महानगरका सटरमा वर्षेनी करोडौं हिनामिना

विकास रोकामगर
पोखरा महानगरपालिका कार्यालयमा गत शुक्रबार दिउँसो १ सेवाग्राही महानगरको सटर प्रयोग गरेवापतको भाडा तिरेको रसिद लिएर आए । उनले सिर्जनाचोकको सटर प्रयोग गरेका थिए । २०७१ सालदेखि नै प्रयोग गर्दै आइरहेको प्रमाण उनीसँग महानगरले नै काटेको बिल थियो ।
महानगरको राजस्व शाखामा छिरेपछि उनको रसिद र महानगरले राखेको तथ्यांक जुधाइयो । महानगरको तथ्यांकमा ती सेवाग्राहीले कहिल्यै भाडा नतिरेको देखियो । महानगरका कर्मचारी संयमित भएझैं गरेर पहिल्यैदेखिको भाडा इन्ट्री एकैदिन (शुक्रबार) गरे । सेवाग्राहीले माघ महिनाको भाडा बुझाउन बाँकी भएपछि कर्मचारीले भने, ‘छिट्टै ल्याउनुस् है ह्याँ इन्ट्री गर्नुपर्छ ।’ यो महानगरमा देखिएको एउटा दृश्यमात्रै हो ।
साविक लेखनाथ नगरपालिकामा बनेको ५ कोठे भवन कसमस कम्प्युटरले २०७१ सालदेखि २०७५ मंसिरसम्म भाडा सम्झौता गरेको देखिन्छ । उक्त सम्झौता अनुसार कसमसले २०७३ सम्म ३७ हजार भाडा तिरेको छ भने त्यसपछि सम्झौता अन्त्य हुँदासम्म ४१ हजार रुपैयाँ मासिक तिर्दै आएको देखिन्छ । उक्त संस्थाको सम्झौता अवधि सकिसकेको छ । तर पनि भवन प्रयोग गरिरहेको पाइएको छ । ‘उहाँले सम्झौता सकेर पनि बिनाभाडा प्रयोग गरिरहनु भएको छ,’ महानगरका १ कर्मचारीले भने । कसमसबाट महानगरले अहिलेसम्म ३ लाख १५ हजार रुपैयाँ उठाउनै बाँकी छ ।
एवं रितले महानगरले व्यापारिक प्रायोजन हेतु महानगरभित्र विभिन्न मुख्य ठाउँमा बनाएका व्यावसायिक भवन र सयौं सटरबाट वार्षिक करोडौं मूल्य बराबरको हिनामिना भइरहेको पाइएको छ । महानगरले बनाएका ती सटर तथा भवन कुनै संस्थाले भाडामा लिएका छन् त कुनैमा व्यक्तिले । उनीहरुले भाडावापत निश्चित राजस्व महानगरमा बुझाउनुपर्ने हुन्छ ।
सिर्जनाचोक, महेन्द्रपुल, राष्ट्रबैंकचोक, मालपोत कार्यालय र लेखनाथमा महानगरले व्यावसायिक सटर र भवन बनाएको छ । तर ती सटर र भवनबाट तोकिएको भाडा महानगरले केही वर्षअघिबाट नउठाएको र कतिपय ठाउँमा अस्वाभाविक ढंगले भाडा घटेको पाइएको छ ।
‘कतिपय सटरबाट भाडा कति उठेको भन्ने महानगरकै नै बेखबर छ । किन त्यस्तो भयो भन्नेबारे यकिन हुन सकिरहेको छैन,’ सटर र भवनका भाडाबारे महानगर राजस्व शाखाका १ उच्च अधिकारीले भने, ‘कुनै सटरमा त पहिलेभन्दा ३ चौथाई भाडा घटेको छ ।’ २०७४ सालमा आएर धेरै ठाउँका सटरको भाडादर घट्दै आएको देखिएको ती कर्मचारीले जानकारी दिए ।
कास्की मालपोत कार्यालय अगाडि महानगरको १० कोठे सटर छ । २०७२ देखि ०७४ सालसम्म महानगरले ती सटरको भाडादर मासिक २६ हजार रुपैयाँ हाराहारीमा तोकेको छ । तर ०७५ माघमा आउँदा महानगरले ६ हजार भाडा तोकेको देखिएको छ । महानगरकै अर्का १ कर्मचारी भन्छन्, ‘भाडा बढ्नुपर्ने ठाउँमा झन् घटेको देखिएको छ । कसरी घट्यो भन्नेबारे हामी नै चकित छौं ।’
महानगरका सबैभन्दा धेरै महेन्द्रपुलमा ३२ वटा सटर छ । ती ठाउँमा क, ख, ग ब्लक गरेर तह छुट्याएको छ । तह अनुसार ७ हजारदेखि ६१ हजार रुपैयाँसम्म महानगरले भाडादर तोकेको छ । महानगरमा भएको तथ्यांक अनुसार ४१ महिनाअघिबाट व्यापारीले ती सटर प्रयोग गर्दै आइरहेका छन् ।
‘हाम्रोमा भएको तथ्यांक अनुसार ‘ग’ ब्लकमा दीपक परियारले मात्रै चालु वर्षको मसिंरसम्मको सबै भाडा तिरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘गमालदिन मियाको नाममा रहेको क ब्लक १ नम्बर सटरबाट सबैभन्दा बढी १४ लाख उठ्न बाँकी देखिएको छ ।’ महानगरको तथ्यांक अनुसार महेन्द्रपुलका सटरबाट ५ लाखदेखि ७ लाख रुपैयाँसम्म उठ्न बाँकी छ ।
राष्ट्रबैंक भवन अगाडि पनि महानगरले १० वटा सटर बनाएको छ । ती सटरको भाडा महानगरले १२ हजारदेखि ३५ हजार रुपैयाँसम्म तोकेको पाइएको छ । तोरण मल्ल ठकुरीको नाममा रहेको १ नम्बर सटरले सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको महानगरकै अर्का १ कर्मचारीले सुनाए । उनले भने, ‘ठकुरीको नाममा रहेको सटरबाट महानगरले १० लाख १५ हजार रुपैयाँ ल्याउन बाँकी देखिन्छ ।’ ठकुरीले उक्त सटर ४० महिनादेखि प्रयोग गर्दै आएको देखिन्छ । यसबाहेक राष्ट्रबैंक भवनअगाडिका सटरबाट कसैले ७ लाख तिरेका छैनन् भने कसैले ५ लाख नतिरेको पाइएको छ ।
महानगरले सिर्जनाचोकमा ३ तले भवन बनाएको छ । व्यापारिक प्रयोजनको उक्त भवन जस्ट इन टाइम कन्स्ट्रक्सनले भाडामा लिएको छ । फागुनसम्म ३८ लाख बैंक ग्यारेन्टी भएको उक्त भवन महानगरले जफत गर्नुपर्ने हो तर त्यसो गरेको पनि देखिँदैन । स्रोतका अनुसार उक्त भवनबाट मात्रै महानगरले १ करोडभन्दा बढी भाडा उठाउन बाँकी छ ।
महानगरले भाडावापत दिएको सटरबाट मात्रै १ करोड ९४ लाख रुपैयाँ उठाउन बाँकी देखिएको छ । स्रोतका अनुसार पहिले टेन्डर दिँदा नै महानगरकै कर्मचारीको मिलेमतोमा हिनामिना गरिएको आशंका छ । ‘२६ हजार रुपैयाँ भाडा अहिले बढ्नुपर्नेमा झनै घटेको छ । त्यसमाथि उनीहरुले तिर्नुपर्ने भाडा पनि तिरेका छैनन्,’ स्रोतले भन्यो ।
महानगरको सटर र भवनको भाडा र त्यसबाट उठ्नुपर्ने राजस्वबारे बुझ्दा महानगर राजस्व शाखा प्रमुख रोमनाथ उपाध्यायले सबैबाट रकम उठ्न ताकेता भइरहेको जानकारी दिए । ‘महानगरले नै बनाएको सटर र भवनबाट वार्षिक करोडौं रुपैयाँ बराबर हिनामिना भइरहेको छ । यसबारे छानबिन गर्नेछौं,’ उनले भने ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया