‘अ’मानवता
विष्णु गुरुङ ‘एकता’
कुनै देवीदेउता वा कुलदेउताको नाउँमा निर्दाेष प्राणीको बली दिएर आफ्नो मनोकामना पूरा हुन्छ भन्ने अन्धविश्वासले मानवले परम्पराकालदेखि नै बली दिने परम्परा चलाइ आएको हो । विशेष गरेर चैत दसैंको बेला वा वडा दसैका अष्टमीको दिन देवदेवीको मन्दिरमा त्यस्तै अरु तिथि पारेर मन्दिर रक्ताम्य पार्छन् र प्रसादको रुपमा रमाउँदै मासु खाने गर्छन् ।
धर्म गर्ने नाउँमा लाखौं राँगा, बोका, हाँस कुखुरा वार्षिक रुपमा बलीमा काटिन्छन् । यो प्रचलन देशको कानुनबाटै बन्द गर्नुपर्छ । निर्दाेष प्राणीलाई आफ्नो स्वार्थको लागि भगवानलाई साक्षी राखेर, रगतले भगवानलाई पोतेर कहिल्यै धर्म हुँदैन । मनोकांक्षा पूरा हुने भ्रममा सबैभन्दा ठूलो पाप गर्न पुगेका छौं हामी । बली दिने प्रथा महापाप हो । राज्यको एक कंलक हो । यस प्रथालाई राज्यबाट रोक्नुपर्छ ।
महात्मा गान्धिको नेतृत्वभन्दा पहिला भारतमा यस प्रचलनले प्राथमिकता पाएको थियो । मानिस आफ्नो मनोकामना पूरा गर्न मन्दिरमा लाखौ संख्यामा जनावरका बली चढाउने गर्थे तर जब गान्धिले अहिंसाको बाटो अंगाले यस प्रचलनलाई गैरकानुनी बनाए । शताब्दिऔंदेखि विश्वास गर्दै आएको अन्धविश्वासको पर्खाल भत्किदै गयो र अहिले भारतमा यो प्रचलन बन्द भयो ।
जब उज्यालो आउँछ, अन्धकार हराउँछ । जब सत्य आउँछ अगाडि अन्धविश्वासको बादल फाट्छ तर दुर्भाग्य छिमेकी देशको राम्रो देखासिकी नेपालले सिक्न सकेन । झन् उनीहरु पनि नेपालको मन्दिरमा बली दिने प्रथा गर्न थाले किन कि नेपालमा बली प्रथालाई रोक्नलाई कानुन बनेको छैन । र यसलाई पाप कर्म हो, मानवताको नास हो भनेर धैरेले बुझेका पनि छैनन् ।
जति यसमा विश्वास गर्छन्, उनीहरुलाई मेरो प्रश्न छ, यदि यसरी देवीदेवतालाई भाकल गरेर मनोकांक्षा पूरा हुने, धर्म कमाउने भए नेपाल विश्वमा एक गरिब राष्ट्रको रेखामुनि बस्ने थिएन । नेपालका युवायुवती खाडी मुलुकमा गएर नेपाल आमाले आफ्नो सन्तानको लास बाक्सामा ल्याएको स्वीकार्नुपर्ने थिएन । पशु झै हजारौं युवायुवती बेचिनुपर्ने थिएन । जापान, अमेरिकामा यस्तो प्रथा छैन र पनि यी देशका मानिस नेपालीभन्दा धनी, शक्तिशाली र सभ्य किन छन् ?
मानिसको मायाभन्दा इमान्दार माया एउटा कुकुरमा पाइन्छ । जसलाई हामी निच जनावर ठान्छौं । वैज्ञानिकले पनि प्रमाणित गरिसकेको छ कि जब बली चढाउने भनेर लगिन्छ तब ती जनावरलाई थाहा हुन्छ कि ऊ मर्देछ भनेर त्यसपछि उसको दिमागबाट नकारात्मक सोचहरु निस्कन्छ र शरीर भरी फिजिन्छ । त्यो मासु सबै नकारात्मक सोचको विषसरी भइसकेको हुन्छ र जसले त्यसलाई खान्छ उसको शरीरमा त्यो पनि जान्छ । जसले गर्दा बढी तनाव हुने, रिस उठ्ने, घमण्ड बढ्ने हुन्छ ।
यदि हामी जीवनमा शान्ति र खुसी चाहन्छौं भने कुनै प्राणीको हिंसा गर्नु हुँदैन । अहिंसाको बाटो रोज्नुपर्छ किनकि हामीलाई जस्तै सबै प्राणीलाई आफ्नो प्राणको माया लाग्छ र मृत्युदेखि जसरी हामीलाई डर लाग्छ त्यसरी नै सबै प्राणीलाई मृत्युदेखि डर लाग्छ । जीवनमा सबभन्दा सफल हुनु भनेकै खुसी हो ।
खुसी पाउन, आत्मामा शान्ति हुनुपर्छ त्यो शान्ति अहिंसाको बाटाले मात्र पाउँछ । विगतको कुरा सोचेर पछुताउनु हुँदैन । जे भयो त्यो गइसक्यो, वर्तमान आफ्नो हातमा छ । त्यसैले आफू जस्तै अरु प्राणी पनि हो भनेर आफूलाई जस्तै उनीहरुलाई पनि माया गरौ बली प्रथा बन्द गर्ने अभियानमा जुटौ र मानवताको संरक्षण गरौं ।
तपाईको प्रतिक्रिया