मुखिया प्रथा हटाउने पहिलो गाउँः छैरो

समाधान संवाददाता २०७५ माघ ५ गते १०:३८

सुन्दरकुमार थकाली

Advertisement

साविकमा १६ गाविस रहेको हिमालपारी मुस्ताङमा अहिले ५ स्थानीय तह छन् । ती सबै स्थानीय तह जोडेर पूरापूर ९२ वटा गाउँबस्ती छन् । मुस्ताङ यी बस्तीमा सदियौं कालदेखि नै परम्परागत रुपमा मुखिया चलन मानिँदै आइएको छ । उनीहरुले मुखिया परम्परालाई नै आफ्नो संस्कृति र पहिचानका रुपमा मान्दै आएका पनि छन् । 

पछिल्लो समय सदरमुकामले छोएको घरपझोङ गाउँपालिका – १ छैरो गाउँले नयाँ अभ्यास सुरु गरेको छ । उक्त वडामा पुर्खौंदेखि चलिआएको मुखिया प्रथालाई विस्तापित गर्दै गणतान्त्रिक गाउँ सुधार समितिको नामाकरण गरिएको छ । प्राय गाउँमा मुखिया चुन्दा परम्परागत तथा जातीय संस्कारका आधारमा चयन गरिने समेत प्रचलन छ । छैरो गाउँमा पनि यसअघि त्यही परम्परा थियो । गणतान्त्रिक गाउँको नाम दिईपछि यसका पदाधिकारीहरुले फरक ढंगले गाउको नीति नियम र परम्परालाई अघि बढाइएको छ ।

Advertisement

गाउँका अगुवा चुन्दा सबै स्थानीयको रोहबरमा साधारणसभा तथा अधिवेशन जस्तो गरेर नेता चुन्दछन् । छानिएको नेताले गाउँको हितका साथै समाजिक सेवा गर्ने प्रतिबद्धता जनाउनु पर्नेहुन्छ । छैरो गाउँ गणतान्त्रिक शैलीमा गइसकेपछि सानाठूला घटना मुखियाले मिलाउनतिर नगई प्रशासनको सहयोगमा टुंग्याउने गरिएको छ । प्रशासनको सहयोगमा कामकारबाही अघि बढेपछि गाउँमा अपराधजन्य घटना न्यूनीकरण भएको स्थानीयबासी सुनाउँछन् ।

हिमालपारीको जिल्लाका रुपमा चिनिएको मुस्ताङमा पहिले कानुनी पहँुच नपुग्दा तिनै ९२ वटै मुखियाले गाउँठाउँ वा समाजमा हुने हिंसा, कुटपिट, झै–झगडा र मुद्दा मामिला मिलाउने काम गर्थे । 

Advertisement

कुनै कुरामा विवाद भए पनि मुखियाको निर्णय नै सर्वमान्य हुन्थ्यो । यदि कुनै कारणबस मुखियाको कुरा नमान्ने अस्वीकार गर्ने र विरोध जनाएमा गाउँबाटै निस्कासन हुनुपर्नेसम्मको सजाय हुन्थ्यो । यो नियम मुस्ताङमा १० वर्षअघि सम्म रह्यो । त्यसो त मुखिया प्रथा भित्र कतिपय राम्रो र तारिफ योग्य विशेषता पनि नभएका भने होइनन् । उनीहरुले सामाजिक कार्य तथा समाजलाई एकताबद्ध गराउनेदेखि एक परिवारले अर्को परिवारलाई मानवीय रुपमा सहयोग र सहकार्य गर्न र गराउन पनि ठूलै भूमिका निर्वाह गर्दथे । 

गाउँघरको मुद्दामामिला मिलाउने जिम्मा मुखियाकै हुन्थ्यो । मुखिया भने सीमित साभ्रान्त परिवारका मानिस हुने परिपाटी व्याप्त थियो । उनीहरु आफैं ठूला एवं पहुँचवाल वर्गका हुने भएकाले कमजोर वर्ग त्यसमा समावेश हुन पाउने अवसर कम हुन्थ्यो । त्यसमा पनि गाउँका दलित समुदायले अपेक्षा अनुसार मुखियाले न्याय सम्पादन गर्न नसकेको बढी गुनासो गर्दथे । 

जिल्लामा सरकारी निकायको उपस्थिति रहेपनि उनीहरुको प्रभाव नगन्य रहन्थ्यो । जसले गर्दा गाउँका दलित तथा विपन्न वर्गका मानिस सधैं शासक वर्गको थिचोमिचोमा परिहरहने अवस्था थियो । पछिल्लो क्रममा स्थानीय सरकार आइसकेपछि भने विगतको तुलनामा कानुन कार्यान्वयनको पहुँच बलियो र सबल हुँदै गइरहेको छ । तल्लो भेगका मुस्ताङीहरु कानुनको ढोकासम्म पुग्न थालेका छन् । 

उपल्लो मुस्ताङको बस्ती पातलो छ । त्यहाँका पूरै गाउँमा अहिले पनि मुखियाप्रथा विद्यमान नै छ । जिल्ला अदालत जोमसोममा उपल्लो घटना शून्यजस्तै छ । यसको सोझो मतलब त्यहाँ कुनै पनि प्रकारका घटना नघटेका भने होइनन् । त्यहाँका घट्ने घटना मुखियाले नै टुंग्याउने भएपछि अदालतसम्म घटना नआइपुगेको मान्न सकिन्छ ।

उपल्लो मुस्ताङको नाममा लोमान्थाङका पूर्व राजाको अंश सम्बन्धी मुद्दा बाहेक अन्य मुद्दा अदालतमा दायर भएका छैनन् । त्यसको तुलनामा तल्लो मुस्ताङमा भने केही सुधारको स्थिति छ । तल्लो मुस्ताङमा मुखिया प्रथा भएपनि धेरैजसो अहिले कानुनको ढोकासम्म पुग्ने गरेका छन् । 

तल्लो मुस्ताङीहरु मुखियाभन्दा कानुनलाई नै भरपर्दो मान्न थालेको पाइएको छ । त्यसो हुनुमा सामाजिक जनचेतना अभिवृद्धि र शिक्षाको पहुँचलाई मान्न सकिन्छ । सामाजिक हितका निर्णय बाहेक देवयानी तथा फौजदारी मुद्दाहरु अदालत, प्रशासन र प्रहरीको पहुँचमा पुग्न सफल भएको हो । वर्षेनी तल्लो मुस्ताङका ३ गाउँपालिकाबाट डेढ दर्जन मुद्दा दर्ता हुने गरेको पाइएको छ ।

मुखियाप्रथाका राम्रा कार्य अनुशरण तथा नकारात्मक विषयलाई पन्छ्याएर नमूना छैरो गाउँ परिवर्तनको दिशामा अघि बढेको छ । गणतान्त्रिक गाउँ सुधार समितिका अभियान्ता एवं संस्थापक अध्यक्ष जीतबहादुर रसाईले २०६२÷०६३ सालको आन्दोलनपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामा छैरो गाउमा मुखियाप्रथा विस्थापित गरिएको बताउँछन् । ‘गाउँको समुन्नत भविष्यका लागि यहाँका स्थानीयले गणतान्त्रिक गाउा सुधार समिति नामाकरण गरेका हौं,’ उनी भन्छन् । 
गाउँ सुधार समिति गठनपछि समाजका कमजोर वर्गले पनि समान हैसियत प्राप्त गर्ने रसाई बताउँछन् । हाल गणतान्त्रिक छैरो गाउँमा पाँचौ पटक नेतृत्वको चयन भइसकेका छन् । जसमा ३ कार्यकाल थकाली समुदाय र २ कार्यकाल दलित समुदायले नेतृत्व गरिसकेका छन् ।

गणतान्त्रिक गाउँ छैरोको परिचय

गणतान्त्रिक नमुना गाउँ छैरोको बस्ती स्थानान्तरण भएको चौधाै शताब्दी पुगिसकेको छ । बेनी–जोमसोम सडकखण्डको घरपझोङ २ मार्फा सामाग्रीको पूर्व कालिगण्डकी पारीको बस्ती सानो बस्तीको नाम हो गणतान्त्रिक छैरो गाउँ । कालान्तरमा यस बस्तीमा अधिकांश थकाली समुदायका मानिसले बसोबास गर्थे । त्यहाँ केही दलित समुदायको बस्ती थियो ।

२०३२ सालको सेरोफेरोमा करिब ५८ घरधुरी रहेको गणतान्त्रिक गाउँ सुधार समितिका अध्यक्ष भीम रसाईलीले जानकारी दिए । गाउँमा अहिले दलितकै नेतृवमा सुधार समिति गठन भएको हो । कालान्तरमा बसेका थकालीहरु रोजीरोटी र वैकल्पिक व्यवसाय तथा विदेश पलायन भएकाले त्यहाँका थकालीहरुको घरमा गैर थकालीले बसोबार गर्दै आइरहेका छन् । त्यहाँ बस्ने गैर थकालीहरुले खेति किसान तथा ज्याला मजदुरी गरेर बस्ने गरेको अध्यक्ष रसाईलीको भनाई छ ।

सडक सञ्जाल नजिकै रहेको छैरो गाउँ समथर भूभागमा छ । जहाँ स्याउ, फापर, आलु , उवा, जांै लगायत अर्गानिक तरकारी समेत उत्पादन हुने गरेको पूर्व गाउँ सुधार समितिका अध्यक्ष विनोद थकालीले बताउँछन् । छैरो गाउमा अहिले पनि ३१ घरधुरी छन् । जसमा थकाली घरधुरी जम्मा ३ छन् । त्यसमध्ये दलित ६ घरधुरी छन् भने बाँकी सबै गैर थकाली र गैर दलित समुदायका छन् ।

कालान्तरमा छैरो बस्ती गाउँमाथिको पूर्वतर्फ झितान्त गुम्बा नजिक थियो । अहिले गुम्बाको संंरचना केही छैन भने बस्ती समेत हटेको छ । इतिहासको खोज अनुसन्धान गर्ने हो भने अहिले पनि त्यहाँ पुराना कलात्मक सामाग्री भेटिने पूर्व गाउसधार समितिका अध्यक्ष आशबहादुर थकालीले दाबी गर्छन् ।

छैरो गाउका अधिकाश युवाहरु वैकल्पिक व्यवसायको खोज कतिपय सहर पसेका छन् भने कतिपय विदेशमा पसिना चुहाउँदैछन् । यद्यपि पछिल्लो समय पलायन भएका युवा गाउँ फर्mिन थालेका छन् । जिल्लामा यातायातको विकास तथा कृषि क्षेत्रको सम्भावना बलियो बन्दै गइरहेकाले पलायन भएकाले युवा गाउँ फर्किन थालेको समितका अध्यक्ष भीम रसाईली सुनाउँछन् ।

छैरो गाउको पर्यटकीय सम्भावना
छैरो गाउँका अधिकांश मानिस कृषि व्यवसायमा आश्रित छन् । पछिल्लो समय गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । छैरो गाउँको पर्यटक लोभ्याउने मुख्य गन्तव्य छैरो छहरालाई लिइएको छ ।

पूर्वको निलगिरीको फेदबाट बहने पानी छैरो चट्टाने पडाड छिचोल्दै बहने भएकाले छहरा हेर्न लायक देखिन्छ । प्रचारप्रसार र संरक्षणको अभाव रहेको छहराको विकास तथा स्तरोन्नति गर्न गाउँ लागिपरेको स्थानीय बाबु थकालीले जानकारी दिए । थाकपाच गाउँमध्ये उत्कृष्ट गन्तव्यको सम्भावना भएको नमूना छैरो गाउँको छैरो छहरा धार्मिक हिसाबले पनि उत्तिकै महत्व बोकेको उनी बताउँछन् । 

उनका अनुसार प्राकृतिक सम्पदाले भरिएको छैरो छहरामा वर्षेनी कात्तिक महिनामा प्रत्येक घरधुरीले पूजाआजा गर्ने गर्छन् । त्यहाँ पूजा गर्दा अन्नबाली राम्रो हुने र सिंचाइको स्रोतान कमी नहुने धार्मिक विश्वास छ । सडक सञ्जालदेखि गाउँसम्म पुग्न स्थानीयलाई ३० मिनेटको समय लाग्छ ।
छैरो गाउँमा गाउँपालिकाकै पुरानो ऐतिहाँसिक बुद्धिस्ट छैरो छहरा गुम्बा छ । जुन घ्याल्वो बुद्धिस्ट देवताले प्रसिद्ध छ ।

धार्मिक किवंदन्ती अनुसार त्यहाँ पुजाआजा गर्नाले छोरोछोरी प्राप्त गर्ने बरदान पुरा हुने विश्वास छ । छैरो छहरा गुम्बा करिब ९ सय वर्ष पुरानो मानिएको छ । यसलाई शाक्य गुम्बा पनि भन्ने गरिएको छ । यस्तै, छैरो गाउँमा उत्तरी कोरलानाका हुँदै खम्पा विद्रोह गरी मुस्ताङ भित्रिएका तिब्बतियन शरणार्थीको समेत बस्ती छ । क्याम्पमा तिब्बतीयनको करिव सयघरधुरी छन् ।

नेपाल सरकारको अधिनमा रही उनीहरुले खेतिपाती गर्ने र व्यापार गर्छन् । क्याम्प हेर्न पछिल्लो समय पर्यटकको भीड लाग्ने गरेको छ । यसप्रकारको तिब्बतियन क्याम्पको बस्ती पोखराको हेमजा, छोरेपाटन र पृथ्वीचोकमा समेत छ । यस्तै, गाउँ नजिकै च्छो ताल छ । यस तालमा पनि वर्षेनी बैशाखमा पुजाआजा गरिन्छ । पानीको शक्तिको रुपमा ताललाई लिने गरिएको छ ।

तपाईको प्रतिक्रिया