कुश्मा नगरवासीलाई अब २४ सै घण्टा नगर बस

समाधान संवाददाता २०७५ माघ ११ गते ७:२२

रामकृष्ण लामिछाने-पर्वत

कुश्मा नगरपालिका पर्वतले कुश्माका १४ वटै वडामा नगरबस चलाउने भएको छ । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले तत्कालीन सहरी विकास तथा भवन निर्माण आयोजनासँग यसको सम्झौता गरिसकेका छन् ।

नगरप्रमुखको प्रतिवेदनका आधारमा आयोजनाले ९ करोड विनियोजन गरेको हो । हाल,नगरपालिकाले कुश्मा नगरभित्र पर्ने सबै वडाका नागरिकलाई ८ मिटर सडकपेटीमा पर्ने भर्‍याङ, भवन लगायतका संरचना माघ १५ भित्र व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेकोे छ ।

Advertisement

नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १० पिपलटारीका सडक पक्की गर्दै २४ सै घण्टा यातायातका साधन चलाउने योजना बनाएको मेयर रामचन्द्र जोशीले बताए । ‘जनताका दैनिकीसँग जोडिने पूर्वाधारका काम पहिलो प्राथमिकतामा छन्,’ मेयर जोशीले भने, ‘सडक कालोपत्रे पनि हुन्छ ।’

उनले कुश्माका सबै जनता राजमार्गसम्म सिधै जोड्न यसले टेवा पुर्‍याउने बताए । काम गुणस्तरीय र दिगो हुनुपर्छ भन्ने हेतुले आफैं अनुगमनमा जाने गरेको उनले बताए ।

Advertisement

नगरपालिकाले अहिले साइकल चोक गहते हुँदै पिपलटारी, ठुलीपोखरी, खौला, आर्थर, चुवासहित कुश्माभित्रका सबै सडक कालोपत्र गर्न थालेको छ । ‘यहाँका जनताबीचको दूरी कम हुन्छ, एकआपसमा गासिन्छन्, यातायात समितिसँगको समन्वयमा नगर बस चलाउँछौं,’ प्रमुख प्रसासकीय अधिकृत सुवासकुमार लामिछानेले भने,‘नगरपालिकासँग यसका लागि पर्याप्त बजेट छैन, प्रदेश, संघ निजी उद्योगले सहयोग गर्नुपर्छ । उनले यहाँको उद्योग वाणिज्य संघसँग पनि समन्वय गरेर यहाँ पूरा १२ महिना सडक सञ्चालन गर्ने तयारी गरेको बताए ।

स्थानीय गणेश पौडेलले विकासमा कसैले पनि राजनीति नगर्न आग्रह गरे । स्थानीय कृषि उत्पादनले बजार पाउनेमा युवाहरु आशावादी छन् ।

तपाईको प्रतिक्रिया