‘टुर दी’ पोखरा केको लागि ?

समाधान संवाददाता २०७५ पुष १८ गते १३:२३

– हप्ताको १ दिन मात्रै हामीले सडकमा सिर्फ साइकल मात्रै चलाउने अभियान गराउन सक्यौ भने पर्यावरण जोगाउन र भूमण्डलीय उष्मीकरणलाई रोक्न मद्दन गर्न सकिन्छ ।
खिम लामिछाने काजी

नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो, पोखरा | प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा दैनिक स्वदेशी र विदेशी पर्यटक यहाँको सुन्दरताको दृश्यपान गर्न आउने गर्छन् । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । यहाँ मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, नदी र झरना प्रकृतिका वरदान हुन । तालैतालको सहर भने चिनिने यहाँ फेवा, बेगनास, रुपा, दिपाङ, खाष्टे, न्युरेनी, गुँदे, मैदी ताललगायत थुप्रै तालतलैया छन् । नेपालमा आएका पर्यटक मध्ये ४० प्रतिशत पर्यटक पोखरा आएकै हुन्छन् । संसारका अग्ला १४ हिमालमध्ये ३ वटा पोखराबाटै देख्न सकिन्छ ।
धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमाल ८ हजार मिटरभन्दा अग्ला चुचुरा हुन् । पोखरामा फरक—फरक स्वादमा घुन्न पाइने ठाउँ छन् । पृथ्वीको गर्भ भित्रै लुक्दै बग्छिन् सेती, सूर्योदय हेर्न सराङ्कोटदेखि, पुरातात्विक संग्रहालय, धार्मिक स्थलहरु, गुफाहरु, पातले छाँगो, धर्तीमुनि लुकेर बग्ने नदी, तालबीचमा बाराही मन्दिर आदि विभिन्न रमणीय स्थल यस सहरमा छन् । पोखरामा हरेक दिन केही न केही भइरहन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साहित्य, कला, खेलकुद, वातावरण तथा सरसफाइ, स्वास्थ्य, प्रकृति कृषि, वनजंगल आदि विविध विषयमा चेतनामुलक कार्यक्रम तथा मेला र महोत्सव भइरहेका हुन्छन् । प्याराग्लाइडिङ, बन्जिजम्प, अल्ट्रालाइट, क्यानोइङ र जिप फ्लाएर जस्ता अनेकौ साहसिक खेलहरु यहाँका आकर्षण हुन् । विगत केही वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्टियस्तरका ट्रायथोलन तथा दुवाथोलन खेलहरु पोखरामा नै हुने गरेका छन् ।
साइकल सिटी पोखराले हरेक वर्ष ‘टुर दी पोखरा’ को आयोजना गर्ने गरेको छ । पर्यटनको विकासमा जोड दिँदै सामाजिक सेवाहरु गर्दै आएको पोखरा महानगरमा छुटै आफ्नो पहिचान बनाउन सफल ‘साइकल सिटी पोखरा’ को मुख्य उद्देश्य भनेको ‘स्वास्थ्य वातावरण र पर्यटन’ हो ।
हिजोका दिनमा साइकललाई गरिबको सवारीसाधन मानिन्थ्यो । तर, आजकल साइकल चड्नुलाई स्वास्थ्य र वातावरणसँग जोडेर हेर्ने गरिन्छ । साइकल चड्नुपर्छ भन्ने जनचेतनाको कमीले गर्दा नै होला कतिपय मानिस मुटु रोग, रक्तचाप, मधुमेह आदि जस्ता रोग लागेको थाहा पाएपछि मात्रै साइकल चड्न सुरु गर्ने गर्छन् । त्यो पनि डाक्टरको सल्लाह अनुसार । साइकल वातावरणमैत्री यातायातको साधन भएकोले, स्वास्थ्य र वातावरणप्रति सजग हुनेहरुले साइकलको प्रयोग गरिरहेका मात्रै छैनन् कि समाजमा सबैले साइकलको प्रयोग गर्नुपर्छ भन्ने चेतना छर्ने कामसमेत गरीरहेका छन् । यसैको एउटा पाटो हो ‘टुर दी पोखरा’ ।
पर्यटन प्रवद्र्धनका लागि पोखरामा ‘टुर दी पोखरा २०१८’ हुँदैछ । ‘र्बन फ्याट नट फ्युल’ अर्थात् इन्धन होइन, शरीरको बोसो घटाऔ भन्ने नाराका साथ संयुक्तरुपमा साइकल सिटी पोखरा र नेपाल आयल निगम मुख्य प्रायोजक रहने गरी यहि पुस १४ गते शनिबारदेखि ‘टुर दि पोखरा’ को चौथौ शृंख्ला आयोजना गरिन लागेको पोखरामा साइकल सिटीका संयोजक प्रकाश बज्राचार्यले बताउँछन् ।
साइकलको माध्यमबाट साइकल पर्यटनको विकास गर्न सकिन्छ भन्ने सोचका साथ पहिलो टुर दी पोखरामा ४ सय ८० भन्दा बढी साइकलयात्रीको सहभागितामा सन् २०१५ सप्टेम्बर २९ गते पोखरा वरपर २८ किमी साइकल ¥याली गरिएको थियो । दोस्रो सन् २०१६ मा ८ सयजना भन्दा बढी साइकल यात्रीको सहभागितामा सप्टेम्बर २९ तदनुसार गते फेवातालबाट बेगनासतालसम्म २८ किमी साइकल यात्रा गरिएको थियो । उक्त अवसरमा ५५ वर्षदेखि एउटै साइकल चलाउने जेष्ठ साइकलयात्री जगतबहादुर रञ्जीतलाई सम्मान गरिएको थियो । दुवै विश्व मुटु दिवसको अवसरमा सम्पन्न भएको थियो । जसको संयोजन साइकल सिटीका निरज थापाले गरेका थिए भने सहयोगी संस्थाको रुपमा जयन्ती स्मृति प्रतिस्ठान रहेको थियो । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ तेस्रो ‘टुर दी पोखरा’ सेप्टेम्बर २३ गते सम्पन्न भएको थियो । जसमा पोखरा वरपर २६.५ किमी साइकल यात्रा हजारौको संख्यामा उपस्थिति थियो । उक्त अवसरमा साइकल व्यवसायी तथा समाजसेवी शिव चालिसेलाई साइकलप्रतिको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको थियो । जसको संयोजन साइकल सिटीका इच्छा कर्माचार्यले गरेका थिए भने जायन्ट साइकल कम्पनीले सहयोग गरेको थियो ।
विगतमा जस्तै यसपाली पनि पोखरा बाहिरबाट धरान, नेपालगञ्ज, काठमाडौ, कैलालीलगायत देशका विभिन्न क्षेत्रबाट टुर दी पोखरामा सहभागी हुन आउँदैछन् । यसपाली पनि साइकल क्षेत्रमा योगदान दिएका पोखरेली व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको सिटीका अध्यक्ष बज्राचार्य जनाए । प्राकृतिक रुपले सिंगारिएको पोखराको पर्यटन प्रवद्र्धन गर्नु नै कार्यक्रमको उद्देश्य रहेको तथा साइकल चढ्दा वातावरण प्रदुषण पनि नहुने र व्यक्ति स्वयं पनि स्वस्थ रहनेबारे जनचेतना जगाउनु पनि कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाइ छ । साइकल सिटी पोखराले साइकल प्रयोग कर्ताहरुको लागि सहरका विभिन्न स्थानहरुमा साइकल स्टयान्ड र साइकल ट्रर्‍याकहरुको निर्माण गरिसकेको र नियमितरुपमा महानगरसँग जोडिएका गाउँमा साइकल यात्राको आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँसँग चिनाउनुका साथै साइकल प्रयोग गर्नको लागि विविध जनचेतनामुलक कार्यहरु गरिरहेको कुरा बज्रचार्यले बताए । स्वस्थ्य वातावरण बनाऔ, स्वस्थ्य जीवन बाचौ अनि बल्ल स्वस्थ्य राष्ट्र बनाउन सकिन्छ भन्ने उनको मान्यता छ ।
नयाँ कार भन्दा नयाँ साइकल किन्न निकै सजिलो र किफायती हुने । कार र मोटरसाइकल किन्नको लागि ब्यांकबाट चर्को दरमा ऋण लिनु नपर्ने । पेट्रोल र डिजेलमा दैनिक खर्च गर्नु नपर्ने, सर्भिसिङ गर्न सजिलो, पार्टपुर्जाहरु खरिद तथा मर्मतसम्भारमा खर्च अत्यधिक कम हुने, सजिलै पार्किङ स्थल उपलब्ध हुने । सबैभन्दा ठूलो कुरा स्वास्थ्य राम्रो हुने, निरोगी हुने । बिरामी भएर डाक्टर, औषधी र अस्पातलमा गरिने खर्च बच्ने जस्ता अनेकै फाइदाहरु छन् । त्यस्तैगरी वायु प्रदुषण, ध्वनी प्रदुषणमा न्युनीकरण गर्न, पर्यावरण प्रदुषित हुनबाट बचाउन र वातावरण सफा सोच्छ राख्न साइकल प्रयोगले अहम भूमिका खेलेको हुन्छ ।
गण्डकी धौलागिरी पेट्रोलिएम डिलर एसोसियसनका अध्यक्ष राजन गोंजका अनुसार, नेपालमा वार्षिक २ खर्बभन्दा माथि पेट्रोलियम पदार्थको खपत हुन्छ । पोखरामा मात्र वर्षको १५ अर्बको इन्धन खपत हुन्छ । एक व्यक्तिले पोखरामा मात्र महिनामा १ लिटर इन्धन बचाए पनि महिनामा २ लाख लिटर बच्छ । इन्धन अत्यावश्यक हो तर यसको खपतमा न्युनीकरण गर्न मद्दत गर्नु सबै जनताको दायित्व हो । जसले गर्दा प्रकृतिक स्रोतको बचावट हुनुको साथैे देशको अर्थतन्त्रमा समेत टेवा पुग्छ ।
इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सीका अनुसार औसतमा एउटा कार वार्षिक २० हजार १ सय १६ किमी गुड्छ । जसले ५ हजार १ सय ९४ किलो कार्बनडाइअस्क्साइड निकाल्छ । यदि हप्ताको १ दिन मात्रै हामीले सडकमा सिर्फ साइकल मात्रै चलाउने अभियान गराउन सक्यौ भने पर्यावरण जोगाउन र भूमण्डलीय उष्मीकरण (ग्लोबल वार्मिङ) लाई रोक्न मद्दन गर्न सकिन्छ ।
सन २०४० सम्ममा साइकललै साइकलको देश भनी चिनिने नेदरल्यान्डमा स्वास्थ्य, वातावरण र पर्यटनका लागि डिजेल र पेट्रोलबाट चल्ने सवारीसााधन बन्द गर्ने घोषणा गरेको छ । सन् १९०३ मा ३५ जनाबाट सुरु भएको टुर दी फ्रान्स जसले देशलाई चिनाउनुको साथै देशको अर्थतन्त्रमा काँचुली फे¥यो । हामी पनि साइकलको माध्यमले केही परिवर्तन गर्न सकिन्छ कि भनी सिको गर्दैछौ भन्छन् बज्राचार्य ।
एक अध्ययन अनुसार विगत ५ वर्षदेखि काठमाडौंमा साइकल चढ्नेको संख्या बढ्दो छ । प्रति वर्ष १५ प्रतिशतको हाराहारीमा बढिरहेको व्यापारीहरुले बताएका छन् । विशेष आफ्नो बाध्यता, शरीर मेन्टेनेन्स, बिहानीको यात्रा, सोखका लागि साइकल प्रयोग गरिरहेका छन् । कुनै समय साइकल प्रयोग गर्न लाज र शंकोज मान्नेहरु अहिले साइकल चडेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको भेटिन्छ । बढ्दै गएको ट्राफिक अस्तव्यस्तताको कारण समयमानै गन्तव्यमा पुग्नको लागि साइकलको प्रयोग बढ्दै गएको देखिन्छ । ट्राफिक जामको समस्या पनि नहुने दुर्घटनाको सम्भावना पनि कम हुने भएकाले साइकलको प्रयोग गर्नेको संख्या बढ्दो छ ।
‘आधा भन्दा बढी प्रदुषण यातायात प्रणालीबाट आउँछ । बाटो बनाउँदा र मर्मत–सम्भार गर्दाको धुलो र गाडीबाट निस्कने धूवाँबाट, धुलो बढी हुँदा गाडीको एयर फिल्टर बिग्रेर झन् बढी धुवा फाल्न थाल्छ, वातावरणविद् भुषण तुलाधर बताउँछन् । सवारीसाधनको बढ्दो चापलाई ध्यानमा राखेर सरकारले माइतीघरदेखि भक्तपुरसम्मको सडकलाई ८ लेनमा विस्तार गरेको छ, तर त्यसमा साइकल लेन नबनाइएको वातावरणविद् तुलाधर बताउँछन् । जबकि, काठमाडौंमा २ प्रतिशतले साइकल यात्रा गर्छन् र केही युवा काठमाडौंलाई साइकल सिटी बनाउने अभियानमा छन् । साइकलको प्रयोगले व्यक्तिगत स्वास्थ्यमा फाइदा हुनुको साथै आर्थिक–सामाजिक रुपमा देश, समाज र जनतालाई सिधै फाइदा पु¥याउँछ । वातावरण संरक्षण हेतु सरकारले समेत विद्युतीय इन्जिनलाई कर छुटको व्यवस्था गरेको छ । यदि सरकारले नै हप्तामा १ दिन साइकल मात्रै चलाउन बाध्यतात्मक नियम लगाउन सक्यो भने वातावरणको संरक्षण, पेट्रोलियम पदार्थमा गरिने खर्च जोगिने, जनताको स्वास्थ्यमा सुधार लगायत थुप्रै फाइदाहरु सरकारलाई प्रत्यक्ष र परोक्ष रुपमा हुने देखिन्छ ।
समग्रमा हेर्दा टुर दी पोखराको उद्देश्य साइकल प्रयोग गर्न उत्प्रेरणा जगाउने, प्राकृतिक, भौगोलिक एवं सांस्कृतिक रुपले अत्यन्त सुन्दर, मनोरम एवं पर्यटनको अपार सम्भावना भएको गण्डक प्रदेशलाई संसारभर साइकलको माध्यमबाट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नमा सहयोग गर्ने । साइकलको प्रयोगका फाइदाबाट समृद्घि ल्याउनेमा सहयोग हुने । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग गरी आर्थिक तथा सामाजिक विकासमा समेत प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्न जस्ता अनेकौ उद्देश्य छन् ।
देश, जनता र समस्त पर्यावरणलाई नै फाइदा पुग्ने पवित्र उद्देश्य राखेर आयोजना गरिएको टुर दी पोखराको चौथो संस्करणलाई दिलैदेखि स्वागत, समर्थन र सहयोग गर्दैे साइकल र्‍यालीमा सक्रियरुपमा उपस्थिति जनाइ कार्यक्रमलाई सभ्य र भव्यरुपमा सफल बनाइदिनु हुन् सबैमा हार्दिक अनुरोध गर्दछु ।
जय साइकल !

Advertisement

तपाईको प्रतिक्रिया