हेडमास्टर कुटिएको भन्दै दुईदिनदेखि पठनपाठन ठप्प

समाधान संवाददाता २०७५ पुष ३० गते १७:३९


मोहसिन अलि मियाँ
गोरखा

प्रधानाध्यापकलाई कुटिपिट गरेको आरोपमा गोरखाको एक विद्यालयको दुईदिनदेखि पठनपाठन ठप्प छ । भिमसेन गाउँपालिका १ मसेल स्थित विन्द्रावती माविका प्रअ उत्तर नायायण श्रेष्ठलाई कुटपिट गरेको भन्दै स्थानीय युवा शिवकुमार श्रेष्ठलाई कारबाहीको माग गर्दै आइतबारदेखि विद्यालयमा पठनपाठन बन्द भएको हो ।

आइतबार विद्यालयमै परिसरमै प्रवेश गरेर विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका शिवकुमारले प्रअ उत्तर नारायणलाई हातपात गरेको आरोपमा विद्यालयका शिक्षकहरुले पढाई बन्द गरेका हुन् । ‘प्रअलाई विद्यालयमै आएर हातपात गरिएको छ, यस्तो अवस्थामा हामी कसरी पढाउने’ नाम नबताउने सर्तमा एक शिक्षकले भने ‘शिवकुमारलाई कारबाही नहुन्जेल हामी पढाउन जान सक्ने अवस्था रहदैन ।’

प्रअ माथि हातपात गरेको आरोपमा श्रेष्ठलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो जग्गा मिचेर विद्यालयले भवन बनाएको भन्दै उनले प्रध्यानाध्यापक माथि हातपात गरेको एक शिक्षकले बताए ।

Advertisement

श्रेष्ठ परिवारले २०६७ सालमा विद्यालयलाई जग्गा दान गरेको जग्गा बाहेक पनि अरु जग्गा मिचेर विद्यालय भवन निर्माण भएको सदस्य श्रेष्ठको आरोप छ । ‘मैले धेरैपहिलादेखि यस बिषयमा कुरा राखेको हो, तर कसैले वास्ता गरेनन्’ शिवकुमारले भने ‘हिजो (आइतबार) पनि स्कुल गएर हेडसरसंग कुरा गरे, उहाँले समन्वय गर्नुको सट्टा मेरो खिल्ली उडाउने कोसिस गर्नु भयो, सकेको गर भन्नुभयो, त्यसपछि मैले धकेलेको हुँ, कुटेको छैन ।’ उनले भने

तर प्रअ श्रेष्ठले भने शिवकुमारले आफुमाथी हातपात गरेको आरोप लगाएका छन् । ‘म दश कक्षामा पढाएर बाहिर निस्कदै थिए । उहाँले बाहिर बसिरहनु भएको रहेछ’ प्रअ उत्तरकुमारले भने ‘एक्कासी मेरो जग्गा मिचेर बिल्डिङ बनाउने तँ होइनस् भनेर म माथि जाइलाग्नु भयो ।’ बाबुले दान गरेको जग्गा भन्दा बढि च्यापेर विद्यालयले भौतिक संरचना बनाएको प्रति असहमती जनाउँदै शिवकुमारले बारम्बार विद्यालयलाई नाप जाँच गरेर मात्र भवन बनाउन आग्रह गर्दै आएका थिए ।

Advertisement

‘मेरो जग्गामा बनाएको भवन किन हटाउनु भएन ? भनेर उहाँले भन्नुभयो’ प्रअ उत्तरकुमारले भने ‘हामीले तपाइँको जग्गा च्यापेका छैनौं । तपाइँलाई त्यस्तो लाग्छ भने नापी ल्याउनुहोस मात्र के भनेको थिए । मलाई सिकाउने तँ को ? भनेर सिधै हातपात गर्न थाल्नु भयो ।’ त्यसपछि विद्यार्थी र शिक्षक मिलेर उनीहरुलाई छुट्याएको एक उनले बताए ।

जग्गाको निउँमा उनीहरु विच यस अघि पनि बारम्बार विवाद हुँदै आएको केही स्थानीयले बताएका छन् । दान दिएको जग्गाभन्दा बढि मिचेर विद्यालय भवन बनाएको एकाथरीको आरोप छ भने विद्यालय भवन बन्न नदिन बखेडा झिकेको अर्काथरीले बताएका छन् । उक्त जग्गामा जापानी सहयोग नियोग जाइकाले ६ कोठे भवन निर्माण सम्पन्न गरिसेको छ । केही दिन भित्र उक्त भवनको उद्घाटन गर्ने तयारी छ । दुबै पक्षसँग छलफल गरी घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्ने प्रहरीले बताएको छ ।

‘कुटपिट भयो भनेर उहाँ (प्रअ) ले हामीलाई आइतबारै उजुरी दिनुभएको हो, त्यसलगत्तै हामीले शिवकुमारलाई पक्राउ गरेर ल्यायौ’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला बहादुर रावलले भने ‘आज (सोमबार) दुवै पक्षलाई राखेर छलफल गर्‍यौ, तर कुरा मिलेन, उहाँहरुले मान्दैमान्नु भएन ।’

सोमबार भएको त्रिपक्षिय छलफलमा कुरा नमिलेपछि शिवकुमारलाई तिनदिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी रावलले बताए ।
घटनापछि सोमबार नेपाल शिक्षक महासंघ गोरखाले प्रअमाथी भएको हातपातको ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया