मुस्ताङमा पेट्रोल पम्प छैन, ब्यारेलकै भरमा गाडी सर्रर्रर

समाधान संवाददाता २०७५ पुष २५ गते ९:४४


सुन्दरकुमार थकाली
मुस्ताङ

मुस्ताङको पेट्रोलियम बजार १ दशकबाट ब्यारेलकै भरमा चलिआएको छ । यहाँका व्यवसायीले पोखराका विभिन्न पेट्रोलियम डिपोबाट पेट्रोल र डिजेल ल्याउँछन् । यही पेट्रोलियम पदार्थले हिमालपारिको वैकल्पिक इन्धनको काम गरेको छ ।

ब्यारेलबाटै इन्धन आपूर्ति भइरहे पनि यो कारोबारको जोखिमबारे कसैको ध्यान पुगेको देखिँदैन । मुस्ताङका मुख्य बजारमा पेट्रोलियमको ब्यारेल घरकै आँगन र छेउछाउमा खुला रुपमा राखिन्छ । यसबारट हुन सक्ने खतराबो स्थानीय तह, प्रहरी र प्रशासन बेखबर जस्तै छन् ।

Advertisement

व्यवसायीले पानीको बोतलमा जोखिम मोलेर पेट्रोलियमको खुद्रा बिक्री गर्दै आएका छन् । मोटरसाइकल, चारपांग्रे सवारी, जेनेटरदेखि हाते ट्याक्टरसम्मले यसरी नै ल्याइएको इन्धन प्रयोग गर्ने गरेका छन् । २०६२ सालमा यहाँ सडक पुगेपछि पेट्रोलियमको कारोबार सुरु भएको हो ।

जोमसोममा दर्जन बेशी व्यवसायीले पेट्रोलियम कारोबार गर्छन् । मार्फा, टुकुचे, लेते, कागबेनी, मुक्तिनाथ, छुसाङ र उपल्लो मुस्ताङको लोमान्थाङमा समेत पानीको बोतलमा पेट्रोलको व्यापार हुन्छ । जिल्लामा अहिलेसम्म पेट्रोलियम डिपो छैन । सडक र भौगोलिक अवस्थाका कारण पेट्रोल पम्प राख्न नसकिएको छ ।

Advertisement

सडक ग्राभेल हुनसके पेट्रोलियम ढुवानी सहज हुने जोमसोमकी पेट्रोलियम व्यवसायी मनिता थकालीले बताइन् । उनले यसमा जोखिम भएर पनि ग्राहकको माग अनुसार बिक्री गर्नुपरेको सुनाइन् । बेनी–जोमसोम सडक साँघुरो र जोखिमयुक्त रहेकाले पेट्रोल ट्याङ्कर यही अवस्थामा मुस्ताङ पुग्न सक्दैनन् ।

पेट्रोलियम कारोबारका लागि कुनै पनि व्यवसायले इजाजत लिएका छैनन् । मुस्ताङका पूर्व सांसद सुशीलमान शेरचन मुस्ताङमा छिट्टै पेट्रोलयम डिपो सञ्चालन हुने बताउछन् । उनले यसका लागि सबै प्रक्रिया पूरा भइसकेको बताए ।

मुस्ताङ प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री पूर्वाधार विकास, पर्यटक र स्थानीयको सुविधाका लागि पेट्रोलियम कारोबार भइरहेको बताउँछन् । ‘मुस्ताङको अहिलेको पेट्रोलियम बजार र व्यवस्थापन संकटमा छ ,तर यो यहाँको बाध्यता पनि हो,’ उनले भने । अव्यवस्थित तथा असुरक्षित पेट्रोलियम बजार व्यवस्थित गर्न छिट्टै सर्वपक्षीय छलफलबाट उपाय खोजिने उनले बताए । गरिने प्रजिअ क्षेत्रीको भनाई छ । नेपाल आयल निगमको म्याग्दीको बेनी र गलेश्वरमा डिपो छ ।सडककै दुरअवस्थाका कारण पेट्रोलियम ढुवानीमा समस्या रहेको प्रजिअ क्षेत्रीले उल्लेख गरे ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले पेट्रोलियम पदार्थको बिक्री वितरण व्यवस्थित गर्न समस्या परेको सुनाए । उनले पेट्रोल डिपो नभएकाले स्थानीय तहले समस्या सुल्झाउन नसक्ने जनाए । ‘पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने व्यवसायी तथा सेवाग्राहीलाई गाउपालिकाले सम्भावित जोखिमबारे सचेत गराएको छ,’ रेग्मीले भने, ‘सडक स्तरोन्नति र पूर्वाधार विकासको समस्या नसुल्झिएसम्म यस प्रकारको समस्या रहिरहन्छ ।’

मुस्ताङमा प्राय दिउँसो १२ बजेपछि अत्यधिक हावाहुरी चल्छ । सडकमै राखिएका अव्यवस्थित पेट्रोलियम ब्यारेलमा हावाहुरीका बेला विभिन्न कारणले आगलागी हुनसक्ने जोखिम बढी हुन्छ । मुस्ताङमा वर्षमा १ हजार ब्यारेल पेट्रोल खपत हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया