काम भन्दा दाम बढीः गण्डकीमा मन्त्री र स्वकीय सचिव भत्ताले मालामाल

समाधान संवाददाता २०७५ पुष २६ गते ७:३८

समाधान संवाददाता

गण्डकी प्रदेश सरकारका मन्त्री र तीनका स्वकीय सचिवले दैनिक भ्रमणभत्ता बापत ८ लाख ६६ हजार रुपैयाँ बुझेका छन् । साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत यो रकम बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तथ्यांकले देखाएको हो ।

भ्रमणभत्ता बुझ्नेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबैभन्दा अगाडि देखिएका छन् । मुख्यमन्त्री गुरुङले साउनयता २ लाख ९ हजार २५ रुपैयाँ आन्तरिक भ्रमण भत्ता बुझेका छन् ।

गुरुङले हालसम्मको दैनिक भ्रमण भत्ता बुझिसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लेखापाल अुर्जनप्रसाद पौडेलले जानकारी दिए । मुख्यमन्त्रीले स्वदेश भ्रमणमा दैनिक ३ हजार रुपैयाँ र विदेश भ्रमण गर्दा दैनिक २ सय ५० डलर र मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने कानुनी व्यवस्था छ । मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म विदेश भ्रमण भत्ता भने लिएका छैनन् ।

Advertisement

मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक र अन्य सुविधासहित राजपत्र द्वितीय स्तरको १ जना र शाखा अधिकृत स्तरको १ गरी २ जना स्वकीय सचिव र २ जना कार्यालय सहयोगी मुख्यमन्त्रीले सरकारी खर्चबाट बेहोर्ने गरी राख्न पाउने ऐनमा व्यवस्था छ ।

मुख्यमन्त्री गुरुङले शाखास्तरको अधिकृतस्तरको स्वकीय सचिव भने आफ्नै छोरीलाई राखेका छन् । छोरी एलिना गुरुङले मुख्यमन्त्रीकी स्वकीय सचिवका रुपमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट कात्तिकसम्मको पारिश्रमिक बुझेको देखिएको छ । शाखा अधिकृत स्तरको स्वकीय सचिवको पारिश्रमिक ३० हजार ५ सय रुपैयाँ ताकिएको छ ।

Advertisement

मुख्यमन्त्रीको २ जना कार्यालय सहयोगीमध्ये एकजना उनकै भाइनाताका छन् । उनका भाइ भीमबहादुर गुरुङले मासिक पारिश्रमिकका रुपमा १६ हजार २ सय रुपैयाँ बुझ्दै आएका छन् । उनले निवासमा मुख्यमन्त्री निवासमा सघाइरहेका छन् ।

मुख्यमन्त्रीले २ सय ५० लिटर डिजेल, मोविल १० लिटर, एउटा गाडी, सञ्चारका लागि ५ हजार, अतिथि सत्कारमा ४० हजार र धारा बिजुलीको बिलअनुसार रकम पाउने ऐनको व्यवस्था छ । मुख्यमन्त्रीले कुपनअनुसार डिजेल भर्छन् भने सरकारका अन्य मन्त्रीको डिजेल र अन्य सुविधासहितको रकम सिधै बैठकमा पठाउने गरिएको लेखा अधिकृत पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले मन्त्री र स्वकीय सचिवलाई जिल्लाबाहिर कार्यक्रममा सहभागी हुन जाँदाको भ्रमणभत्ता उपलब्ध गराउँदै आएको छ । सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले अहिलेसम्म नियमअनुसारकै भ्रमण भत्ता बुझ्दै आएको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
‘सरकारी रकम दुरुपयोग हुन नदिन सरकार र सबै मन्त्री सचेत छौं,’ प्रवक्ता बस्नेतले भने, ‘भ्रमण खर्च बढी देखिनु भनेको घुमेर लिएको रकम होइन, विभिन्न कार्यक्रम, अनुगमन र सरकारी योजना लिएर जनतासम्म जाँदा लागेको खर्च हो ।’

सरकारका मन्त्री र तीनका स्वकीय सचिव बाहिरी जिल्ला जाँदा लाग्ने यातायात, खाना–खाजा र फिल्डमा जाँदा भएको अन्य सरकारी खर्चबापतको रकम भएको प्रवक्ता बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया