस्दा रहेछन् भन्ने आभास मजासँग दिन्छ । तर, जब कार्यक्रम सुरु हुन्छ यी आदिवासी तमुहरुको आफ्नो भाषा भने रहेनछ जस्तो लाग्छ । फेरि भाषा–संस्कृति बचाउनुपर्छ भनेर घोक्रो फुलाएर नेपाली भाषामा भन्दोरहेछन् । तमु भाषाको भुत्ला नै सुन्न नपाउँदा यस्तो कसलाई र किन भनेको होला भनेर उपस्थित सबै अन्योल हुँदा रहेछन्, मपनि भए । ‘कस्तो संसार देख्न चाहन्छौं, पहिला आफू त्यस्तै बन्’ महात्म गान्धीले त्यसै भनेको अवश्य होइन होला ।
सत्य के हो ? आफूसँग भएको कुरा नै अरुलाई दिन सकिन्छ । भाषा नजाने सिक्नुप¥यो । जानेकोले घरमा र यस्ता कार्यक्रममा आफ्नै मातृभाषामा बोल्नुप¥यो । अनिमात्र समय र भाषा संस्कृतिको संरक्षण र इज्जत हुन्छ । भनिन्छ, भाषाले संस्कार, संस्कृति बचाउने मात्र होइन त्यस सभ्यताको भावना बुझ्न र दिमागलाई लाग्ने बनाउन ठूलो मद्दत गर्छ । आधुनिक संसारमा भइरहेको भाषा, संस्कृति अनमोल छन् । यसको संरक्षण र विकासको लागि समुदाय साथै राज्यको पनि उत्तिकै दायित्व हुनुपर्छ ।

तपाईको प्रतिक्रिया