सांस्कृतिक परिवर्तनको नमुनाः ७ दिनमा सकियो मृत्यु संस्कार
समाधान संवाददाता
नेपाली समाजमा प्रचलित संस्कारहरु असान्दर्भिक, खर्चिला र भद्दा भएकाले ती संस्कारमा परिवर्तनको खाँचो औंल्याइएको छ । न्वारन, व्रतबन्ध, विवाह र मृत्यु संस्कारबाहेक अन्य संस्कार मानिसले छाड्दै गएकाले मुख्यगरी यी ४ संस्कारलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताले मृत्यु संस्कारको अवधि लामो, कष्टकर, असान्दर्भिक, खर्चिलो र भद्दा भएकाले यसमा रुपान्तरण जरुरी भएको बताए । पोखरा १३, भद्रकालीकी बाटुलीदेवी रानाभाटको स्मृतिमा ७ औं दिनमा आयोजित श्रद्धाञ्जलीसभाका वक्ताहरुले यस्तो बताएका हुन् ।
बाटुलीदेवीका छोरा भीम रानाभाट र बुहारी शान्तिले अन्तिम संस्कार ७ दिनमै सकेका छन् । उनीहरुले अन्तिम संस्कारमा परिवर्तन गर्दै कोरा बारेनन्, कपाल काट्नन्, गरुण पुराण र पण्डित पनि राखेनन् । यसअघि बुबा पूर्णबहादुरको मृत्यु हुँदा पनि भीम र शान्तिले परम्परागत तवरले मृत्यु संस्कार गरेका थिएनन् । भीमले आफूले आमालाई सक्ने जति जीवितै हुँदा गरेको बताए । उनले भने, ‘बाचुञ्जेल रुवाउने, मरेपछि रुने चलन अब तोडिनुपर्छ ।’
शान्तिले भाषणमा सांस्कृतिक रुपान्तरण र सामाजिक रुपान्तरणको पक्षपोषण गर्नेहरु नै व्यवहारमा कमजोर देखिनु चिन्ताको विषय भएको बताइन् । सामाजिक चिन्तक रामराज रेग्मीले अहिले समाजवादको चर्चा भइरहे पनि नेपाली समाज सामान्ती सोचबाटै ग्रस्त भएको बताए । उनले भने, ‘अहिले हामीले केही उन्नत मानिएको पुँजीवादी संस्कार पनि अबलम्बन गर्न सकेका छैनौं, समाजवादी संस्कार त धेरै टाटा छ ।’
मानवअधिकारवादी नेता टेकनाथ बरालले राजनीतिक परिवर्तन बारम्बार देखे पनि सांस्कृतिक रुपान्तरणतर्फ कसैको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गरे । भीम जस्तै केही सचेत नागरिकले मृत्यु र विवाह संस्कारमा परिवर्तन गर्ने आँट गरे पनि परिवर्तनको नेतृत्वकर्ताहरुले खुट्टा कमाएकोमा चिन्ता व्यक्त गरे ।
प्राडा तारा बराल, रुपान्तरण अभियान नेपाल कास्की अध्यक्ष पूर्ण गिरी, सचिव परशुराम कोइराला, प्रगतिशील लेखक संघका उपाध्यक्ष डा. कृष्णराज अधिकारी, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, शान्तबहादुर घिसिङ लगायतले मृत्यु संस्कारमा परिवर्तन जरुरी भएको र यो बहसलाई सर्वसाधारणसम्म लैजानुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया