अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ सिल्ड सुरु

समाधान संवाददाता २०७५ पुष २५ गते ९:४०


राकेश शर्मा
म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकको वडा नं. ३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको हो ।

जिल्लामा पहिलो पटक गाउँपालिका स्तिरीय राष्ट्रिय रनिङ सिल्ड प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उद्घाटन गरे । प्रतियोगिताले विद्यालय स्तरका खेल आयोजना गरी प्रतिभा पहिचान गर्ने लक्ष्य लिइएको छ । प्रतियोगिताबाट प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्न सहयोग पुग्ने उनले बताए ।

अधिकारीले विद्यालय स्तरबाट विद्यार्थीमा रहेको अतिरिक्त प्रतिभालाई देखाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भलिबल, दौड, कबड्डी र एथलेटिक्सतर्फ छात्र÷छात्राका विभिन्न १५ वटा विधाका खेल सञ्चालन हुने कार्यपालिकाको सामाजिक विकास समितिको संयोजक ओमप्रकाश फगामीले बताए ।

Advertisement

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई रनिङ सिल्ड, कप र मेडलसहित क्रमश ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थी र दानामा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्कने झाँकीसहितको ¥याली निकालिएको थियो । पालिका स्तरबाट छनोट हुने खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर दिइने जिल्ला खेलकुद विकास समिति अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।

Advertisement

यसअघिका वर्षमा जिल्ला स्तरमा मात्र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले सबै स्थानीय तहलाई १ लाख रुपैयाँ पठाएको छ ।

अन्नपूर्ण गाउँपालिकाले थप ५ लाख रुपैयाँ बिनियोजन गरेको र प्रतियोगितालाई निरन्तरता दिने गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले जानकारी दिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।

तपाईको प्रतिक्रिया