मुस्ताङको घरपझोङमा सुख्खा पहिरो, कालीगण्डकीको बहाव रोकिँदा स्थानीय त्रसित

समाधान संवाददाता २०७५ माघ १० गते ७:३८

तस्बिरः मुस्ताङको घरपझोङस्थित छैरोमा मंगलबार राति गएको सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी र पहिरो हटाउन प्रयोग गरिएको एस्काभेटर ।

सुन्दरकुमार थकाली- मुस्ताङ
मुस्ताङको घरपझोङ गाउँपालिकाको छैरोमा सुख्खा पहिराको कारण कालीगण्डकी नदीको वहाव बुधबार दिनभर रोकिँदा स्थानीय त्रसित भएका छन् । मंगलबार दिनभर परेको हिमपात र मध्यरातमा चलेको हावाहुरीसँगै छैरो गाउँमा सुख्खा पहिरो गई जमीन भासिँदा नदीको वहाव रोकिएको छैरो गाउँ समाजका अध्यक्ष भीमबहादुर रसाइली जानकारी दिए ।

Advertisement

मध्यरातमा सुख्खा पहिरो खस्दा कालिगण्डकी किनारको खेतीयोय जमीन भासिएसँगै सल्ला र धूपीका रुख ढलेका कारण रातिदेखि नै नदी थुनिएर ताल बनेको रसाइलीले बताए । नदी थुनिएर ताल बनेर बस्तीमै आएपछि स्थानीय निकै त्रसित भएका थिए । बुधबार बिहान ११ बजेतिर पुरिएको ठाउँ भरिएपछि बल्ल पानी बग्न थालेको स्थानीय सुकुन रसाइलीले बताइन् । नदी थुनिएको ठाउँ वरिपरि ५० घर धुरी छन् ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले स्कारभेटरको सहायताले माटो फालेपछि बुधबार दिउँसो ४ बजेपछि मात्र नदीको बहाव नियमित भएको बताए । प्रशासनलाई बिहान ९ बजे मात्र जानकारी आएको र त्यसलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उक्त स्थानमा खटिएको उनले जानकारी दिए । सुरक्षाकर्मीले पहिरो हटाउन नसकेपछि जोमसोम कोराला सडकमा प्रयोग भएको स्काभेटर प्रयोग गरी माटो फालिएको थियो ।

Advertisement

सुख्खा पहिरोका कारण खेतीयोग्य जमीनमा लगाइएका स्याउका २ सय भन्दा बढी बोटमा क्षति पुगेको छ । जमीनसँगै स्याउका बोट नस्ट भएपछि स्थानीय चिन्तित बनेको समाजका अध्यक्ष रसाइली बताउँछन् ।
छैरो छहरा गुम्बाको नाममा रहेको स्याउ बगान र स्थानीय मनप्रसाद विकको गरी करिब सय रोपनी जमीन भासिएको स्थानीयको भनाई छ ।

जमीन भासिएर कालिगण्डकी थुनिएको स्थानीय बिहान उज्यालो भएपछि मात्र थाहा पाएका थिए । घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले ठूलो क्षति पुगेको उक्त ठाउँमा आवश्यक तटबन्धनसहित दीर्घकालीन समाधानको उपाय निकालिने बताए । ‘गत वर्षायाम र अहिले गरी निकै क्षति पुगेको छ, रोकथामका दीर्घकालिन उपाय अपनाउन नसके छैरो गाउँ नै जोखिममा पर्छ’, उनले भने ।

स्थानीय शंकर विकले कालीगण्डकी करिडोरले सडक निर्माण गर्दा सजगता नअपनाएका कारण यो समस्या आएको बताउँछन् । उनले सडक निर्माणका क्रममा सडकमा जथाभावी पानी छाडिदिँदा सडक वरपरका जमीन चर्किएर बस्ती नै जोखिममा परेको गुनासो गरे ।

यसैबीच मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । सडकमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् । जोमसोम–पोखरा हवाई उडान पनि हिमपात, हुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । मंगलबारदेखि हवाई उडान नभएको तारा एयरका कर्मचारी दुर्गा पुनले बताइन् । तारा एयरले पोखरा–जोमसोम हवाई मार्गमा दैनिक २ उडान भर्ने गरेको थियो ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा तेस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताए ।

तपाईको प्रतिक्रिया