घाचोकमा ‘सामुदायिक बीउ बैंक’काे स्थापना

समाधान संवाददाता २०७५ माघ ६ गते ११:३०

कृष्ण दवाडी

परम्परागत र स्थानीय जातका बीउबिजन संरक्षण गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिएको छ । नेपाल कृषि इन्जिनीयरिङको सहयोगमा स्थानीय अन्नपूर्ण महिला प्रांगारिक कृषि सहकारी संस्था लिमिटेडले परम्परागत र लोपोन्मुख बीउबिजनको संरक्षण गर्ने हेतुले यसै महीनादेखि सामुदायिक बीउ बैंक स्थापना गरेको हो ।

२०७२ को विनाशकारी भूकम्पछि प्रभावित जिल्लामा खाद्य तथा नगदेबालीको स्थानीय बीउ लोप भएपछि नेपाल कृषि इन्जिनीयरिङले जिल्ला कृषि विकास कार्यालयमार्फत प्रभावित जिल्लामा बीउ बैंक स्थापनाको अवधारणा ल्याएको थियो । सोही अनुसार बीउ संरक्षणका लागि कास्की जिल्लामा सो सहकारीलाई छनोट गरी सहकारीमार्फत सो बीउ बैैंक स्थापना गरिएको हो ।

बीउ बैंकमा धान, मकै, गहुँ, जौ, तोरी, बदामलगायत खाद्य तथा नगदेबालीका लोपोन्मुख र परम्परागत बीउबिजन संकलन गरेर राखिने तथा त्यसलाई सहज रुपमा कृषकमा वितरण गरिने अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष अनन्ता पोखरेल बताइन् ।

Advertisement

सो बीउ बैंकमा कृषकले आफूसँग भएको बीउबिजन लगेर प्रशोधन गरी सुरक्षित साथ भण्डारण गर्नसक्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ । बीउ बैंकबाट कृषकले सहज रुपमा आफूले चाहेको खाद्य तथा नगदेबालीको बीउ प्राप्त गर्न सक्छन् । किसानले आफूसँग रहेको बीउबिजन समेत संरक्षणका लागि बैंकमा ल्याएर भण्डारण गर्नसक्ने व्यवस्था छ । पोखरेलले भनिन्, ‘धानमा पहेँले, नौलो मार्सी, मार्सी, गुडुरा, फलाऐँ, विरम्फूललगायत लोपोन्मुख प्रजाति, कोदोका असारे, सेतो, रातो, कालो प्रजाति तथा पहेँलो र सेतो प्रजातिका मकैका बीउ ल्याएर बैंकमार्फत कृषकलाई बितरण गर्ने लक्ष्य छ ।’

बीउ बैंक स्थापनाबाट बीउका लागि कृषकले भोग्नु परेका समस्या समाधान हुने तथा हावापानी र माटो सुहाउँदो बीउको मद्दतबाट खेतीबाली लगाउन सहयोग पुग्ने विश्वास स्थानीय कृषक वेदनिधि दवाडीको छ । उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले त्यसतर्फ कृषक आकर्षित भए पनि स्थानीय जातका बीउबाट उत्पादित अन्नबाली स्वादिष्ट हुने भनाइ उनको छ ।

Advertisement

बीउ प्रशोधनका लागि ३ लाखमा प्रशोधन मेसिन ल्याइएको छ । सुरुमा बीउ सुकाउने, त्यसलाई प्रशोधन गर्ने र भण्डारण गर्ने गरिएको पोखरेलको भनाइ छ । बीउ बैंक स्थापना भए पनि बीउ छनोट, भण्डारण तरिका तथा लोप हुँदै गएका बीउका बारेमा सहकारीका सदस्यलाई प्राविधिक ज्ञान दिलाउन तालीम आवश्यक रहेको अध्यक्ष पोखरेलले बताइन् ।

६१ लाखमा भवन

अन्नपूर्ण महिला प्रांगारिक कृषि सहकारी संस्थाले ६१ लाख ११ हजार ५ सय ६५ लागतमा संस्थाको भवन तथा सामुदायिक बीउ बैंक भवन स्थापना गरेको छ । २ तल्लाको पक्की भवनका लागि स्थानीयवासी चन्द्रावती पोखरेलले जमिन दान गरेपछि संस्थाले विसं २०७३ बाट भवन निर्माण सुरु गरेको थियो । सो भवनको पहिलो तला बीउ भण्डारणका लागि प्रयोग गरिने भएको छ भने दोस्रो तला सहकारीको कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याइने अध्यक्ष पोखरेलले बताइन् ।

कृषि इन्जिनीयरिङको ५१ लाख ६४ हजार १ सय ७०, संस्थाको ८ लाख ४७ हजार ३ सय ९४ तथा गाउँपालिकाको १ लाख खर्चमा सो भवन निर्माण गरिएको हो । बीउ प्रशोधन मेसिन तथा बीउ सुकाउने प्रयोजनका लागि १ रोपनी जमीन १५ वर्षका लागि भाडामा लिएर अर्को भवन स्थापना गरिएको छ । २०६४ मा ३२ जना सदस्यबाट स्थापना भएको संस्थामा हाल १ सय १३ जना सदस्य रहेको र २५ लाख ४३ हजार सेयर पुँजी छ ।

संस्थाले न्यून आयआर्जन भएका महिलालाई सहकारीमा आवद्ध गराइ गाईभैँसी खरीद, तरकारीखेती तथा व्यवसाय स्थापनाका लागि लगानीसमेत गर्दै आएको बताइन्छ । सहकारीले करीब १० रोपनी जमीनमा वर्षेनी बदामखेती गरेर त्यसबाट आयआर्जन गरी नगदेबाली बदामको संरक्षण गर्दै आएको सहकारीका उपाध्यक्ष मीना सापकोटा पौडेलले बताए ।

तपाईको प्रतिक्रिया